कोरोना महामारी र बालबालिका सुरक्षा

स्वस्थ बालबालिका नै स्वस्थ समाजका द्योतक हुन्, त्यसैले हरेक बालबालिका स्वस्थ र निरोगी रहनुपर्ने कुरामा कसैको दुईमत हुन सक्दैन । |
कोरोना संक्रमणका कारण विश्वभरि नै भएको लकडाउनका कारण विश्वका कैयन् देशमा बालबालिकामा खोप कार्यक्रम पनि नराम्रोसँग प्रभावित भएको छ । अहिले विश्वमा २ अर्ब बालबालिका कोरोना महामारीका कारण खोप सेवाबाट वञ्चित भएका छन् ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ भाइरसका कारण पछिल्लो समयमा आएर बालबालिका पनि बढी प्रभावित भएको पाइन्छ । विश्वमा कोभिड–१९ को संक्रमणका कारण ३ लाख मानिसले ज्यान गुमाइसकेका छन् । कोरोना महामारीको प्रत्यक्ष असर बालबालिकामा पनि नराम्रोसँग परेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा हजारौँ बालिकाको मृत्यु हुने र ११ लाखभन्दा बढी बालबालिका महामारीका कारण गम्भीर रूपमा प्रभावित हुने तथ्य हालै सार्वजनिक गरेको छ । महामारीको समयमा बालबालिकाको स्वास्थ्यमा उचित प्रबन्ध हुन नसकेका कारण आज ठूलो सङ्ख्यामा बालबालिकाहरू प्रभावित भएका छन् । उनीहरूमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक असर देखा पर्न थालेका छन् । त्यस्तै आवश्यक खोपको अभावका कारण विभिन्न रोगबाट मर्ने बालबालिकाको सङ्ख्या पनि बढ्दै गएको पाइन्छ ।
विश्व स्वास्थ्य संगठनको आपत् परिस्थितिसम्बन्धी डाक्टर माइकल रेयानले महामारी नियन्त्रण कहिले हुने भन्ने कुरामा अनुमान गर्न नसकिने बताएका छन् । यस्तो महामारीमा बालबालिकाको हेरचाह र स्वास्थ्य व्यवस्था ज्यादै कमजोर हुने भएका कारण र नियमित सेवामा बाधा पुग्ने भएका कारण बच्चाहरूको स्वास्थ्य अवस्था संकटमा आउने बताइएको छ, जसका कारण विश्वमा पाँच वर्षमुनिका बच्चालाई बढी असर गर्ने भएकाले उक्त समस्या समाधान र बालबालिकाको सहयोगका लागि १.६ अर्ब अमेरिकी डलर सहयोग आवश्यक परेको जनाएको छ । यदि बालबालकाका लागि उचित स्वास्थ्य व्यवस्था गर्न नसकेमा आगामी ६ महिनामा करिब ६० हजार बालबालिकाको मृत्यु हुने कुुरा अमेरिकाको जोन हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थले गरेको शोध प्रतिवेदनमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण मानिसमा मनोवैज्ञानिक असरले झन् पार्ने देखिन्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना संकटका कारण मानसिक समस्यामा वृद्धि भएको छ । कोरोनाबाट लड्न वा बच्न सरकारी नीतिको आवश्यकता छ । मानिसमा खानेकुरा, आवास, नोकरी, लकडाउन साथै भविष्यको सोचाइका कारण पनि मनोवैज्ञानिक असर देखिएको छ; जसको असर परिवार र बालबालिकामा पनि प्रत्यक्ष रूपमा देखिएको छ ।
पछिल्लो समयमा बालबालिकामा देखिएको रोगलाई कावासाकी भनिए पनि यो कोरोनासँग ठ्याक्कै मिल्ने लक्षणको पाइन्छ । यो रोग लागेपछि बच्चाको शरीरमा जलन बढी हुने, हातखुट्टा सुन्निने, शरीरमा रातोपना देखिने गर्छ । पछिल्लो दुई महिनामा ३० प्रतिशत बालबालिकामा यो रोग देखा परेको छ । शरीरमा जलन हुने उक्त रोगको लक्षण सबैभन्दा पहिले बेलायत, इटाली र फ्रान्समा देखिएको हो; जुन कावासाकी रोगसँग मिल्दोजुल्दो रहेको छ । जुन रोगले पाँच वर्षमुनिका बालबालिकामा गम्भीर असर पु¥याएको देखिन्छ ।
ज्वरो आउने, घमरा आउने, आँखामा समस्या देखिने, ओठ–जिब्रो सुन्निने र घाँटीको लिम्फ नोड सुन्निने जस्ता लक्षण पछिल्लो समयमा देखिएको छ । कावासाकी रोग के कारणले हुन्छ भन्ने पत्ता नलागे पनि कावासाकी रोगका कारण बिरामीको रक्तवाहिनी नली, मुटु र अन्य अङ्गमा असर पुग्ने देखिन्छ । बढी ज्वरो आउने, निम्न रक्तचाप हुने, छालामा स–साना बिमिरा वा दाना देखिने, श्वास लिन असहज हुने आदि लक्षण नै यस रोगको लक्षण हो । कोरोना र कावासाकी सिन्ड्रोमको लक्षणमा प्रायः केही समानता भेटिएको छ । यस रोगबाट भारतमा पनि बालबालिकाहरू प्रभावित भएको पाइन्छ भने अमेरिका र युरोपमा यस रोगबाट ग्रस्त हुने बालबालिकामा त कोरोना भाइरसको संक्रमण पनि देखिएको छ ।
कावासाकी सिन्ड्रोम र कोभिड–१९ मा केही समान लक्षण पनि देखिएका छन् । यस सिन्ड्रोम्समा बढी मात्रामा रगतमा साइटोकाइन्स विनाश हुन्छ । क्याम्ब्रिज विश्वविद्यालयका डाक्टर नजिमा पठानले बताएअनुसार कावासाकी लक्षण भएका बालकमा लामो समयसम्म कोभिड–१९ को संक्रमण पाइएको छ ।
कोरोना संक्रमणका कारण विश्वभरि नै भएको लकडाउनका कारण विश्वका कैयन् देशमा बालबालिकामा खोप कार्यक्रम पनि नराम्रोसँग प्रभावित भएको छ । अहिले विश्वमा २ अर्ब बालबालिका कोरोना महामारीका कारण खोप सेवाबाट वञ्चित भएका छन्, जसका कारण कोरोनाको घातक भाइरसले उनीहरूलाई झन् प्रभावित पार्न सक्छ । त्यसैले विश्व स्वास्थ्य संगठन र युनिसेफले बालबालिकाको खोप कार्यक्रमलाई निरन्तरता दिन र त्यसलाई नरोक्न सार्वजनिक सूचनासमेत जारी गरेका छन् । यदि उनीहरूमा खोप कार्यक्रम रोकिएमा वा अवरोध भएमा त्यसले लाखौँ बालबालिकाको ज्यान लिन पनि सक्छ । हेपाटाइटिस, टाइफाइड, जापानी इन्सेफलाटिस, रेबिज, पोलियो, चिकेन पक्स, निमोनियाँ र इन्फ्लुएन्जाजस्ता रोगबाट बचाउनका लागि बालबालिकामा खोप लगाउनुपर्ने भएका कारण खोप कार्यक्रमलाई निरन्तरता दिनु अत्यावश्यक देखिन्छ । हाल विश्वका ६८ भन्दा बढी देशमा लकडाउनका कारण खोप कार्यक्रम प्रभावित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ, जसका कारण ११ वर्षमुनिका करिब ८० लाख बालबालिका यस महामारीको समयमा खोप सेवाबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बालबालिकामा शिक्षा र स्वास्थ्य प्राथमिक आवश्यकता हुन् । तर, विश्वमा कैयन् बालबालिका भोकमरीका कारण कुपोषण भएर मर्न पुगेका छन् । त्यसैले बालबालिकामा पौष्टिक आहार, स्वास्थ र शिक्षा कार्यक्रमलाई विश्वव्यापी रूपमा व्यवस्थित गरी लागू गर्न विश्व स्वास्थ्य संगठन र अन्य निकायले जोडदार रूपमा आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
हरेक नागरिकको स्वस्थ रहने अधिकार हुन्छ भने त्यसमा पनि बालबालिकामा त उचित खानपान, उपचार, खोप, शिक्षा नभई नहुने कुरा नै हो । बालबालिकाका विभिन्न अधिकार छन् । त्यसमध्ये स्वास्थ्यसम्बन्धी अधिकार अग्रपङ्क्तिमा नै आउँछ । स्वस्थ बालबालिका नै स्वस्थ समाजका द्योतक हुन् । त्यसैले हरेक बालबालिका स्वस्थ र निरोगी रहनुपर्ने कुरामा कसैको दुईमत हुन सक्दैन । त्यसैले नेपाल सरकारले पनि यसमा गम्भीर कदम चाल्नु आवश्यक छ भने आगामी बजेटमा बालबालिकाको शिक्षा र स्वास्थ्यसम्बन्धी विषयमा जोड दिँदै आवश्यक वजेट विनियोजित गर्नुपर्ने देखिन्छ ।