लकडाउनमा पनि कृषि मलको कालोबजारी «

लकडाउनमा पनि कृषि मलको कालोबजारी

भोजपुर-अनाधिकृत रुपमा बेचबिखन भइरहेको रासायनिक मल सिल गरिएको छ । तोकिएको भन्दा दोब्बर मूल्यमा किसानलाई अनाधिकृत रुपमा मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले सिल गरेको हो ।
गत बुधबार अरुण गाउँपालिका ६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा अनाधिकृतरुपमा रासायनिक युरिया मल बिक्री भइरहेको खुलेको हो । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल २ हजारमा बेचबिखन भएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयले मल सिल गरेको हो । भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिएपनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ । अनाधिकृत खरिद गरेर महंगोमा किसानलाई बेचेको खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।
प्रहरी टोलीले अनाधिकृत रुपमा ल्याइएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मल मात्र सिल गरिएको प्रहरी चौकी जरायोटारका इन्चार्ज भलबहादुर राईले बताए । वास्तविक मूल्यभन्दा १४ सय बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उनले बताए । हुलाकका कर्मचारी समेत रहेका भुजेलले इञ्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफूले प्रतिबोरा १८ सयले खरिद गरेर राखेको बताएका छन् ।

सिल गरिएको मलमा जनप्रतिनिधिको चासो
प्रहरीले मल सिल गरेको थाहा पाएपछि स्थानीय जनप्रतिनिधिमा पनि चासो बढेको छ । सिल गरिएको मलका विषयमा गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की, उपाध्यक्ष विनिता ढकाल, चरम्बीका वडाध्यक्ष ज्ञानेन्द्र दाहाल, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटासहितको अनौपचारिक छलफल चलेको बताइएको छ । सिल गरिएको मल किसानलाई आवश्यक परेको खण्डमा प्रतिबोरा एक हजारमा बिक्री गर्न दिने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन् ।
तर, प्रशासनले सिल गरेको मलबारे थप अनुसन्धान हुन बाँकी रहेकाले कुनै निर्णय नलिन भनेपछि यथावत राखिएको उनले बताइन् । गैरकानुनीरुपमा मल बेचिएको ठहरेमा आफूहरुको कुनै हस्तक्षेप नहुने ढकालले बताइन् । यता वडाध्यक्ष दाहालका अनुसार खेतीको सिजनमा कृषकलाई मल अभाव भइरहेका बेला उक्त सिल गरिएको मल नै सहजीकरणको विकल्प खोजिएको बताएका छन् ।
अरुण गाउँपालिकाले गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपी सप्लार्यसलाई ठेक्का दिएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार ५० केजीको दरले १ हजार ३ सय ९५ बोरा डिएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गरीने प्रावधान बनाएको छ ।
जसमध्ये कोटा अनुसार नै डिएपी मल गाउँपालिकाका लागि ल्याइसक्ने सप्लायर्सका प्रोपाइटर निर्मला शेर्पाले बताइन् । उनका अनुसार युरिया मल भने ५ सय २० बोरा मात्रै आफूहरुलाई साल्ड टे«डिङले उपलब्ध गराएको र त्यो मल किसानसमक्ष पु-याइसकेको छ ।
बाँकी रासायनिक मलका लागि साल्ड ट्रेडिङको डिपोले उपलब्ध नगराएको जनाइएको छ । साल्ड ट्रेडिङका प्रतिनिधिले पनि युरिया मल भण्डारण गरिएको गोदाम नजिकै क्वारेन्टाइन वार्ड बनाइएकाले ढुवानी गर्न असजिलो भएको भन्दै तत्काल मल उपलब्ध नगराएको शेर्पाको भनाई छ ।

अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्