जनवरीदेखि पाइपलाइन निर्माण सुरु गरिने

भारतीय आयल कर्पोरेसनले आगामी जनवरीदेखि रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गर्ने भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनका उच्च अधिकारीले रक्सोल–अमलेखगन्जको स्थलगत अध्ययन गरी जनवरीदेखि पाइपलाइन विस्तारको काम अघि बढाउने निष्कर्ष निकालेको हो । उच्च अधिकारीहरु सम्मिलित टोलीले रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारका लागि घरटहरा, बिजुलीका पोल र रूख कटान नहुँदा काम अगाडि बढाउन समस्या भएको निष्कर्ष निकालेको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी)का तर्फबाट पाइपलाइन विस्तारको काम अगाडि बढे पनि नेपालका तर्फबाट बाटोमा पर्ने घरटहरा, बिजुलीका पोल र रूख कटान नहुँदा काम अगाडि बढन सकेको छैन । पाइपलाइन विस्तार गर्ने बाटोमा २५ हजार रूख कटान गर्नुपर्ने हुन्छ, तर वातावरण मन्त्रालयले रूख काट्न स्वीकृत नदिँदा सो कार्य अगाडि बढ्न नसकेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पाइपलाइन विस्तारका लागि घरटहरा, बिजुलीका पोल र रूख कटान बाधक देखिएकोे बताए । “पाइपलाइन बिच्छ्याउने रुटमा ३ सय २० घरटहरा र केही बिजुलीका पोल अझै हट्न सकेका छैन,” उनले भने, “यसले गर्दा पनि काम अगाडि बढाउन समस्या देखिएको छ ।” बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र नगरपालिकाका प्रमुखसँग बाटोमा देखिएका अवरोध कसरी हटाउने विषयमा छलफल भएको निगमले जनाएको छ । “रुटमा देखिएका अवरोध हटाई काम अगाडि बढाउन स्थानीय निकायका प्रतिनिधि सकारात्मक देखिनुभएको छ,” निगमका प्रवक्ता गोइतले भने ।
अमलेखगञ्जदेखि रक्सोलसम्मको निरीक्षणका क्रममा संयुक्त टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तारले पाइपलाइन बिच्छ्याउन सहज हुने भए पनि कतिपय स्थानमा घरटहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको गोइतले जानकारी दिए । आइओसीका उच्च अधिकारीले स्थानीय अवरोध हटाएर जतिसक्दो काम अगाडि बढाउन जोड दिएको उनले जानकारी दिए । पाइपको टेन्डर आह्वान गरीसकेकाले रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण जनवरीबाट सुरु गर्न आईओसी प्रतिनिधि सहमत भएको प्रवक्ता गोइतले बताए । डिसेम्बरको पहिलो सातामा पाइपलाइनका लागि आवश्यक पर्ने पाइप भारतबाट आइसक्ने निगमले जानकारी दिएको छ । जनवरीभित्र पाइपलाइन निर्माण कार्य सुरु गर्ने लक्ष्यसहित काम अघि बढाइएको निगमको भनाइ छ । ।
पाइप राख्नका लागि निगमले वीरगन्ज चिनी कारखानाको जग्गा भाडामा लिइसकेको छ । पाइपलाइन निर्माण सुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । अमलेखगन्जदेखि रक्सौलसम्मको ३८ किलोमिटर लामो पाइपलाइन विच्छ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने निगमको भनाई छ । यो परियोजनाको लागत ४ अर्ब २० करोड रहेको छ । जसमा निगमको ७५ करोड र बाँकी आईओसीको लगानी छ ।
पहिलो चरणमा भारतको मोतीहारीदेखि रक्सोल र रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइन विस्तार गरिने छ । यसको कुल लम्बाइ ७२ किलोमिटर छ । भारतले हालको रक्सोल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ । दोस्रो चरणमा अमलेखगन्जदेखि चितवनसम्म विस्तार गर्ने लक्ष्य नेपाल आयल निगमको छ ।
पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थाका लागि सरकारले ७ भदौ ०७२ मा पेट्रोलियम पाइपलाइन ल्याउन भारतसँग औपचारिक सम्झौता गरेको थियो । तर सम्झौता भएको दुई वर्ष वितिसक्दा पनि अझै काम अगाडि बढ्न सकेको छैन । काम सुरु भएको ३६ महिनाभित्र काम सक्ने सम्झौतामा उल्लेख छ । आइओसीको तर्फबाट काम अगाडि बढे पनि नेपालको ढिलाईको कारण लामो समय वितिसकेपनि पाइपलाईन विस्तारको काम अगाडि बढ्न सकेको छैन ।
निगमका अनुसार पाइपलाइन बनेपछि इन्धन आपुर्ति सहज हुने, ढुवानीबापत लाग्ने वार्षिक करिव एक अर्ब रुपैयाँ बराबरको ट्यांकर ढुवानी र जनशक्ति खर्च जोखिने छ । पाइपलाइन बनेपछि उक्त पाइपलाइनबाट प्रतिघण्टा दुई लाख लिटरसम्म इन्धन अमलेखगञ्ज डिपोमा आपूर्ति गर्न सकिने छ । पाइपलाइनबाट आउने इन्धन अमलेखगन्जको डिपोमा ७८ लाख लिटर इन्धन अट्न सक्ने गरी भण्डारण क्षमता पनि विस्तार गरिँदैछ । योसँगै अर्को नयाँ भण्डारणगृह निर्माण गर्ने योजना पनि निगमको छ ।
पाइपलाइन बनेपछि नेपालले ५ वर्षसम्म भारत सरकारसँग इन्धन खरिद गर्नुपर्ने सर्त छ । प्रत्येक ५ वर्ष पुगेपछि इन्धन खरिदको सम्झौता नवीकरण हुनेछ । यसअघि भारतले २५ वर्षसम्म इन्धन खरिद गर्नुपर्ने प्रस्ताव राखे पनि नेपाली पक्षको असहमतिपछि त्यसलाई ५ वर्षमा झारिएको थियो ।