Logo

राहतका नाममा कुहिएको चामल

जनता झुक्याउँदै जनप्रतिनिधि

दैलेख-नारायण नगरपालिका ४ सोतका स्थानीयलाई जनप्रतिनिधिले कुहिएको चामल वितरण गरेको पाइएको छ । नारायण नगपालिका– वडाले मगंलबार स्थानीयलाई राहतका नाममा कुहिएको चामल वितरण गरेको पाएको हो ।
जनतामाझ सस्तो लोकप्रियता कमाउन दैलेखका जनप्रतिनिधिहरूको राहत वितरणमा होडवाजी चलिरहेकै बेला दैलेखको नारायण नगरपालिका–४ ले भने कुहिएको चामल वितरण गरेको छ । लकडाउन तथा देशनै बन्दाबन्दीको अस्थामा रहेका बेला ज्याला मजदुरी गरी गरी दैनिकी गुर्जाने जनतालाई राहत दिने वहानामा कुहिएको चामल वितरण गरेपछि नारायण नगरपालिका–४ का स्थानीय आन्दोलित बन्नु परेको छ ।
नारायण नगरपालिका ४ ले वितरण गरेको राहतमा कुहिएको दाल र चामल दिएपछि विरोध प्रदर्शन गर्न बाध्य भएको स्थानीय राकेश कठायतले वताए । “वडा नं. ४ ले वितरण गरेको चामल र दाल कुहिएको पाइपछि स्थानीयले सडकमा लिएर फाल्न बाध्य भयांै,” स्थानीय कठायतले भने, “हामीलाई यिनीहरूले झुक्याउन खोजे, पशु सहर जस्तो व्यवहार गरियो ।” स्थानीय बासिन्दाले कुहिएको दाल र चामल दिएको भन्दै सडकमा फालेर आन्दोलनमा उत्रिएका स्थानीय कठायत बताउँछन् । “वडाले वितरण गरेको चामल घरमा लिएर बोरा खोल्दा कुहिएको भेट्टाएपछि सडकमै लिएर फाल्न बाध्य भयौं,” उनले भने, “कुहिएको चामल दाल दिएर हामीलाई जनप्रतिनिधिले झुक्याउन खोजेपछि वडा कार्यालयमा तालाबन्दीसमेत गर्न बाध्य भएका हौं ।”
गुणस्तरहीन चामल र दाल बाँडेपछि विपन्नले आफूहरूलाई पशुले पनि खान नसक्ने अन्न दिएको भन्दै आक्रोशित हुनु परेको वताउँछन् स्थानीय राकेश कठायत । प्रतिपरिवार १० देखि १५ केजीसम्म चामल दिइएको तर चामल सबै कुहिएकाले सडकमा फालेर आन्दोलन गर्नुपरेको स्थानीय अमृता कठायतले बताइन् । “लकडाउनको समयमा खाद्यान्नको चरम समस्या थियो,” उनले भनिन्, “त्यतिबेला चामल पाएनौं, अहिले असारमा आएर वडा कार्यालयले चामल त दियो तर कुहिएको दिएर हामिलाई अपमान गरे ।”
नगरपालिकाले गत जेठमा टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी केही समय नगरपालिकाको गोदाममा राखेर वडामा पठाएपछि आफूहरूले सोही चामल वितरण गरेको वडाध्यक्ष वीरबहादुर कटुवालले बताए । “हामीले बोरा खोलेर हेरेनौं, वडामा ५ सय ४३ घरधुरी छ, नगरपालिकाले २ सय १३ बोरा चामल पठायो,” वडाध्यक्ष कटुवालले भने, “दुई परिवारलाई एक बोरो चामल दिने सर्बदलीय बैठकको निर्णयमा टेकेर वितरण गरेका हौं ।”
केही घरधुरीका लागि वितरण गरिएको राहतको चामलमा यस्तो समस्या भेटिएको वडाध्यक्ष कटुवालले स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्