Logo

बेरोजगारी समस्या र समाधानको बाटो

कोरोना महामारीका कारण अहिले विभिन्न उद्योग, कलकारखाना बन्द रहेको हुँदा रोजगारी गुमाउनेको संख्या विश्वव्यापी रूपमा बढेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकामा करिब ७० लाखले रोजगारी गुमाउनुपरेको तथ्य बाहिर आएको छ । खानी उत्खनन, व्यवसाय, निर्माण होटल, उत्पादनदेखि स्वास्थ्य र शिक्षामा संलग्नसम्मले अमेरिकामा रोजगारी गुमाउनुपरेको जानकारी अमेरिकी संस्थाहरूले दिइरहेका छन् । कोरोनाको महामारीपश्चात् भारतमै २० प्रतिशत रोजगारी गुमेको तथ्य भारतीय पत्रिका इकोनोमिक टाइम्सले प्रकाशित गरेको छ । यस महामारीका कारण अहिले विभिन्न उद्योग, कलकारखाना बन्द रहेको हुँदा रोजगारी गुमाउनेको संख्या विश्वव्यापी रूपमा बढेको छ । नेपाल पनि बेरोजगारीबाट अछुतो भएर बस्न सकेको छैन । होटल–व्यवसाय ६ महिनाका लागि बन्द भएका छन्, पर्यटन क्षेत्र सबै ठप्प छन्, यातायात क्षेत्र सबै बन्द छन् भने लोकसेवा आयोगले आफ्नो परीक्षाको तालिका सबै रद्द गरेको छ । कपाल काट्ने हजामदेखि भृकुटीमण्डपमा लुगा बेच्ने व्यापारीसम्मले आफ्नो पेसालाई रोक्नुपरेको छ । यसले प्रत्यक्ष असर रोजगारीमा परेको देख्न सकिन्छ ।
बन्दाबन्दीपश्चात् कतिले आफ्नो रोजगारी गुमाउनुप-यो भन्ने तथ्यांक बाहिर नदेखिए तापनि काठमाडौँबाहिर निस्किने ठूलो भीडले निम्न आय भएको, दैनिक ज्यालादारीमा काम गर्ने एउटा ठूलो जमातले आफ्नो जागिर गुमाउनुपरेको छ भन्ने पुष्टि गर्छ । बैंकले नै बाहिरका कर्मचारी कटौती गरिरहँदा, अस्थायी रूपमा कार्यरत अन्य संस्थाका कर्मचारीले पनि अहिले रोजगारी भने गुमाउन थालिसकेको बुझ्न सकिन्छ । अवस्था अनुकूल हुनासाथ करिब १० लाख नेपाली युवा स्वदेश फर्कने आकलन गरिरहँदा बेरोजगारीको भय निकै पछिसम्म रहिरहने त्रास स्पष्ट बुझ्न सकिन्छ । विप्रेषणमा कमी आउने, कुल गार्हस्थ्य उत्पादनदेखि आर्थिक वृद्धिसम्ममा कमी आउने भनी आकलन गरिरहँदा अबको आर्थिक अवस्था र यात्रा आफैंमा त्रासपूर्ण रहेको छ । बेरोजगारीले अपराध र गरिबीसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएको हुँदा यसको समाधान बेलैमा सोच्न आवश्यक छ । अबको बेरोजगारी समस्याको समाधान एउटा फरक ढाँचाले गर्दा दिगोपन हुने र भोलिको दिनमा युवा फेरि रोजगारीका निमित्त विदेश उड्नु नपर्ने गरी निर्माण गर्न आवश्यक छ ।
मन्त्रिपरिषद्को नयाँ निर्णयअनुसार विभिन्न उद्योग खोल्न दिने भन्ने सरकारको नीति रहँदा फेरि उत्पादकत्वमा वृद्धिको आशा पलाएको हुनुपर्छ । यद्यपि माहोल सुमधुर नहुन्जेल बेरोजगारीको भय भने रहिरहने स्पष्ट देखिन्छ । रोजगारदाताहरूले कसरी अगाडि बढ्ने भन्ने सोच्दै गर्दा कर्मचारी कटौतीको विकल्प पनि ननिस्केला भन्न सकिन्न । प्रधानमन्त्रीले समेत आफ्नो सम्बोधनमा उल्लेख गरेका छन्— अब आउने बेरोजगारीको समस्याको हल निकालिनेछ । निम्नबमोजिमको बुँदा अपनाउन सकेमा सायद आगामी दिनमा बेरोजगारीको डरलाग्दो अवस्था आउने थिएन ।

पुरानो क्षेत्रको संरक्षण
वर्तमान अवस्थामा कर्मचारीलाई तलब प्रदान गर्न नसक्ने कैयौं संस्थान होलान् । यस समयमा कर्मचारीलाई तलबभन्दा आफ्नो जागिरको सुरक्षा बढी महत्वपूर्ण हुन्छ । जसरी ठूला होटलहरूले आफ्ना कर्मचारीलाई छुट्टी दिएर १२.५ प्रतिशत तलब मात्र प्रदान गर्ने भन्ने निर्णय गरेका छन्, कर्मचारीलाई बिदा गर्नुभन्दा यो बिधि बढी लाभजनक हुन्छ । आज एउटा दक्ष कर्मचारीलाई बिदा गर्दा भोलि वातावरण अनुकूल हुनासाथ एउटा नयाँ कर्मचारी नियुक्ति गरी उनीहरूलाई काम सिकाएर दक्ष बनाउन अर्को लगानी गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा पनि कर्मचारीलाई उनीहरूको जागिर सुरक्षित रहेको आभास प्रदान गरी अहिले बिदामा राख्दा उचित हुन जान्छ । जसरी अहिले विदेशी लगानी भएका संस्थाहरूले आफ्नो कर्मचारीलाई तालिम दिने उचित अवसर सम्झेको छ, अन्य संस्थाहरूले पनि सोही विधि अपनाएर एउटा नाफामा गएको क्षेत्रको संरक्षण गर्दा उचित हुने थियो ।

नयाँ क्षेत्रको खोजी
अबको अर्थतन्त्रलाई एउटा बलियो स्वरूप प्रदान गर्न र नयाँ रोजगारीको अवसर देशभित्रै प्रदान गर्न नयाँ क्षेत्रलाई पहिचान गरी नयाँ क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक छ । बजारीकरणको एउटा सिद्धान्त के पनि हो भने बजारमा मागको सिर्जना गरिदिने, जसरी आइफोनले ग-यो, जसरी मदिरा तथा सुर्तीजन्य पदार्थले ग-यो । नयाँ क्षेत्रको खोजी गर्दा राज्यलाई राजस्वदेखि रोजगारीको अवसर पनि प्राप्त हुने हुन्छ । गाँजा खेतीबाट होस्, टुटलजस्ता नयाँ सिर्जनाबाट होस् या घरको खाजा अफिससम्म पु-याईदिने व्यवस्थाबाट होस्– नयाँ क्षेत्रको पहिचान गरेर त्यसतर्फ लगानी गर्न मनोबल प्रदान गरेमा रोजगारीको एउटा अलग ढोका खुल्ने थियो । रेल सञ्चालन होस्, पानीजहाज होस्, ग्यास पाइप लाइन होस्– यस्ता क्षेत्रले थप रोजगारी सिर्जना गर्ने थियो । नयाँ क्षेत्रअन्तर्गत ती सबै क्षेत्र पर्छन्, जुन अहिलेसम्म प्रयोगमा आएका छैनन् ।

स्वदेशी उत्पादनलाई जोड
आजको दिनसम्म नेपालबाट अदुवा निर्यात भएर त्यही अदुवाको पेस्ट आयात गरिन्छ । गुणस्तरीय बिस्कुट होस्, मदिरा होस्, चकलेट होस्, पौस्टिक आहारदेखि बच्चालाई चाहिने डाइपर, प्याडहरू सबै विदेशी उत्पादनहरू बिक्री–वितरण भइरहेका छन् । रोजगारीकै अवसर प्रदान गर्ने हो भने स्वदेशी गुणस्तरीय वस्तुको उत्पादन आवश्यक छ । नेपालले उत्पादन गरेको भन्दैमा जनताले उक्त वस्तु रुचाउँछन् भन्ने हँुदैन । जसरी कस्मिक मोटरसाइकल प्राथमिकतामा परेन, जसरी कुरकुरेको तृष्णा नेपाली उत्पादकले प्रदान गर्दैन, गुणस्तरमा ध्यान नदिँदा उक्त वस्तु राष्ट्रप्रेम देखाएर भनेचैं बिक्दैन, तर जसरी आजको बजारमा चाउचाउ नेपालकै रुचाइन्छ, त्यसै गरी अन्य वस्तु पनि गुणस्तरलाई ध्यान दिएमा स्वदेशमै उत्पादन गरेर एउटा ठूलो बजार आफ्नै निर्माण गर्न सकिने थियो, जसले प्रशस्त रोजगारीको अवसर पनि सिर्जना गर्ने थियो ।

परिष्कृत नीति
नीति–निर्माण फितलो हुँदा पनि राज्यको विभिन्न क्षेत्रलाई प्रभाव पार्ने हुन्छ । रोजगारी सिर्जना गर्ने नीति मात्रै हुँदा पनि एउटा ठूलो समूह बेरोजगार बस्नुपर्ने थिएन । हुन त अहिलेको स्थानीय तहमा पनि युवा स्वरोजगारजस्ता अभियानबाट आफ्ना नजिकका आफन्तलाई रोजगारी प्रदान गर्ने नीति नभएको होइन । तर, यसले जनप्रतिनिधिलाई आफ्ना कार्यकर्ता रिझाउने र पछि भोट सुनिश्चित गर्ने बाहेकका उपलब्धि खासै देखिएन पनि । रत्ननगर नगरपालिकाले जग्गा बाँझो छोडेमा जरिवाना लगाउने नीति ल्याउँदा जग्गाधनी पनि सचेत हुनुपरेको देखिन्छ । उब्जनी हुने भूमि अब त्यस्सै खालि जानेछैन, जसले स्वदेशी उत्पादनसहित रोजगारीको अवसर सिर्जना गर्नेछ । संघसंस्थाले पनि पार्ट टाइम कामको अवधारणा ल्याउन आवश्यक छ ताकि डिपार्टमेन्ट स्टोर, मार्ट, रेस्टुरेन्टतिर घण्टाका आधारमा विदेशमा जसरी काम गर्न पाइयोस् । यसले विद्यार्थीलगायतका वर्गलाई कमाउने एउटा आधार सिर्जना हुने थियो । नेपालका प्रमुख बजारलाई २४ घण्टा खोल्दा के बिग्रिन्छ ?

निजीकरणलाई स्थान
भारतले १९९१ पश्चात् नै निजीकरणको अभियान सुरु गरेको थियो, जसले गर्दा विभिन्न संघसंस्थाले रोजगारी ठूलो मात्रामा उत्पादन गर्न सकेको थियो । मूलतः भारतको उक्त निर्णयपश्चात् अब केही संस्थाबाहेक सबै निजी सरह छ । नेपालमा अझै पनि थुप्रै संघ संस्था सरकारकै मातहतमा छ— आयल निगम होस्, विद्युत् प्राधिकरण होस्, खाने पानी होस् या अन्य क्षेत्र, अरू निजी प्रतिस्पर्धीलाई आगमनमा रोक लगाइएको देखिन्छ । यस्ता क्षेत्रमा निजी क्षेत्रलाई आउन दिएमा कुल गार्हस्थ्य उत्पादन मात्र नभएर रोजगारीको अवसरमा पनि वृद्धि हुने थियो । एउटा नयाँ टेलिकम बजारमा आउछु भन्दा जसरी ठूलै संघर्ष गर्नुपर्ने हुन्छ– त्यस प्रकारको बाधा–अवरोध हटाएर सहजीकरण मात्र गरिदिएमा एउटा ठूलो युवा जमातलाई रोजगारीको अवसर प्रदान हुने थियो ।

अनलाइन प्रवृत्तिमा विस्तार
अन्य क्षेत्रले एउटा गति लिए पनि नेपालमा अनलाइन क्षेत्रले रफ्तार लिन नसकेको भने अवश्य हो नै । फेसबुक र युट्युबबाहेक नेपालमा अनलाइन संसारमा के–के हुन्छ, ज्ञान नभएको जनशक्ति ठूलो छ । अनलाइन बजार व्यावसायिक नभएको हुँदा विश्वास गुमेको नेपालमा– अब अनलाइन क्षेत्रलाई स्थान दिएमा एउटा शिक्षित वर्गले समेत रोजगारी पाउने थियो । सेयर बजार होस्, बैंकिङ क्षेत्र होस्, यातायातदेखि अन्य विभिन्न क्षेत्रमा यस विषयप्रति ज्ञान नभएको हुँदा प्रयोगमा कमी आएको देखिन्छ । यस्ता क्षेत्र एकै भएको खण्डमा रोजगारीको एउटा नयाँ क्षेत्र सिर्जना हुने थियो, जसले गर्दा बेरोजगारी समस्यामा केही भए पनि न्यूनीकरण आउने थियो । विश्वासिलो, समय केन्द्रित र सहजै हुने भए अनलाइन संस्कृतिको विकास हुने थियो ।

बेरोजगार बिमा
कोरोनाको यस चरणपश्चात् अर्को फस्टाएको बिमा क्षेत्र हो— बेरोजगारी बिमा । नेपाली बिमा संस्थाहरूले पनि यसको सुरुवात गरेमा बिमा क्षेत्रलाई पनि एउटा अलग क्षेत्रको सुरुवात हुने, अनि रोजगार समूह पनि त्रासमा बस्नु नपर्ने हुन्थ्यो । यसको सुरुवातले पनि बेरोजगार हुने भयको चाहिं अन्त्य गर्ने थियो ।

उद्यमशीलता प्रवद्र्धन
हुन त यो बुँदा माथि नै लेखिनुपर्ने हो, तर यो विषय भन्नभन्दा गर्न गाह्रो छ । जति नै मीठा वचन सुनाएर पनि, उद्यमशीलताको प्रवद्र्धन के–कति गतिमा भइरहेको छ भन्ने कुरा टुटल र पठाओको बेलाबखत आउने समाचारले स्पष्ट गर्छ । कसरी काठमाडौँमा ट्याक्सी व्यवसाय फस्टाओस् भनेर अटो व्यवसाय धरापमा ल्याइयो, अनि कसरी दर्तादेखि सञ्चालनसम्ममा विभिन्न अवरोधले सताइरहन्छ भन्नेले उक्त तथ्य स्पस्ट पार्छ । यदि साँच्चिकै उद्यमशीलता प्रवद्र्धन गर्ने हो भने त्यसप्रति सबै पक्ष खुलेर लाग्न आवश्यक छ, अनि बल्ल सम्भव हुन्छ वास्तविक लगानीमैत्री वातावरण । एक त आफ्नो लगानीको जोखिम लिनु छ, सञ्चालनको टाउको दुखाइ खप्नु छ– अनि त्यसमाथि उचित वातावरण नहुँदा यसले उद्यमशीलता खुम्च्याउने त निश्चित सरह नै हुन्छ– जसप्रति अबका कदम पुनः विचार गर्नुपर्ने हुन्छ । उद्यमशीलतालाई प्रतिस्पर्धीको नजरभन्दा पनि रोजगारी सिर्जना गर्ने थलोका रूपमा पहिचान गर्दा प्राथमिकता पाउने थियो ।
हुन त अबको सेयर बजार, पर्यटन क्षेत्र, उद्योग कलकारखानाहरू बिस्तारै आफ्नो गतिमा अघि बढ्ने नै छन्, तर के अब मुलुक पहिलेकै जसरी विप्रेषणमा निर्भर रहिरहने हो त ? लाखौं युवा स्वदेश फर्केपश्चात् के फेरि बेरोजगारकै तक्मा झुन्ड्याएर हिँड्ने हुन् त ? उद्यमशीलताको जति नै बहस गरे पनि, शिक्षा दिए पनि जोखिम लिएर अगाडि बढ्न निकै कठिन छ । यहाँ सफलताको भन्दा असफलताको कथा बढी छन्, जुन अँध्यारोमै बिलाउँछन् । मुलुकको अर्थतन्त्र बढाउनकै निमित्त पनि रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ, रोजगारीको सिर्जना भन्दैमा त्यसले रोजगारीको अवसर मात्र नदिएर देशकै अर्थतन्त्रलाई सहयोग गर्ने हो । रोजगारी संरक्षण मात्र नभएर प्रशस्त रोजगारीको अवसर सिर्जना गर्न सकेमा कोरोनाको यो समय वरदानसरह हुने थियो । यसका निमित्त तीनै तहको सरकार, उद्यमी र काम गर्ने इच्छाले भरिपूर्ण जोस भएको युवाशक्तिले आगामी दिन निर्धारण गर्ने हो, जुन सकारात्मक र उत्पादकमुखी हुनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्