कोरोना महामारी र शिक्षण पद्धतिमा सुधार

मानव जीवनमा सिद्धान्तमुखीभन्दा बढी प्रयोगमुखी शिक्षा र शिक्षण पद्धतिको आवश्यकता छ भन्ने कुरालाई हामी सबैले बुझ्नु जरुरी छ । |
कोरोना कहरका कारण विश्व नै त्रसित छ । यसका कारण आममानिसको जनजीवनका साथै कलकारखाना, उद्योग, यातायात, कृषि, शिक्षण, पर्यटनलगायतका सबै क्षेत्र यसबाट प्रभावित बनेका छन् । वैश्विक महामारीका रूपमा कोरोनाले विश्वको अर्थतन्त्र नै धराशायी बनाएको छ । यदि यो महामारी धेरै समयसम्म लम्बिने हो भने शैक्षिक क्षेत्र पनि धराशायी नबन्ला भन्न सकिन्न ।
तर पटक–पटक आउने यस्ता महामारीले मानव समुदायलाई धेरै पाठ सिकाएर गएको पाइन्छ । हामी नेपालीलाई वि.सं. २०७२ को विनाशकारी भूकम्पले केही पाठ सिकाएर गए पनि त्योभन्दा बढी ठूलो पाठ अहिलेको कोरोनाले सिकाएर गएको छ । कोरोनाले हाम्रो शिक्षा प्रणाली र हाम्रो शिक्षण पद्धतिलाई पनि समयसापेक्ष परिवर्तन गर्नुपर्ने कुुरामा समेत सङ्केत गरेको प्रतीत हुन्छ । बेला–बेलामा महामारी कुन र कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन, त्यसैले त्यसको विकल्पका रूपमा कुनै न कुनै उपाय सोच्नुपर्छ । यो नै उत्तम समय हो । त्यसैले विद्यमान शैक्षिक पाठ्यक्रम र शिक्षण प्रणालीमा नै अब हामीले सुधार गर्नुपर्ने देखिन्छ ।
कोरोना कहरका कारण भारत, अमेरिकालगायतका देशका विद्यालय बन्द छन् । हाम्रो देशमा पनि विद्यालयहरू पूर्ण रूपमा बन्द भएका छन् । दसैँअगाडिसम्म विद्यालय स्वतःस्फूर्त रूपमा सञ्चालन हुन नसक्ने अवस्था पनि देखिइसकेको छ । विगतका वर्षमा चैत्रको तेस्रो हप्तातिर नतिजा प्रकाशन गरेर वैशाख १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिन्थ्यो भने यो वर्ष त्यो पनि प्रभावित भएको छ । गएको शैक्षिक वर्षको नतिजा प्रकाशन गर्न पनि बाँकी छ । त्यस्तै, यस शैक्षिक वर्षको विद्यार्थी भर्ना अभियानलगायतका विविध शैक्षिक योजना निर्माण गर्ने काम अझै बाँकी नै छ ।
अहिले हाम्रा विद्यार्थीमा दुई प्रकारको मानसिक त्रास बढेको छ । एकातिर कक्षा १०, ११ र १२ का विद्यार्थीमा परीक्षाको भय र अर्कातिर कोरोनाको भय । यसरी डर र त्रासका बीचमा कसरी परीक्षा दिने भन्ने चिन्ता पनि विद्यार्थी वर्गमा छाएको छ । अभिभावकहरूमा आफ्ना छोराछोरीको पढाइप्रति थप चिन्ता बढेको छ । तर, समग्र देशको शैक्षिक समस्या समाधान तथा न्यूनीकरण गर्नका लागि सरकारले अहिलेसम्म कुनै विकल्प खुल्ला गर्न सकेको छैन । यसबाट सरकार पर्ख र हेरको स्थितिमा पुगेको देखिन्छ ।
कोरोना कहरका कारण अहिले ७० लाखभन्दा बढी विद्यार्थी घरमा नै रहन बाध्य भएका छन् । कोरोना महामारीपछि उनीहरूको दिनचर्या र विषय रुचिमा पनि परिवर्तन आएको छ । अहिले उनीहरू आफ्ना अभिभावकसँग रहेर घर, समाज, वातावरण, भूगोलका बारेमा केही सिकिरहेकका छन् । यो उनीहरूका लागि सबैभन्दा ठूलो शिक्षण हो । विद्यार्थीले विद्यालयमा मात्र सिक्ने होइन । सिक्ने त घर परिवारबाट नै हो । त्यसैले घर परिवारलाई नै पहिलो पाठशाला भनिएको हो । भूकम्पबाट केही सिकेका विद्यार्थीले कोरोनाबाट निक्कै कुरा जान्न र बुझ्न पाए । कैयन् अभिभावकले यस लकडाउनको अवधिमा आफ्ना छोराछोरीलाई घरमा नै पाठ्यपुस्तक पढाएका छन् । कतिले त स्वतन्त्र लेखनमा सक्रिय गराएर उनीहरूलाई थप सिर्जनशील बनाएका छन् । कतिले त उनीहरूको रुचि बुझेर नृत्य, सङ्गीत, चित्रकला, फोटोग्राफी वा कम्पुटर तालिम वा अन्य किसिमका तालिम वा सीप सिकाएका पनि छन् । यस्तै केही विद्यार्थीले यस अवधिमा आफ्ना अभिभावकसँग पाक् शिक्षा वा कृषि शिक्षा पनि ग्रहण गरेका छन् । कतिले त अर्को भाषासमेत सिकेका छन् । कमसे कम यस अवधिमा विद्यार्थीले कुनै न कुनै विषयमा केही ज्ञान वा सीप ग्रहण गरेको देखिन्छ ।
कोरोना महामारीले हाम्रो शैक्षिक प्रणाली र पद्धतिमा सुधार गर्न आवश्यक भएको देखाएको छ । महामारी कुन रूपमा कहिले र कसरी आउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन । त्यसैले अबको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने देखिन्छ । यसका लागि शिक्षकले पनि आफूलाई त्यसअनुकूल बनाउनु पर्ने देखिन्छ । यस प्रकारका महामारीमा पनि सहजै विद्यालय र विद्यार्थीसँग पुग्ने वातावरणको सिर्जना प्रविधिमार्फत हुनुपर्ने देखिन्छ । त्यसका लागि सरकार, विद्यालय र शिक्षक स्वयम् पनि तयार रहनुपर्छ ।
हाम्रा विद्यालयहरूमा अडियो भिजुयल कक्षा त सञ्चालन हुँदै आएका नै छन्, तर कोरोना महामारीपछि त्यस प्रकारको पद्धतिलाई झन बढी व्यवस्थित र परिमार्जित गर्नुपर्ने देखिन्छ । अब अनलाइन लर्निङ, भिडियो कक्षामार्फत पठनपाठनमा जोड दिनुपर्ने बेला आएको छ । त्यसका लागि स्थानीय निकायले आफ्ना विद्यालय र विद्यार्थीको तथ्याङ्क सङ्कलन गरी उनीहरूको सूचना–प्रविधिमा पहुँच भएको वा नभएको पहिचान गर्नुपर्छ । यदि त्यसमा उनीहरूको पहुँच नभएमा रेडियो तथा टेलिभिजनमार्फत् उनीहरूका लागि सोहीअनुरूप पठनपाठन गर्न सकिन्छ । यस्तै, इन्टरनेट पहुँच भएका विद्यार्थीका लागि सोही अनुरूप पठन पाठन गर्न सकिने हुँदा त्यसलाई पहिचान गर्न स्थानीय निकायले शीघ्र रूपमा त्यसतर्फ कदम चाल्नु आवश्यक देखिन्छ । महामारीको त्रासबाट मुक्त नहुन्जेलसम्म वा वातावरण सहज नहुन्जेलसम्म त विद्यार्थीलाई इ–लर्निङको व्यवस्था गर्नुपर्ने अवस्था आउँछ । त्यसैले सबैले आजैदेखि यसतर्फ सोच्नु जरुरी भइसकेको छ । अनलाइन लर्निङका लागि पूर्वाधार व्यवस्थापन र शिक्षकको पनि समस्या देखिन्छ । त्यसलाई पनि सहजै व्यवस्थापन गर्दै लैजानुपर्छ । यो थप चुनौतीको विषय पनि बन्न सक्छ । यसलाई सरकारले सहज रूपमा समाधान गर्ने उपाय खोज्नुपर्ने देखिन्छ ।
यसै सन्दर्भमा केही निजी विद्यालयले इ–लर्निङ कक्षा सञ्चालन गरिसकेका छन् । केही विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । देशमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थी सङ्ख्या ७८ प्रतिशत छ भने बाँकी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी छन् । इ–लर्निङका लागि निजी विद्यालयमात्र होइन, सरकारी विद्यालय पनि सक्षम छन् । केही सरकारी विद्यालय पनि स्रोत साधन र शिक्षक व्यवस्थापनमा आफैँ दक्ष छन् । त्यसैले विद्यार्थीको वास्तविक अवस्था पहिचान गरेर अब शैक्षिक रणनीति तयार गर्नुपर्ने अवस्था आइसकेको छ । यसमा विलम्ब गर्ने बेला छैन । तर, अहिलेसम्मको हाम्रो सुस्तताले हामी शिक्षाप्रति त्यति गम्भीर र सोचनीय रहेका छैनौँ कि भन्ने पनि भान हुन्छ । अहिले हामीले केही तयारी ग-यौँ भने आगामी दिनमा फरक खालका यस्तै महामारी आएमा शैक्षिक क्षेत्रमा हामी थप चिन्तित हुनु पर्ने देखिन्न । महामारीको पूर्वतयारीमा रहनुचाहिँ ठूलो चुनौती हो । त्यसैले कोरोनाले हामीलाई शैक्षिक क्षेत्रमा गम्भीर भएर सोच्न बाध्य बनाएको मात्र छैन, केही नयाँ शैक्षिक सुधार गर्न पनि झकझकाएको छ ।
हाम्रा घरमा भएका टिभी, रेडियोलाई पनि अब पठनपाठनसँग जोड्न सकिन्छ । दूरशिक्षा कार्यक्रम प्रभावकारी र सफल भएको हाम्रो देशको परिप्रेक्ष्यमा अबका दिनमा पनि यो पद्धतिबाट पठनपाठन सम्भव छ । जहाँ इन्टरनेट पहुँच छैन र अनलाइन कक्षा सञ्चालन गर्न सकिन्न त्यहाँ यस्ता शिक्षण प्रभावकारी हुने देखिन्छ । इन्टरनेट पहुँच भएको ठाउँमा विद्यार्थीहरूबीच अनलाइन भिडियोमार्फत कक्षा सञ्चालन गर्न सकिन्छ । परिआएमा यसका लागि सरकारले एक विद्यार्थी एक ल्यापटप व्यवस्था गर्नुपर्ने देखिन्छ । अभिभावकको आर्थिक अवस्था पहिचान गरेर ल्यापटप खरिद गर्ने व्यवस्था गर्न वा त्यसको लागि आवश्यक परेमा किस्ताबन्दीमा पनि उपलब्ध गराउने हो भने यो प्रभावकारी बन्ने देखिन्छ । आखिर घ्यू कहाँ पोखियो दालमा भनेझैँ शैक्षिक क्षेत्रमा गरिएको लगानी निश्चय नै त्यसै खेर जाने छैन । शैक्षिक क्षेत्रमा लगानी गर्न हामी पछि हट्नु हुन्न भन्ने सन्देश पनि कोरोना महामारीले हामीलाई सिकाएको अर्को महŒवपूर्ण पाठ हो ।
कोरोना कहरले अबको पाठ्यक्रम र शिक्षकलाई पनि परिमार्जित गर्न खोजेको छ । हाम्रा पाठ्यक्रम र शिक्षक दुवै परिमार्जित हुनु आवश्यक देखिन्छ । अबका शिक्षक पुस्तककेन्द्रितभन्दा पनि प्रविधिकेन्द्रित हुनुपर्ने समय आएको छ । यदि यसो भएमा हामी आधुनिक प्रविधिको प्रयोगमा समेत अगाडि हुन्छौँ । त्यसैले अबका शिक्षकले अनलाइन भिडियो शिक्षण गर्नु तयार रहनुपर्ने देखिन्छ । त्यसका लागि शिक्षकहरू पनि तयार रहनुपर्छ । सूचना–प्रविधिको प्रयोगमा जोड दिन शिक्षकले आफूलाई परिवर्तन गर्नु अत्यावश्यक छ । त्यसैले हाम्रा शिक्षकले आजैदेखि आफूलाई रुपान्तरण गर्नुपर्ने देखिन्छ ।
शिक्षामन्त्रीले चाँडोमा भदौभन्दा यता विद्यालयमा पठनपाठनको व्यवस्था नहुने तर त्यसले शैक्षिक प्रणालीमा कुनै असर नपुग्ने कुरा बताउनुभएको छ । त्यसले शैक्षिक प्रणालीमा कुनै असर नपुगे पनि त्यतिबेलासम्म हाम्रा विद्यार्थीको मानसिकता के होला ? पढेको कुरा उनीहरूको दिमागमा ताजै रहला त ? यो अर्को जटिल प्रश्न हो । त्यसैले कोरोनाको कहरबाट मुक्त भएर विद्यालय खुले पनि केही समय उनीहरूलाई कोरोनाको भयबाट दूर राख्न खेल मनोरञ्जन आदिका माध्यमबाट विस्तारै शैक्षिक लयमा ल्याउने वातावरण निर्माण गर्ने प्रयास गर्नु पर्छ । विस्तारै पुनर्ताजगी कक्षा सञ्चालन गर्नुपर्छ । क्रमिक रूपमा त्यसपछि पठनपाठनमा प्रवेश गर्नु आवश्यक र सान्दर्भिक देखिन्छ ।
अहिले प्रायः सबै अभिभावकको एउटै गुनासो सुनिन्छ, छोरो फेसबुकमा अलमिलयो । उसको अनलाइन गेममा लत बसेको छ । छोराछोरीले टिकटक बनाएर हैरान गरिसके । नडराउनुहोस्, अब तपाईंले त्यसलाई शिक्षण प्रविधिसँग जोडेर अगाडि बढाउनुहोस् । निश्चित समयतालिका दिएर त्यसलाई पठनपाठन प्रविधिसँग जोड्न सकिन्छ । यसो गर्न सकेमा त्यसले शैक्षिक प्रणाली र उपलब्धिमा पनि टेवा पु-याउने देखिन्छ । अहिले केही प्रतिशत विद्यार्थीेले मात्र इन्टरनेटलाई शैक्षिक विषयवस्तुसँग जोडेर प्रयोग गरेको पाइन्छ । त्यसैले तपाईं अभिभावकले पनि त्यसलाई शिक्षण प्रविधिसँग जोडेर उपलब्धिमूलक बनाउन पहल गर्नुपर्ने देखिन्छ । विद्यार्थीको पठनपाठनमा अभिभावकको पनि बढी नै भूमिका रहन्छ जति शिक्षकको हुन्छ । त्यसैले यस्ता विपत्तिमा नआत्तिइकन सामना गर्न र सचेत रहन अभिभावकबाट नै विद्यार्थीले सिक्ने गर्छन् । मानव जीवनमा सिद्धान्तमुखीभन्दा बढी प्रयोगमुखी शिक्षा र शिक्षण पद्धतिको आवश्यकता छ भन्ने कुरालाई हामी सबैले बुझ्नु जरुरी छ ।