लकडाउानले ग्यास खपत घटयो

दाङ– जिल्लामा ग्यासको खपत आधा भन्दा बढीले घटेको छ । सामान्य अवस्थामा भन्दा अहिले करिव ६० प्रतिशतले कम खपत भएको ग्यास व्यवसायीहरुले बताएका छन् । लकडाउनको कारण ग्यासको खपत कम भएको दाङ देउखुरी ग्यास बिक्रेता संघका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । लकडाउनको कारण सम्पूर्ण होटलहरु बन्द रहेको, उद्योग कलकारखाना, कार्यालय, तथा संघ संस्थाहरु सबै बन्द भएकाले ग्यासको खपत घटेको उनको भनाइ छ । “होटलहरु बन्द भएकाले अहिले ग्यासको खपत कम भएको हो ।” अध्यक्ष श्रेष्ठले भने । अहिले उपभोक्ताले घरमा मात्र ग्यास लैजाने गरेको व्यवसायीहरुको भनाइ छ ।
शहरी क्षेत्रमा धेरै ग्यास खपत हुने भए पनि अहिले शहरमा अध्ययन तथा जागिरका लागि आएका मानिसहरु पनि गाउँमा गएकाले बिक्री कम भएको अध्यक्ष श्रेष्ठले बताए । गाडी सञ्चालन नहुँदा गाउँ गाउँका उपभोक्ताले प्रयोग गर्न नपाउँदा पनि ग्यास खपत कम भएको उनले बताए । जिल्लामा मासिक करिव ६० हजार सिलिण्डर ग्यास बिक्री हुने गरेको थियो । तर हाल करिव २५ हजार सिलिण्डर ग्यास मात्र बिक्री हुने गरेको उनको भनाइ छ । घोराही क्षेत्रमा मात्र मासिक २० हजार सिलिण्डर खपत हुने गरेको ग्यास अहिले करिव ८ देखि ९ हजारमा सिमित भएको व्यवसायीहरुको भनाइ छ ।
उता तुलसीपुर क्षेत्रमा पनि ग्यास खपत घटेको व्यवसायीहरुले बताएका छन् । तुलसीपुर क्षेत्रमा मासिक करिव ६० हजार सिलिण्डर खपत हुने गरेको ग्यास आजभोली करिव २५ हजार सिलिण्डर मात्र बिक्री हुने गरेको छ ।
व्यवसाय घटेसँगै ग्यास समेत खरिद नगरेको घोराही १५ मा रहेको विशाल होटलका सञ्चालक खेमराज भट्टराइले बताए । “लकडाउनको कारण होटलको व्यापार शून्य रहेको छ, त्यसैले ग्यास पनि किन्न परेको छैन” सञ्चालक भट्टराइले भने ।