कोभिड महामारीको अन्त्य «

कोभिड महामारीको अन्त्य

महामारीमुक्तको अवस्था छिटो ल्याउन समाजका विभिन्न वर्ग, समुदाय र प्रणालीहरूको समन्वय, सामञ्जस्यता र सद्भावको खाँचो पर्छ ।

सन् २०१९ डिसेम्बर ३१ मा पहिचान भएको नोबल कोराना भाइरसको प्रभाव तीन–चार महिनामा विश्वव्यापी बन्यो । यो विश्व महामारी कहिले समाप्त होला भन्ने प्रश्न सबैबाट उब्जिरहेको छ । तर, यसको उत्तर प्रायः विज्ञहरूले ‘भन्न सकिन्न’ अथवा ‘अनिश्चित छ’ भनेर दिने गरेका छन् । त्यस उत्तरले मानिसहरूको मनलाई शान्त पार्न सक्दैन । यस लेखमा महामारीको अन्त्य कहिले होला ? भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले नोबल कोराना भाइरसलाई सार्स कोभ टु र यसले लाग्ने रोगलाई कोभिड–१९ नामकरण गरी २०२० मार्च ११ मा विश्व महामारी (पेण्डामिक) घोषणा गरेको थियो । अनुसन्धान सुरु भएको ६ महिना बित्दासम्म कोभिड–१९ रोगबारे धेरै कुरा पत्ता लाग्न सकेका छैनन् । संक्रमित मानिसले हाछ्युँ गर्दा र खोक्दा भाइरस बाहिरिन्छ भन्ने तथ्यका आधारमा सावधानीहरू अपनाइएका छन् । तर, सार्स कोभ टु भाइरस कुन–कुन तरिकाबाट एक व्यक्तिबाट दोस्रोमा सर्छ, यसको संक्रमण दर कति छ, यसले शरीरमा के–के लक्षण देखाउँछ, यसले शरीरका कुन–कुन अंग र तन्तुमा के–कस्तो असर पार्छ, यसको मृत्युदर कति छ ? लगायत तथ्यहरू स्पष्ट रूपमा पत्ता लागेका छैनन् ।
भाइरस र रोगकै बारेमा जे–जति तथ्य थाहा हुन्छ, वैज्ञानिकहरूले त्यसकै आधारमा त्यसको नियन्त्रणका उपायहरू पत्ता लगाउने हुन् । कोभिडका बारेमा प्रथम विषयमा नै कम ज्ञान भएका कारण दोस्रो विषयमा पनि स्वतः ज्ञान कम छ । त्यसैले तथ्यका आधारमा मात्र बोल्नुपर्ने वैज्ञानिकहरू यो महामारीको अन्त्यबारे अनुमान गर्न नसकिने बताउँछन् । तथापि महामारीको सम्बन्धमा स्थापित माइक्रो बायोलोजीको सिद्धान्त, परिस्थितिको विश्लेषण र मानवशास्त्रीय दृष्टिकोणको संयोजनबाट यसबारे अनुमान गर्न सकिन्छ ।
माइक्रोबायोलोजी र भाइरोलोजी (सूक्ष्म जीव शास्त्र र भाइरस शास्त्र) अनुसार भाइरसहरूले सक्रिय मानव जनसंख्याको करिब दुईतिहाइलाई आक्रमण नगर्दासम्म यसको प्रकोप कायम रहन्छ । भाइरल प्रभाव अन्त्यको सामान्य र सर्वमान्य सिद्धान्त हर्ड इम्युनिटी (सामूहिक प्रतिरोधक) हो । ५० प्रतिशत जनसंख्या संक्रमित नहुँदासम्म संक्रमणको प्राकृतिक दर बढ्दै जान्छ । त्यसपछि घट्दै जान्छ । अहिलेसम्म मानिएअनुसार एउटा व्यक्तिमा सार्स कोभ टु भाइरसको आयु दुई–तीन हप्ता हुन्छ । समाजमा दुईतिहाई जनसंख्या संक्रमित भइसकेपछि एक व्यक्तिमा सक्रिय रहेको भाइरसले नयाँ घर भेटाउन मुस्किल पर्छ ।
सामान्यतया एकपटक संक्रमण भएको व्यक्तिमा भाइरसका लागि रोग प्रतिरोधात्मक क्षमता विकास भइरहने हुँदा दोस्रो पटक संक्रमण हुँदैन र यदि संक्रमण भए पनि हानिकारक हुँदैन भन्ने मान्यता रहेको छ । तर, यो सिद्धान्त सबै भाइरसमा लागू हुँदैन । कोभिडको हकमा पनि लागू हुन्छ या हुँदैन थाहा हुन बाँकी रहेको वैज्ञानिकहरूको भनाइ छ । यदि यो सिद्धान्त लागू नहुने हो भने भाइरस सधैंभरि मानव समाजमा रहिरहन्छ ।
भ्याक्सिन पनि भाइरसजस्तै हो । यसको काम पनि हर्ड इम्युनिटी तयार गर्ने हो । भ्याक्सिनको प्रमुख सिद्धान्तअनुसार जुन भाइरसले रोग लगाउँछ, त्यही भाइरसको ज्यादा हानिकारक अंश हटाएर मानिसमा प्रवेश गराइन्छ । त्यो भ्याक्सिन (भाइरस) विरुद्ध शरीरले एन्टिबडी बनाउँछ । उक्त भाइरसविरुद्ध लड्न हाम्रो शरीर पहिल्यै तयार बनेर बस्ने हुँदा कुनै बेला रोगको हानिकारक भाइरसकै संक्रमण भयो भने लड्न सहज र छिटो हुन्छ ।
सोझै दुईतिहाइमा भाइरस संक्रमण भएर तयार हुने हर्ड इम्युनिटी वा भ्याक्सिन लगाएर तयार हुने हर्ड इम्युनिटी दुवैले रूप नफेर्ने भाइरसका लागि मात्र काम गर्दछ । धेरै भाइरस उत्परिवर्तन (म्युटेसन) भएर रूप फेरिरहन्छन् । जस्तो कि मानिसहरूलाई एउटै भाइरसबाट पटक–पटक रुघाखोकी लाग्छ । पहिलो पटक लागेको रुघाखोकी निको पारेको एन्टिबडीले दोस्रो पटकको रुघाखोकी निको पार्दैन । भाइरसको रूप फेरिने हुँदा शरीरले नयाँ एन्टिबडी बनाउँछ । त्यसैले इन्फ्लुएन्जाको भ्याक्सिन वर्षमै एक–दुई पटक लगाउनुपर्छ । सार्स कोभ टु पनि म्युटेसन भएर रूप बदल्ने र पुरानो एन्टिबडीले काम नगर्ने हो भने भ्याक्सिन पत्ता लागे पनि हरेक वर्ष लगाउनुपर्ने हुन्छ ।
सामान्यतया भाइरसको पूर्ण प्रभावकारी औषधि हुँदैन । त्यसैले कोभिडको पनि औषधि पत्ता लाग्ने सम्भावना कम छ । औषधि नै पत्ता लाग्यो भने पनि समस्याको पूर्ण हल हुँदैन किनकि मानिसहरू अस्पताल भर्ना भएर बेड भरिने समस्या जस्ताको तस्तै रहन्छ । भ्याक्सिन बनाउने र प्रयोग गर्ने कार्य बढी संवेदनशील हुन्छ । औषधि रोग लागेको मानिसलाई मात्र दिइने हुँदा साइड इफेक्ट सोही व्यक्तिलाई मात्र हुन सक्छ । भ्याक्सिन आम स्वस्थ मानिसलाई दिइने हुँदा छोटो समयमा विश्वका धेरै मानिसलाई साइड इफेक्ट हुन्छ । यो सुरक्षित र प्रभावकारी भएको पुष्टि गर्न लामो प्रक्रियाको परीक्षण र प्रयोग आवश्यक हुन्छ । यसमा समय र खर्च पनि बढी लाग्छ ।
पहिलो त प्रयत्न गर्दैमा सबै रोगको भ्याक्सिन पत्ता लाग्दैन । त्यसमाथि कोभिडका लागि विश्वलाई छिटो विधिबाट भ्याक्सिन पत्ता लाग्नुपर्नेछ, किनकि यो रोग लगाउने भाइरस तीव्र संक्रामक छ । छिटो विधिबाट भ्याक्सिन पत्ता लागे पनि त्यसबाट समाज लाभान्वित हुन केही वर्ष लाग्छ नै । विश्व जनसंख्यालाई पुग्ने खोप तयार गर्न, त्यसको सुरक्षित ढुवानी, भण्डारण र वितरण गराउन खर्चिलो र समय लाग्ने हुन्छ । त्यसैले वैज्ञानिकहरू महामारी अन्त्यको मिति अनुमान गर्न सक्दैनन् ।
अर्कातर्फ भ्याक्सिन पत्ता लागेन भने मानिसमा संक्रमण भएर दुईतिहाइ पुग्न कति वर्ष लाग्छ भन्ने पनि एकिन छैन । यदि यो रोगको मृत्युदर उच्च छ भने विश्वका दुईतिहाइ मानिसमा संक्रमण हुँदासम्म यसले धेरै धनजनको क्षति गर्न सक्छ । अहिलेसम्म संक्रमण विस्तार भएको अवस्था र यसको नियन्त्रणका लागि अवलम्बन गरिएका सुरक्षा विधिहरूलाई आधार मानेर वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसको प्रत्यक्ष प्रभाव २ देखि ५ वर्ष रहने सामान्य अनुमान गर्न सकिन्छ ।
भाइरस म्युटेसनको सम्भावनाका कारण भविष्यबारे अनुमान गर्न वैज्ञानिकहरूलाई कठिन हुन्छ । अहिले २-३ हप्ता शरीरमा रहने भाइरस परिवर्तन भएर अझै लामो समय शरीरमा रहने बन्यो भने झन नियन्त्रण बाहिर जान सक्छ । त्यसो भए विश्वका दुईतिहाइभन्दा बढी जनसंख्यामा संक्रमण पुग्छ । एचआइभी भाइरस सुरु सुरुमा ती वर्ष रहने गरेकोमा पछि धेरै वर्षसम्म रहने गरी परिवर्तन भएको वैज्ञानिकहरूको भनाइ थियो ।
भाइरसको रूप बदलिंदा कम संक्रामक र मानिसको शरीरमा थोरै समय रहने बन्यो भने महामारी स्वतः प्रभावहीन हुनेछ । त्यस्तै, भाइरसको संक्रमण दरलाई कम गर्न उपयोगी कुनै विधि भविष्यमा आविष्कार वा पहिचान भयो भने पनि जनजीवन सहज हुनेछ । यी सबै विज्ञानको दृष्टिकोणबाट सम्भावना भएका तर यसै हुन्छ भनेर निष्कर्षमा नपुगिएका विषय हुन् ।
आधुनिक विज्ञानले भाइरस नियन्त्रण गर्ने उपचार विधि पत्ता लगाउन नसकेको हुँदा आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीले गर्न सक्छ कि भन्ने मतहरू पनि व्यक्त भएका छन् । अहिलेसम्म कुनै पनि ब्याक्टेरियल र भाइरल इन्फेक्सनको लागि ती चिकित्सा पद्धतिले पत्ता लगाएको भनी अन्तर्राष्ट्रिय स्तरमा लागू भएको उपचार विधि छैन । त्यसैले ती उपचार पद्धतिबाट आशा गर्न नसकिने तर्क पनि कतिपयको छ । तथापि ती चिकित्सा पद्धतिमा त्यस्ता भरपर्दाे विधि भएर पनि मूलधारले चासो नदिएको भने हुन सक्छ ।
संकटको बेला मूल कारकको वास्तविक क्षतिभन्दा बढी अन्य क्षति हुने गर्छ । यस्तो बेला खराब शासकदेखि धूर्त मानिसहरूले निजी लाभको काममा ध्यान दिन्छन् । असल नियतले गरेका कार्य पनि विवेकपूर्ण नहुँदा अस्वाभाविक क्षति हुन सक्छ । रोग, त्यसलाई नियन्त्रण गर्ने नाममा हुने कार्य, सूचना प्रवाह आदिले बाइप्रडक्टका रूपमा मानसिक समस्या पनि बढाउँछन् । यी सबै क्षति महामारीमै गणना हुने हुँदा क्षति बढी हुन जान्छ । उदाहरणका लागि नेपालमा चैतमा लक डाउन र त्यो पालना गराउन सिर्जना गरिएको त्रासका कारण मानिसहरूको मनमा महामारी ठूलो थियो । रोगको जोखिम असारसम्म कैयौं गुणा बढिसकेको छ, तर लकडाउन खुकुलो भएपछि मानिसहरूको मनमा महामारी कम छ ।
अन्त्यमा, मूलतः महामारीको अन्त्य भनेको औषधि वा भ्याक्सिन नभई मानिसहरूको मनको डर हट्नु हो । स्वाभाविक क्षतिलाई सहज स्वीकार गर्न सक्ने अवस्था आउनु हो । त्यस्तै, बदनियत र जालसाझीका काम अन्त्य भएर शासनमाथि जनविश्वास स्थापित हुनु हो । कुनै पक्षको कारण डर त्रासको प्रवद्र्धन भए पनि अनन्त कालसम्म त्रास कायम हुन सक्दैन । त्यसैले दुई–तीन वर्षभन्दा बढी कुनै पनि समस्या महामारीका रूपमा रहन नसक्ने समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । महामारीमुक्तको अवस्था छिटो ल्याउन समाजका विभिन्न वर्ग, समुदाय र प्रणालीहरूको समन्वय, सामञ्जस्यता र सद्भावको खाँचो पर्छ ।

प्रतिक्रिया दिनुहोस्