Logo

कामदार नहुँदा पुल निर्माण प्रभावित

महेन्द्रनगर-कामदार अभावले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चारलेनको पक्की पुल निर्माणकार्य प्रभावित भएको छ । निर्माण क्षेत्रमा कार्यरत कामदारलाई कोरोना भाइरसले संक्रमण हुन नदिन स्थानीय प्रशासनले घर पठाएपछि पुल निर्माण प्रभावित बनेको हो ।
पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले चारलेनको महाकाली पुलको लक्ष्यअनुसारको प्रगति हासिल नभएको जनाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वि.सं २०७४ भदौमा पुलको शिलान्यास गरेका थिए । सो पुल निर्माणको सम्झौता ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो ।
कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयका अनुसार कोरोनासँगै कामदार नहुँदा सबैजसो निर्माणकार्य ठप्प हुँदा लक्ष्यअनुसार काम गर्न असहज भएको जानकारी दिए । लक्ष्यअनुसार हालसम्म पुलको भौतिक प्रगति ६० प्रतिशत पु¥याउने भने पनि कोरोना प्रभावका कारण ४८ प्रतिशतमै सीमित रहन पुगेको छ । पुलको ३४ वटा पिल्लरमध्ये ३० वटा पिल्लरको काम सकिएको छ । यस्तै ३२ वटा स्लाबमध्ये ६ वटा स्लाबको काम सकिएको छ । ८ सय मिटर लम्बाइ र २३.८ मिटरको चौडाइ रहेको पुल निर्माणकार्यसँगै पश्चिमी सीमानाका गड्डा चौकीसम्म जोड्ने ६ किमि र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किमि चार लेनको पहुँच मार्गको निर्माणकार्य पनि धेरै जसोे सकिएको छ ।
उनका अनुसार अहिले महाकालीमा पानीको मात्रा बढेको भए पनि कामदार भएको अवस्थामा पुल निर्माणकार्यको केही काम गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । “सम्पन्न भएकोे ६ वटा स्लाब पनि स्थानीय प्रशासनसँग समन्वय गरेर क्वारेन्टाइन बसेका कामदारलाई प्रयोग गरेर मुस्किलले सकिएको हो ।” इन्जिनियर पाण्डेयले भने, “स्लाब हालेपछि उनीहरू पनि घर गए, पुल निर्माणस्थलमा केही स्थानीय कामदार भए पनि पुलमा काम गर्ने कामदार एउटा पनि छैन, पुल निर्माणकार्य सबै ठप्पजस्तै छ ।” चारलेनको महाकाली पुलमा दैनिक तीन चार सय कामदार काम गर्ने भए पनि अहिले भने १६ जना स्थानीय कामदार मात्रै भएको पाण्डेयले बताए । गड्डाचौकी र भुजेला खोलामा पर्ने २ वटा साना पुलको काम सकिएको कम्पनीले जनाएको छ ।
अहिले पुलको दुवैतिर दुई–दुई वटा पोखरी निर्माण हुने भएकाले ड्याम बाँधेर पानीको साइट परिवर्तन गर्ने काम पनि चलिरहेको छ । कोरोनाकै कारण कम्पनीले ठूलो घाटा लाग्ने पनि अनुमान गरेको छ । “पुल निर्माणको पहिलो वर्ष मुआब्जा विवादले काम गर्न पाइएन, यसपटक कोरोनाले पुल निर्माणलाई झन पर धकेलेको छ ।” इन्जिनियर पाण्डेयले भने, “समयमै निर्माण सकेमात्रै कम्पनीलाई नाफा हुने गर्छ, कोरोनाका कारण अनावश्यक खर्च बढ्ने भएकाले निर्माण कम्पनीलाई समेत घाटा हुने सम्भावना छ ।” कोरोना भाइरसको प्रभाव कम नहुँदासम्म काम गर्न समस्या नै हुने उनले बताए ।
सम्झौताअनुसार पुल निर्माणकार्य वि.सं २०७८ जेठमा सकिने भने पनि कोरोनाकै कारण निर्माणमा ढिलाइ हुने भएको छ । “काम गर्ने सिजन भनेको फागुनदेखि जेठ महिनासम्म हो, सिजनभरि कोरोना प्रभावले गर्दा काम गर्न पाइएन । सिजनमा काम गर्न पाएको अवस्थामा महिनाको ५ प्रतिशत प्रगति गर्ने लक्ष हुन्छ, बीचमा काम गर्न मिले पनि लक्ष्यअनुसार अगाडि बढ्न समस्या भयो,” उनले भने । स्थानीय कामदार लगाएर केही काम गरेको अवस्था भए पनि पुलको काम भने बन्द रहेको उनले बताए ।
नाला, जालीको काम, पिच बनाउन चाहिने चिप्सको उत्पादन, बालुवा उत्पादन, ह्युुमपाइप राख्ने काम भने चलिरहेको छ । “१४ किमि नालामध्ये ४ किमि नाला निर्माण सम्पन्न भएको छ । ७ वटा स्परमध्ये ६ वटा सम्पन्न भइसकेको अवस्था छ, जाली भर्ने काम पनि अन्तिम चरणमा पुगेको छ,” इन्जिनियर पाण्डेयले भने ।
सम्झौताअनुसार चारलेनको महाकाली पुलको निर्माणकार्य वि.सं २०७४ भदौमा सुरु भएर वि.सं २०७७ भदौमा सम्पन्न हुने भने पनि बीचमा एक वर्ष म्याद थप गरिएको थियो । २०७७ भदौबाट एक वर्ष थप गरेर २०७८ जेठ १९ गते समयसीमा तोकिएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्