वैतेश्वरले ग-यो, सडक कालोपत्रे र पुल निर्माण

दोलखाको वैतेश्वर गाउँपालिकाले सडक कालोपत्रे सुरु गरेको छ । गाउँपालिकाले वडा नं. १ गैरीमुदी जाने गोपीखोलादेखि वडा नं. १ वडा कार्यालयसम्म पुग्ने सडकको कालोपत्रे गरेको छ । त्यस्तै बुस्तीदेखि पुतलीकाठ जोड्ने सडकको कालोपत्रेका लागि पनि अन्तिम तयारीमा जुटेको छ ।
गाउँपालिका अध्यक्ष छवि लामाले ५ वर्षभित्र सबै वडा कार्यालयसम्म मुख्य राजमार्गबाट कालोपत्रेले जोड्ने लक्ष्यअनुसार पहिलो चरणमा ३ वटा सडकमा काम सुरु गरेको बताए । उनले गाउँपालिका केन्द्र र त्यसबाट वडा केन्द्रसम्म सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताए ।
गाउँपालिकाका सबै वडाबाट द्रुत गतिमा गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण गरेको गाउँपालिकाले अहिले कालोपत्रे गर्ने र १२ महिना नै मुख्य सडकहरू सञ्चालन हुने गरी काम गरिरहेको अध्यक्ष लामाले बताए । गाउँपालिकाले पहिलो वर्ष दु्रतमार्ग निर्माण गरेको छ । अहिले जुनसुकै वडाबाट एक घण्टाभित्र गाउँपालिका कार्यालय पाडुला पुग्नसक्ने अवस्था रहेको छ ।
एक साताअघि गोपीखोला गोपीटार सडकको एक किलोमिटर सडक कालोपत्रे भएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर युधिष्ठिर केसीले जानकारी दिए । बुस्ती पुतलीकाठ सडक पनि केही दिनमै एक किलोमिटर सडक कालोपत्रे हुने उनले बताए । त्यहाँ निर्माण व्यवसायीले कालोपत्रे हाल्ने तयारी गरिरहेको बताए । सडक कालोपत्रे सुरु गर्नु गाउँपालिकाका लागि उनले माइलस्टोनको संज्ञा दिए ।
गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ३ वटा सडकमा एका÷एक करोड विनियोजन गरेको थियो । त्यसमा प्रदेश सरकारले उत्तिकैै रकम छुट्याएर समपूरक कोष बनेको हो । मैनापोखरी–क्षेत्रपा सडकमा भने सडकको ग्रेड उच्च भएकाले ढलानको काम सुरु भएकाले उनले बताए । आगामी आर्थिक वर्ष पनि सुरु भएका सडकमा बजेट निरन्तर पर्ने र अन्य सडक पनि कालोपत्रेका लागि थप गर्ने योजना रहेको बताए । गाउँपालिकाहरुले कालोपत्रे गर्ने यो देशमै पहिलो भएको उनले दाबी गरे ।
गाउँपालिकाकै लगानी र व्यवस्थापनमा २ वटा झोलुंगे पुलसमेत निर्माण भएका छन् । गोपी खोला र खानी खोलामा उपभोक्ता समितिमार्फत पुल निर्माण भएको उनले बताए । झोलुंगे पुल ४ वटा बनाउनु पर्नेमा २ वटा पूरा भए तापनि २ वटा अर्को वर्ष पूरा हुने इन्जिनियर केसीले बताए ।
गाउँपालिकाको चालू आर्थिक वर्षमा ३ सय १५ वटा योजना रहेका थिए । त्यस मध्ये ३ सय वटा योजना पूरा भएको गाउँपालिका उपाध्यक्ष रवीचन्द्र आचार्यले जानकारी दिए । सबै योजना जेठ मसान्तभित्र भुक्तानी समेत गर्ने लक्ष्य भए तापनि महामारीका कारण भएको लकडाउनले केही योजनाको ठेक्का लाग्न नसक्दा सतप्रतिशत लक्ष्य हासिल गर्न नसकेको बताए ।
उपभोक्ता समितिमार्फत गर्ने कामहरू चैतमै पूरा भए तापनि ठेक्कामार्फत गर्ने काम प्रक्रियागत काम लामो हुँदा सबै काम गर्न नसकेको बताए । उनले पूरा भएका आयोजनाको भुक्तानीको काम पनि अन्तिम चरणमा पुगेको बताए ।