Logo

बाढी–पहिरो प्रभावित करिब डेढसय घर स्थानान्तरण

लमजुङ-अविरल वर्षापछि आएका बाढी–पहिरोका कारण लमजुङका करिब डेढसय घर परिवार जोखिममा परेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
जिल्लाको मध्यनेपाल नगरपालिकामा मात्रै १ सय ९ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । अविरल वर्षाका कारण बाढी–पहिरोका कारण जोखिममा परेकामध्ये मध्यनेपाल नगरपालिका–६ लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्वाबेसी ९ घरपरिवार छन् । त्यस्तै वडा नं. ९ रातामाटेका २१, वडा नंं ३ सूर्यपालका ६, वडा नम्वर २ पराजुलीबेसीका तीन घर र वडानम्वर १ जिताका एकघर परिवार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बाढी–पहिरो प्रभावितमध्ये ३७ परिवारलाई भोर्लेटारस्थित इशानेश्वर माध्यमिक विद्यालयमा अस्थायी स्थानान्तरण गरिएको मध्यनेपाल नगरपालिका नगरप्रमूख रमेशकुमार पाण्डेले बताए ।
वर्षातका कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्म तत्कालका लागि उनीहरूलाई सुरक्षित रहन अस्थायी स्थानान्तरण गरिएको नगरप्रमुख पाण्डेको भनाइ छ ।
वर्षापछिको बाढी–पहिरोले मध्यनेपालमा अत्याधिक क्षति पु¥याएको हो । स्थानीय गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलादीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार बाढीले असारमा रोपिएको अधिकांश खोला खेत बगाएको छ । कतिपयको कुखुरा फार्म, तरकारी टनेलसमेत बगाएको छ ।
यसैगरी पहिरो जोखिममा परेका जिल्लाको बेंसीहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, दोर्दी र क्होलासोँथार लगायतका गाउँपालिकाका थप ३७ घर परिवारलाई पनि सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज शर्माले बताए । प्रजिअ शर्माका अनुसार अन्य स्थानीय तहका ३७ घरपरिवारका १ सय ७५ जनालाई सुरक्षित स्थानान्तरण गरिएको हो ।
जिल्लाको दोर्दी गाउँपालिकाका १८ घर, मस्र्याङ्दी गाउँपालिकाका पाँच घर, क्होलासोँथार गाउँपालिकाको ६ घर र बेंसीसहर नगरपालिकाको चार घर स्थानान्तरण भएका हुन् ।
समितिका अनुसार दोर्दी–६ काल्चे कुनाको मात्रै नौ घर विस्थापित भएका छन् यस्तै दोर्दी–६, ढोडेनी गाउँका थप ६ घर, दोर्दी–८ नयाँ दुवारका तिन घर स्थानान्तरण गरिएका हुन् ।
यसैगरी क्होलासोँथार गाउँपालिका अन्तर्गत वडानम्वर ७ भोजेका पाँच घर पनि स्थानान्तरण गरिएका छन् । सो बाहेक कोहोलासोथार–३ बगुमको एकघर परिवारलाई पनि स्थानान्तरण गरिएको छ ।
यसैगरी मस्र्याङ्दी–९ सिम्पानीका दुईघर, वडा नम्बर–८, भुलभुलेका दुईघर र वडा नम्बर २ घनपोखराका एक घर स्थानान्तरण गरिएको हो । बेसीशहर नगरपालिका अन्तर्गत वडा नम्बर १ चिप्लेटीका दुईघर र वडा नम्बर १० राउतथरको एक घर पनि स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानान्तरण गरिएका घर परिवारमध्ये कतिपयलाई सामुदायिक भवन, विद्यालय र कतिपयलाई छिमेकी वा आफन्तको घरमा राखिएको छ । बर्षातका कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
अविरल वर्षासँगै गत बिहीबार राति गएको पहिरोमा परेर बेसीसहरको सातविसेमा एकै परिवारका तीनजनाको ज्यान गएको थियो । पहिरोले घर पुरेपछि ३० वर्षीय दीपक तामाङ, उनको श्रीमती २५ वर्षीया विमाया तामाङ र छोरा नौ वर्षीय छेवाङ तामाङको ज्यान गएको हो ।

जिल्लाका अधिकांश सडक अवरुद्ध
अविरल वर्षाले पहिरो जाँदा बेंसीसहर–चामे सडक सहित जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै बाढी पहिरोले सडक क्षत विक्षत बनाएको हो ।
लमजुङ र मनाङ जोड्ने बेंसीशहर,चामे सडकखण्डअन्तर्गत बेंसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका अन्तर्गतका विभिन्न खण्डमा पहिरोले सडक अवरुद्ध भएको हो । सडक खण्डको विभिन्न स्थानमा समेत साना साना पहिरो गएको सडक डिभिजन कार्यालयले जनाएको छ । यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको मस्र्याङ्दी गाउँपालिका अन्तगर्त रामवजार, स्याँगे, र काँभ्रे भिरको पहिरो हटाइएको लमजुङ प्रहरीले जनाएको छ ।
वर्षाका कारण मध्यनेपाल नगरपालिका पुग्ने सडक दर्जनौ ठाउँमा पहिरोले अवरुद्ध बनाएको छ । सडक अवरुद्ध भएका कारण नगरपालिका केन्द्र भोर्लेटार पुग्न नसकिने अवस्था छ भने एक वडाबाट अर्को वडामा समेत जान मुस्किल भएको स्थानीयले बताएका छन् । सडक सुचारु गर्ने प्रयास जारी रहेपछि वर्षा भईरहेको र धेरै ठाउँमा ठूला पहिरो खसेका कारण सुचारु गर्न नसकिएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।
जिल्लाको सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिका अन्तर्गतका चिति, पुरानकोट, बाँझखेत लगायतका ठाउँमा जाने फरक–फरक सडकमा अवरोध भएको छ । सदरमुकाम बेंसीसहर बजारबाट बाँझाखेततर्फ जाने मस्र्याङ्दी पुलमाथि गएको पहिरोले सडक अवरुद्ध भएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । नगरपालिकाले आफ्नो डोजरबाट पहिरो हटाउँदै सडक सुचारु गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

 

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्