ऐतिहासिक रोपवेको दुर्दशापछि पलाएको आशा

वि.सं. २०२१ मा अमेरिकी सरकारको ६४ लाख डलरको सहयोगमा निर्माण तथा गरिएको ४२ किमी लामो हेटौँडा काठमाडौँ रोपवे सेवा हाल बन्द छ । बागमती प्रदेश सरकारले दुई दशकदेखि बन्द भएको रोपवे फेरि सञ्चालनको प्रयास गरेको छ । जसका लागि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले विशेष योजना बनाएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रसमशेरले वि. सं. १९७९ मा घिर्सिङ चिसापानी चन्द्रागिरीमा २२ किमी लामो रोपवे सुरु गरेका थिए । तत्कालीन रोपवेलाई सम्वत् २०२१ सालमा अमेरिकी सरकारको सहयोगमा राजा महेन्द्रको पालामा पुनः प्रबलीकरण गरी सञ्चालन गरिएको हो । जुन त्रिभुवन राजपथको आधा लागतमा निर्माण भएको थियो । जबकि सरकारले विक्रम सम्वत् २०५८ मंसिरमा रोपवे विघटन गर्ने निर्णय गरेको हो । त्यतिबेला रोपवेले प्रतिघण्टा २२ टन सामान ढुवानी गर्दथ्यो । अहिले रोपवेका तार तथा क्यारियरहरू जीर्ण अवस्थामा रहेका छन् । कति ठाउँमा तारहरू लत्रेको अवस्थामा छन् भने कैयन तारहरू काटिएका अवस्थामा छन् । त्यतिबेला सञ्चालित रोपवेमा आठववटा टर्मिनल र सातवटा स्टेसन थिए । जसमा ३५३ वटा टावरहरू थिए ।
काठमाडौंमा सामान ओसारपसारका लागि रोपवे निर्माण गरिएको हो । २०४५÷४६ सालमा भारत सरकारले गरेको नाकावन्दी र २०५० सालको बाढी आएपछिको समयमा रोपवेको ज्यादै प्रयोग भएको थियो । त्यतिबेला विनासकारी बाढीले अधिकांश पुलहरू क्षति भएको बेला यही रोपवेबाट दिनमा १८ घण्टासम्म सामान ढुवानी गरिएको थियो । ४ घण्टामा हेटाँैडाबाट काठमाडौँसम्म प्रतिदिन २२ मेट्रिक टन ढुवानी गर्न सक्ने क्षमता रहेको यस रोपवेले सिमेन्ट, खाद्यान्न, औषधि, नुनलगायतका सामग्री ढुवानी गर्ने गरिएको थियो ।
त्यसैले यस ऐतिहासिक रोपवेलाई व्यवस्थितरूपमा सञ्चालन गर्न सकेमा आर्थिक लाभ लिन सकिने कुरामा दुईमत हुने छैन । पछिल्लो समयमा सरकारले यसलाई साझेदारीका रूपमा सञ्चालन गर्नुपर्ने कुरा पनि उठिरहेको छ । अव्यवस्थित बसोबासका कारण पुनः रोपवे सञ्चालन गर्न समस्या पनि हुने देखिन्छ ।
नेपालको भूगोलको हिसाबले रोपवेलाई प्रवद्र्धन गर्नु राम्रो र सान्दर्भिक देखिन्छ । सडकमा गरिने लगानी अनि ढुवानीको चर्को भाडालाई मध्य नजर गर्ने हो भने रोपवे सहज र सुगम हुने छ भने खर्चका हिसाबले पनि ज्यादै कम देखिन्छ । रोपवेभन्दा सडक निर्माण छ गुणा महङ्गो हुन्छ । त्यसो त नेपालमा उत्पादित बिजुली नै पर्याप्त भएका कारण रोपवेजस्ता बिजुलीबाट चल्ने रोपवेलगाएतका उपकरणलाई प्रबद्र्धन गर्न सरकारले विशेष पहल गर्नुपर्ने देखिन्छ । नेपाल जस्तो विषम भौगोलिक अवस्था भएको देशमा रोपवेको महत्व ज्यादै हुने गर्दछ । वातावरणीय तथा जैविक विविधता संरक्षणका दृष्टिले रोपवेलाई बहुउपयोगी मान्न सकिन्छ । दिनप्रतिदिन बढ्दै गईरहेको इन्धनका कारण सडक ढुवानी महङ्गो भएको परिप्रेक्ष्यमा रोपवे ज्यादै सरल र सुलभ हुने गरेको पाइन्छ ।
महँगो सडक निर्माण गरेर वातावरण विनाश गर्नुभन्दा बरु ठाउँठाउँमा यस्ता केवल कार वा रोपवे सञ्चालनमा ल्याउन सके वातावरण संरक्षण पनि हुने गर्दछ भने ढुवानी ज्याला पनि कम हुन गई बस्तुको मूल्य पनि घट्ने देखिन्छ । त्यसैले यसतर्फ प्रदेश सरकारको ध्यान जानु पर्ने देखिन्छ । सुरुमा लगानी बढी भए पनि दीर्घकालीन रूपमा यो सस्तो नै पर्दछ । सवारी साधनको तुलनामा रोपवे धेरै सस्तो र भरपर्दो दखिन्छ । रोपवे निक्कै सस्तो र भरपर्दो पनि हुने भएका कारण सरकारले देशका विभिन्न भागमा रोपवे निर्माणका लागि पहल गर्नु पर्ने देखिन्छ । त्यसैले वाग्मती प्रदेश सरकारले नेपालको ऐतिहासिक रोपवे पुनः सञ्चालनका लागि पहल गर्नु ज्यादै सान्दर्भिक देखिन्छ । पर्यटकीय र आर्थिक हिसाबले काठमाडौँ हेटौँडा रोपवे सम्भव छ कि छैन भनेर सम्भावना अध्ययन भइरहेको भौतिक तथा पूर्वाधार विकासमन्त्रीले बताएसँगै आशा पलाएको हो ।
काठमाडौँ हेटौँडाबाहेक ललितपुर जिल्लाको भट्टेडाँडा र झाँक्री डाँडाबीचमा पनि रोपवे सञ्चालित छ जुन ३ किमी लम्बाइको छ । विक्रम सम्वत् २०५२ सालदेखि सञ्चालनमा आएको यो रोपवेले दैनिकरूपमा फलफूल, दूध, तरकारी र अन्य दैनिक उपभोग्य सामान ढुवानी गर्ने गरिएको पाइन्छ त्यस्तै पछिल्लो समयमा आएर देशमा पर्यटनसँग सम्बन्धित भएर केही केबल कारहरू सञ्चालनमा आएको पाइन्छ भने यस्ता खालका केवलकार निर्माणको गति पनि तीब्ररूपमा बढिरहेको छ ।