भदौभित्र माथिल्लो तामाकोसीले विद्युत् उत्पादन सुरु गर्ने दावी «

भदौभित्र माथिल्लो तामाकोसीले विद्युत् उत्पादन सुरु गर्ने दावी

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको भदौ महिनाभित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने दावी गरेका छन् ।
मन्त्री पुनले मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाएका प्रश्नको जवाफ दिँदै चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्ने लक्ष्य राखिएको भएपनि कोरोना महामारीका कारण उत्पादन सुरु गर्ने २ महिना ढिलो भएको बताए । स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आउँदो असारबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको थियो । आयोजनाको कुल ६ युनिटमध्ये एउटा युनिटबाट ७६ मेगावाट बिजुली असार महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन तयारी थियो । तर, आयोजनाको काम ९९ प्रतिशत भन्दा धेरै सम्पन्न भइसके पनि फैलिँदो कोरोना संक्रमणका कारण ढिलो भएको छ ।
सांसदहरुको प्रश्नको जवाफमा मन्त्री पुनले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको ८० प्रतिशत मुआब्जा वितरण सम्पन्न भइसकेको र आगामी आर्थिक वर्षभित्र मुआब्जा वितरणको सबै काम सम्पन्न गरीने समेत बताए । उनले मुआब्जा वितरणको काम सम्पन्न भए लगतै लगानीका मोडालिटी तयार गरी आगामी आर्थिक वर्षबाटै निर्माणको काम सुरु गर्ने बताए ।
मन्त्री पुनले आगामी आर्थिक वर्षका लागि एक प्रदेश एक मेगा प्रोजेक्टको अवधारणाअनुसार हरेक प्रदेशमा ठूला आयोजना निर्माणको कामलाई तिब्रता दिने पनि बताए । त्यका लागि दूधकोसी, माथिल्लो अरुण, तामाकोसी ५, नौमुरे, नलगाड, जगदुल्ला, बेतन कर्णाली, फुकोट कर्णाली र चैनपुर सेती जलविद्युत् आयोजना अगाडी बढाउन लागिएको उनको भनाई छ । यस्तै, उनले आगामी आर्थिक वर्षभित्र करिब १ हजार ३ सय मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने समेत बताए ।
यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोरोना महामारीका कारण बन्द रहेको शैक्षिक सत्र सुचारु गर्न अन्तिम गृहकार्य भइरहेको बताएका छन् ।
मन्त्रालयको विनियोजन विधेयकमाथि मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले महामारीका कारण बन्द रहेको शैक्षिक सत्रलाई क्षति हुन नदिनेतर्फ अन्तिम गृहकार्य भइरहेको बताए । उनले कोरोना भाइरस महामारीका कारण अवरुद्ध भएका कक्षा १०, ११, र १२ तथा विश्वविद्यालय, सिसिभिटी लगायतको परीक्षाको सन्दर्भमा सरकारले तत्काल स्पष्ट पार्ने भन्दै विद्यालय तह, स्नातक तह, स्नातकोत्तर तह लगायतका सबै तहका अन्तिम वर्ष वा अन्तिम सेमेस्टरका परीक्षाहरु केही समय कुरेर भएपनि उपयुक्त समयमा सञ्चालन गर्ने तथा हाल पहिलो सेमेस्टर सकेकालाई परीक्षा नलिई अर्को सेमेस्टरका लागि पढाई सुरु गर्ने र उपयुक्त समयमा परीक्षा लिने गरी गृहकार्य भइरहेको बताए । परीक्षा सन्दर्भमा रहेको अन्योलता धेरै दिन नरहने पनि उनले दावी गरे
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा बजेट घटाइएको भन्ने सांसदको प्रश्नको पनि जवाफ दिए । उनले कोरोनाको महामारीका कारण बजेटको आकार घटेपनि चालू वर्षको भन्दा केही बढनुलाई समारात्कम रुपमा लिनु पर्ने भन्दै अगामी दिनमा बजेट बढाउनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्