विदेशको कमाइले स्वदेशमा बाख्रा पालन «

विदेशको कमाइले स्वदेशमा बाख्रा पालन

म्याग्दी-परिवारको सुन्दर भविष्यको कल्पना गरेर रोजगारीका लागि विदेशिएका युवाहरु पछिल्लो समय गाउँघरमै भविष्य देख्न थालेका छन् । कोरोना महामारीका कारण स्वदेश फर्किएसँगै युवाहरु कृषिमार्फत गाउँमै रोजगार मत्र बनेका छैनन् केहीले स्थानीयलाई सिमित संख्यामा भएपनि रोजगारीसमेत दिएका छन् । ती मध्येका एक हुन् म्याग्दीका भविन्द्र पाईजा ।
१० वर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका–१० पात्लेखेतका ४० वर्षीय भविन्द्र पाईजाले कमाएको पैसा र सीपलाई प्रयोग गरेर गाउँमा व्यवस्थित संरचनामा बाख्रापालन गरेका छन् । विदेश बसेर स्वदेशको महत्व बुझेका पाईजाले ३ वर्षअघि गाउँ फर्किएर ३५ लाख रुपैयाँ लगानीमा व्यावसायिक रुपमा बाख्रपालन गरेका छन् ।
आर्शिवाद कृषि फर्ममार्फत सुरु भएको बाख्रा पालन व्यवसाय हालसम्म ७० वटा बाख्रा रहेका छन् । उनले पाखो र बाँझो जमिनमा घाँस रोपेका छन् । विदेशमा सिकेको सीपलाई प्रयोग गरेर पाईजाले व्यवस्थितरुपमा खोर निर्माण गरेका छन् ।
उनले गतवर्ष ८० भन्दा बढी खसी बोका बेचेर ८ लाखसम्म आम्दानी गरेको बताए । पाईजाले वार्षिक १०० भन्दा बढी खशी बोका बेचेर १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने लक्षसहित साढे दुईलाख हालेर चैतमा बोयर बोका गोठमा ल्याएका छन् ।
फर्ममा प्रदेश सरकारअन्तर्गत भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्रले २ लाख ५० हजार अनुदान दिएको छ । सडक नजिक रहेको पाईजाको बाख्रपालन व्यवसायसँगै कृषि खेतीमा पनि प्रविधि भित्र्याएर सहज रुपमा तरकारी खेती गरिरहेका छन् । उनले फार्ममा विभिन्न प्रजातीका फलफूलका विरुवा पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्