चारसय डकर्मीलाई दक्ष बनाइँदै «

चारसय डकर्मीलाई दक्ष बनाइँदै

भूकम्पप्रतिरोधी पूर्वाधार निर्माणका लागि यहाँका डकर्मीहरूलाई दक्ष बनाउन थालिएको छ । भूकम्प पछिको पुनर्निर्माण अभियानलाई लक्षित गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति बागलुङले जिल्लाभरका चार सय जना डकर्मीलाई दक्ष बनाउन थालिएको हो ।
जिल्लाभर रहेका १० वटा स्थानीय तहमध्ये नगरपालिकामा प्रतिनगरपालिका ५० जना र गाउँपालिकामा प्रतिगाउँपालिका २५ जनाका दरले डकर्मीहरूलाई दक्ष बनाउन लागिएको शाखा कार्यालय बागलुङका प्रमुख नारायण न्यौपानेले बताए । जिल्लाको बरेङ गाउँपालिकामा भने दुई चरणमा गरेर ५० जनाले नै तालिम पाउने प्रमुख न्यौपानेले बताए । गाउँपालिका तथा नगरपालिकामा डकर्मीको काम गर्दै आएकालाई थप दक्ष र भूकम्पप्रतिरोधी निर्माणमा सहभागी बनाउनका लागि तालिमको आयोजना गरिएको उनको भनाइ छ । “राज्यले भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि लगानी गरेको हो” न्यौपानेले भने, “काम गरिरहेकाहरूलाई थप ज्ञान दिने हाम्रो उद्देश्य हो ।” जिल्लाभर नयाँ निर्माण हुने संरचना र पुराना संरचनाको मर्मतसम्भारमा समेत भूकम्पप्रतिरोधी प्रविधिको प्रयोग हुने गरी तालिममा विषयवस्तु समेटिएको उनको भनाइ छ ।
एक सातासम्म चल्ने तालिममा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक अभ्याससमेत गराइनेछ । “हामीले सैद्धान्तिक ज्ञानका साथै भरपुर मात्रामा प्रयोगात्मक रूपमा अभ्यास गर्न लगाउनेछौं” उनले भने “निर्माणमा अब्बल डकर्मी उत्पादन गरेर भूकम्प प्रतिरोधी भौतिक संरचनायुक्त जिल्लाका रूपमा पहिचान स्थापित गर्ने सोच छ ।” कार्यालयले जिल्लाका जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पहिलो चरणको तालिम सुरु गरिसकेको छ भने तमानखोला, बडिगाड, निसीखोला गाउँपालिकामा यो साताभरमा सुरु हुने न्यौपानेले बताए । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने अन्य सबै स्थानीय तहको तालिम सकिएपछि मात्रै सुरु गरिने कार्यालयले जनाएको छ । तालिममा प्रशिक्षणको लागि जिल्ला प्रविधिक कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका जिल्लामा क्रियाशील इन्जिनियर र सब–ओभरसियरलाई खटाइएको छ भने सहप्रशिक्षकको रूपमा डकर्मी तालिम प्राप्त स्थानीय डकर्मीहरूलाई समेत खटाइएको कार्यालयले जनाएको छ ।
सयौंको संख्यामा डकर्मीहरू दक्ष बनाउने गरी सुरुवात गरिएको तालिममा प्रतिगाउँपालिका तथा नगरपालिकाका लागि कार्यालयले ४० हजार बराबरको औजार र ५० हजार बराबरको कच्चा पदार्थको व्यवस्था समेत गरेको छ । तालिमका लागि डकर्मी काम गरिरहेकाको सहभागिताका लागि आव्हान गरिएको भए पनि सोचेअनुसारको सहभागिता नरहेको न्यौपानेले बताए । पहिलो चरणमा तालिम सम्पन्न भएका जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा कार्यक्रमको लक्ष्य अनुसारका डकर्मीहरूको सहभागिता रहेको भए पनि तालिम चलिरहेका अन्य निकायमा भने डकर्मीको संख्या सोचेअनुसारको नभएको न्यौपाने बताउँछन् । “प्रशिक्षार्थीहरू निकै उत्साहित हुनुहुन्छ, काम सिक्ने जाँगर निकाल्नुभएको छ” उनले भने, “तालिममा सहभागीहरूको उत्साह देखेर हामी पनि उत्साहित भएका छौं ।” जिल्लामा पहिलोपटक यो खालको तालिम सञ्चालन भएकाले सबै सहभागीलाई सहज रूपमा सिकाइका लागि समस्या रहेको भए पनि त्यसलाई सहज बनाउने काममा आफू लागेको न्यौपानेले दाबी गरे । जिल्लामा भूकम्पका बेला भत्केका संरचना निर्माणका लागि पहिलो चरणको अनुदान रकम उपलब्ध गराउने काम चलिरहेका बेला डकर्मीको लागि दिइएको डकर्मी तालिम संरचना निर्माणका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्