कष्टकर बन्दै मजदुर महिलाको दैनिकी

जुम्ला –
फाँचु दमाई संघर्षको उपनाम हो । उमेरले साढे ६ दशक कटिसकेकी उनी अहिले पनि ज्याला मजदुरीबाटै परिवार पाल्छन् । तातोपानी गाउँपालिका–५ बस्ने फाँचुको जिउने सहारा नै गिट्टी कुट्ने हो । २५ वर्ष पहिला श्रीमान् गुमाएकी उनले करिब ५ वर्ष पहिले छोरा पनि गुमाइन् । एक छोरा थियो, तिला नदीमा बगेर ज्यान गयो । छोराको मृत्युपछि तीन नातीनि जन्माइसकेकी बुहारीले दोस्रो विवाह गरिन् । त्यसपछि तीन नातिनी र आफ्नो पेट पाल्नका लागि उनीसँग ज्याला मजदुरी र गिट्टी कुट्नेबाहेक अरु विकल्प थिएन ।
छोरा बुहारीबाट सुख पाउने बुढेसकालको अस्थामा कमजोर हुँदै गएका हड्डी मस्काएर मजदुरी गरी बिहान बेलुकाको छाक टार्नुको पीडा उनीबाहेक अरुलाई के थाहा ? ६५ वर्षको उमेरमा पनि खोलाको बालुवा बोक्ने, सडक पेटीमा गिट्टी कुट्ने, ज्याला मजदुरी गर्ने उनको बाध्यता बनिसकेको छ । श्रीमान्को मृत्युपछि नातिनीको पालन पोषणका लागि वर्षौ पहिलेदेखि ढुंगा र हथौडासँग जोडिएको उनको सम्बन्ध अहिले पनि उत्तिकै प्रगाढ छ । हरेक दिन बिहान ७ देखि साँझ ६ बजेसम्म गिट्टी कुट्ने, खोला किनारमा बालुवा बोक्ने, ज्यालामा काम गर्ने फाँचुलाई डेढ महिना यता झनै तानव भएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सबै मजदुरीका काम खोसियो । उनकै भाषामा भन्दा उत्पादन गर्ने जग्गा छैन, भकारी रित्तै छ, गिट्टी, बालुवाकै भरमा चलेको परिवार लकडाउनले गर्दा गाउँ भौतारिनु अवस्था छ । उनले भनिन्, “उधारो व्यापारीले दिँदैनन्, ऋण साहुँले पत्याउनन्, छाक टार्नै धौ भएपछि दुई सातादेखि छोरीको घरमा शरणमा आएको उनले सुनाइन् ।
उनले कुटेकै गिट्टीबाट, बोकेको बालुवाबाट जुम्लामा सयांै घर निर्माण भए, तर उनको भत्किन लागेको पर्खाल उस्तै, फाँटेको चोली उस्तै, अनुहारमा चाउरी परिसक्दा हातबाट हथौडा छुटेको छैन । तर उनको पीडा अलि बेग्लै लाग्यो, छोरीको घरमा आउँदा पनि त्यतिकै बस्न नसकेकी फाँचुको संघर्ष र उत्पेरणाले नै होला उनीसँगै अन्य केही विपन्न मजदुर महिला पनि आफ्नो वेदना सुनाउन आत्तुर भइन् । अन्तर्राष्ट्रिय श्रमिक दिनव अर्थात् (मई १) का दिन कारोबारकर्मीले गरेको स्थलगत रिर्पोटिङमा फाँचु दमाईजस्तै, धेरैको पीडा बुझियो । जसमा चन्दननाथ नगरपालिका–९ की (एकमाया दमाई, मुगु दमाई, दाना दमाई चुच्या दमाई रुपसरी दमाई र ज्योती दमाईं) यी सबैले मजदुरी गरेरै परिवार पालिरहेको भेटियो ।
तीमध्ये एक हुन मुगा दमार्इं जसको जीवनका २ दशक गिट्टी कुटेर र बालुवा निकालेर बितेको छ । कर्णाली अञ्चल अस्पताल निर्माण हुँदादेखि गिट्टी कुट्ने र बालुवा संकलन गर्ने गरेकी मुगाले ५० वर्ष कटिसक्दा पनि त्यसलाई निरन्तरता दिइरहेकी थिइन् । तर विगत डेढ महिनायता जारी लकडाउन उनको मजदुरी खोसिएपछि चिन्तामा छन् ।
मजदुरी गरेरै खाने, फाँचु र मुगाजस्तै एकमाया, दाना, चुच्या, रुपसरी र ज्योती दमाईंको गरिबीको वृतान्त पनि कम छैन । घरमा खाने नुन तेल किन्ने पैसा छैन् । लकडाउनले मजदुरी खोसियालाई अहिलेसम्म स्थानीय सरकारले कुनै राहत नदिएको समेत फाँचु दमाईंले गुनासो गरिन् ।