असिनापानीले जुनारमा क्षति

सिन्धुलीको महाभारत क्षेत्रमा असिनापानीले जुनार खेतीमा क्षति पु-याएको छ । एक हजार चार सय हेक्टर क्षेत्रफलमा लगाइएको जुनार खेतीमा क्षति पु-याएको हो ।
फूल खेल्ने र दाना लाग्ने बेलामा असिनाले क्षति पु-याएपछि किसान चिन्तित बनेका छन । वर्षेनी जुनारबाट २ लाखदेखि १६ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका यहाँका किसान असिनाले दाना झारिदिएपछि चिन्तित बनेका हुन् । २ दिन परेको असिनापानीले गोलञ्जोर गाउँपालिका–४ तिनकन्यामा मात्रै ३ सय हेक्टरभन्दा बढी जुनार बगैँचामा क्षति पु-याएको जुनार किसान आश्विन गुरुङले बताए । उनले भने, “हाम्रो आयस्रोत भनेकै जुनार हो, हामी धेरै समस्यामा पर्नेभयौं, पोहोरसम्म किराले सतायो यो चोटि असिनाले क्षति ग-यो ।” यस क्षेत्रका अधिकांश घरपरिवार जुनारमा नै आश्रित छन् ।
रतनचुराका जुनार किसान रामहरी थापाको जुनार बगैँचामा चार सय बोट जुनारका विरुवा र दाना लागेका दुई सय बोट बिरुवा छन् । गएको सिजनमा मात्रै जुनार बिक्रि गरी दुई लाख रुपैयाँ आम्दानी लिएका रामहरी यो वर्ष भने उत्पादन घट्ने भन्दै चिन्ता व्यक्त गर्छन् । उनका अनुसार रतनचुरा क्षेत्रमा असिनाले ३० प्रतिशत जुनारमा क्षेति पुर्याएको छ । असिनापानीसँगै आएको हावाहुरीले जुनारको हाँगासमेत भाँचिएको छ ।
जुनार पकेट क्षेत्रका अधिकांश भू–भागमा असिनाले क्षति पु-याएको जुनार उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष तथा जुनार किसान निर्मल रम्तेलले बताए । उनले भने, “अहिले भनेको जुनारको फुल खेल्ने र दाना लाग्ने समय हो । असिनाले गर्दा भर्खरै लागेको फूल र मसिना दाना सबै झरेको छ ।” एक ठाउँमा मात्र होइन सबै क्षेत्रमा नै क्षति गरेको छ, यो वर्ष उत्पादनमा गिरावट आउने निश्चित छ ।
रम्तेलको बगैँचामा पनि सात सय बोट जुनारका बोट रहेका छ । “यो वर्ष जुनारमा धेरै दाना लागेको थियो, आम्दानी राम्रै होला भनेको त झन् असिनाले सबै झारिदियो ।” उनले भने, “यसवर्ष जुनारको दाना धेरै लागेकाले उत्पादन बढ्ने किसानहरूले अपेक्षा गरेका थिए ।”
जुनार विकास संघका अनुसार जुनारको पकेट क्षेत्र गोलञ्जोर गाँउपालिकाको रतनचुरा, तीनकन्या, वाशेश्वर, भुवेश्वरी, बितिजोर, डुडभन्ज्याङ, कमलामाइ नगरपालिकाको जलकन्या, सुनकोसी गाँउपालिकाको मझुवामा असिनाले क्षति गरेको छ ।
गएको सिजनमा आठ हजार मेट्रिक टन जुनार उत्पादन भई किसानले ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी लिएका थिए । आठ हजार किसान जुनार खेतीमा संलग्न छन् । असिनाले जुनारबाहेक तरकारीखेती, सुन्तला र मकैबालीमा समेत क्षति पु-याएको किसानहरूले बताएका छन् ।