Logo

कोरोनाले विज्ञानलाई चुनौती

 

औषधि विज्ञानको क्षेत्रमा आफुलाई अब्बल ठान्ने अमेरिका, युरोपलगायतका देशहरूलाई पराजित गरेको छ कोरोनाभाइरसले ।

कोरोनाभाइरस (कोभिड–१९)ले विश्वका केही देशवाहेक सबैलाई छोएको छ । छोएको मात्र होइन, कोरोनाको समस्याले विश्व मानव समाजलाई आतङ्कित बनाएको छ । संभवत हाम्रो शतब्दिको कहालीलाग्दो महामारी हो यो । पृथ्वीलोकका मानिस अहिले बाँच्नकै लागि एक किसिमले युद्ध झैं लडिरहेका छन् अर्थात कोरोनाभाइरसको नियन्त्रणमा संसार प्रयत्नशील छ । यस्तो लाग्दथ्यो, मानिसले अर्थात विज्ञानले सफलता प्राप्त नगरेको क्षेत्र कतै छैन तर मानिस प्रकृतिभन्दा तल नै रहेछ ।
कृषिदेखि औद्योगिक र सञ्चार क्रान्तिको परिणामस्वरूप विश्वग्राम निर्माण ग-यौ भन्ने मानिस कोरोनाभाइरसको अदृश्य कीरोबाट त्राहिमाम् भएको छ । अहिले विश्वका शक्तिशाली भनिएका अमेरिका, चीन,जापान,युरोपली देशहरूलाई समेत हावाकावा खेलाउन सफल भएको छ यो कोरोनाभाइरस । यो कस्तो जीव होला जो मृत्युलाई यती सस्तो बनाइ रहेको छ ?
नेपाल पनि अहिले विश्वका अरु देश झै लकडाउनको सामना गरिहेको छ । देशका सडकहरू सुनसान र भूत शहरमा परिणत भएका छन् । मानिस बाँच्नका लागि केही बोरा चामल र सिलिन्डर ग्यास जम्मा गरेर मात्र पनि सुरक्षित हुन खोजिरहेको छ । अरुवेला सामान्य लाग्ने ट्वाइलेटपेपर, स्यानिटाइजर जस्ता वस्तुको चाजोपाजो मिलाउन प्रहरी र प्रशासन युद्ध स्तरमा लागिरहेका छन्, सरकारले अत्यावश्यक कामवाहेक घर वाहिर ननिस्कने लगायत १५–१६ वुँदे उर्दि जारि गरिसकेको छ । यो महामारीले मानव जगतलाई नै एक खालको गतिहिन अवस्थामा पु-याएको छ । आज पन्क्षीहरू निवार्द ढंगले आकासमा उडिरहेका छन् । पृथ्वीमा कमिलाहरू दौडीरहेका छन् । तर मानव मात्र आज घरभित्रै बसेको छ । उनीहरू घरको कोठाभित्रै कोचिएर बस्न बाध्य छन् ।
कोरोनाभाइरस (कोभिड–१९) विश्व आर्थिक र राजनीतिक ग्लोबलाइजेशन (वैश्वीकरण) को उपज हो । अस्वस्थ पुँजीवादले ल्याएको महत्वपूर्ण संकट उपभोगवादी चरित्र हो । यसले पछिल्लो समयमा पुँजीको चरित्रलाई अधिकतम रूपले उपभोगवादी बनाइदिएको छ । उपभोगवादी चरित्रले मानवीय जीवनका मूल्य , मान्यता, आदर्श सस्कार सबैलाई ध्वष्त पार्दै मान्छेलाई खेलौना बनाइदिएको छ । अतिरिक्त आय आर्जन र उपभोगका लागि मानव जातिले गर्दै आएका अस्वस्थ पुँजीवादी प्रतिस्पर्धाले यस प्रकारका सङ्कट निम्त्याउँदै छ । सौखीनहरूले संसार बनाउने भन्दा पनि विगार्ने काम गरेका छन् । एड्स अप्राकृतिक यौन सम्पर्कको परिणाम हो । यो रोगले संसारका लाखौ मानिसको ज्यान लिएको छ । तर पनि पुँजीवादी विश्वबजारमा यौन पैसाको लागि नाफा मूलक व्यापार भएको छ । उपभोक्तावाद ग्लोवलाइजेशनको चरम अभिव्यक्ति हो । आजको सङ्कट ग्लोबलाइजेशनको परिणाम हो । प्रकृतिमाथिको अतिक्रमण र आक्रमणबाट उत्पन्न महामारी हो ।
पुँजीवाद आफ्नो नाफा बढाउनको लागि कुनै मान्यता र आवश्यकता विना तथा सामाजिक फाइदाको मतलब नगरिकनै अराजकतावादी उत्पादनमा लाग्छ । यसले आफ्नो उत्पादन बढाउदै जान्छ । सम्पूर्ण नाफा केहि पुँजीवादी कम्पनीसँग मात्र केन्द्रित हुन्छ । कामदारहरू आफ्नो उपभोगका लागि नभएर मालिककालागि उत्पादन गर्छन । जब कुनै पनि वस्तुको उत्पादन प्राकृतिक हिसाबले नभई अप्राकृतिक हिसाबले हुन्छ । त्यस्ता उत्पादन वढी त हुन्छ तर ति विषक्त हुन्छ र मानव स्वस्थ्यमा गम्भीर असर पर्ने खालका हुन्छन् । त्यस्ता वस्तुको उपभोग गर्दा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । अनि विभिन्न भाइरसले आक्रमण गर्दछ । केभिड–१९ कोरोनाभाइरस माहामारी यसैको उपज हो ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेको छ । अहिले धन र शक्तिले काम गरिरहेको छैन । औषधि विज्ञानको क्षेत्रमा आफुलाई अव्वल ठान्ने अमेरिका, युरोप लगायतका देशहरूलाई पराजित गरेको छ कोरोनाभाइरसले । आज कोरोनाभाइरसको प्रकोप अघि–अघि छ भने विज्ञान पछी–पछी छ । अनेक प्रयास गर्दा गर्दै पनि अहिले सम्म यो भाइरसको भ्याक्सीन पत्ता लाग्न सकेको छैन । कोरोनाभाइरसको वंश पत्ता लागेको छैन । स्टेफन हकिन्सले जीवनको अन्तिम क्षणमा वंश परिवर्तन गरेका नयाँ जीवाणुले विश्व मानव जातिको संहार गर्न सक्छ भन्ने कुरा अनुमान गरेका थिए । त्यो सत्य सावित हुँदै छ कि ? यसले कतिको ज्यान लिन्छ यसै भन्न नसकिने अवस्था छ ।
यो महामारीमा विश्व अर्थतन्त्र र मानव समुदायमा कस्तो र कहिले सम्म अन्योल हुने हो यसै भन्न नसकिने अवस्थमा छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गत साता विश्व अर्थतन्त्र मन्दीको चरणमा प्रवेश गरेको घोषणा गरेको छ । सो लगत्तै ‘द इकोनोमिष्ट’ पत्रिकाको ‘इकोनीमिष्ट इन्टेलिजेन्स युनिट (इआईयू)’ ले यस वर्ष विश्व अर्थतन्त्र मा २.२ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । जवकि सन् २००८–२००९ को विश्वव्यापी आर्थिक मन्दीको समयमा जम्मा समग्र अर्थतन्त्रमा १.७ प्रतिशतले मात्र संकुचन आएको थियो । कोरोना महामारीले अझै विकराल रूप लिदै गयो भने विश्व अर्थतन्त्र जोखिममा पर्नुका साथै हालसम्मका उपलब्धिमा नै प्रश्न उठ्नेछ । त्यस्तै गरेर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरसको संक्रमण दोस्रो विश्व युद्ध पछिको सबैभन्दा ठूलो चुनौति बनाएका छन् । उनले भनेका छन्, ‘कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी रूपमै अझ कडा र प्रभावकारी कदम चाल्नु पर्छ, राजनीतिक खेलबाट बाहिर आएर सबै एकठाउँमा उभिए मात्रै कोरोना महामारीविरुद्ध जित हात पर्छ ।’ संयुक्त राष्ट्र संघको ७५ वर्षको इतिहासमा हामीले यस्तो खालको विश्व व्यापी स्वस्थ्य संकट देखेका थिएनौ । यो स्वस्थ्य संकट मात्रै होइन, यो मानव संकट हो । उनले भनेका छन् ।
कोभिड १९ को सबैभन्दा डरलाग्दो पक्ष चाहिँ यसको तीब्र सर्ने क्षमता हो । यो भाइरसको संक्रमण पछिल्लो समयमा अमेरिकामा तीब्र रूपमा फैलिएको छ । अमेरिकाको न्युयोर्कमा तीब्र रूपमा फैलिरहेको छ । न्युयोर्क राज्यका गमर्नर एन्ड्रयु कोमोले कोभिड–१९ को संक्रमण वुलेट ट्रेन भन्दा तीब्र गतिमा फैलिरहेको भन्दै औषधी उपचार सामाग्रीको आपूर्तिका लागि आग्रह गरिसकेको छन् । संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनेको गुनासो छ । उनका अनुसार न्युयोर्कमा हाल कम्तीमा ३० हजारवटा भेन्टिलेटर आवश्यक भएपनि ७ हजार वटा मात्र छन् । संघीय सरकारले जम्मा ४ हजार वटा मात्र भेन्टीलेटर पठाएकोमा उनले आलोचना गरेका छन् ।
कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणले अमेरिका सबैभन्दा त्राही बनेको छ । विश्वमै सबैभन्दा बढी संक्रमण संख्या त्यहि छ । अनि तीब्र मृत्युवरण गर्ने संख्या पनि त्यहि छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दै छन् यहि मृतकको सख्या एक लाखकै हाराहारीमै रोकिए त्यो उपलब्धि ठहरिने छ । यी हरफहरू काफी छन्, अमेरिकाको कहालीलाग्दो चित्रण गर्न । कोरोनाभाइरसले सामान्य मानिसलाई मात्र होइन ठूला ठूला शासकहरूलाई पनि छोडेको छैन वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई समेत संक्रमण पाइएको छ । आज उनी सेल्फ आइसोलेसनमा बसेका छन् । उनले आइसोलेसनमा बसेर सरकार चलाइरहेका छन् ।
कोरोनाभाइरस सम्बन्धी विश्वका विभिन्न देशहरूमा अनेक अन्वेषण र खोज भइरहेको छ । कुकुरको सुँध्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सकिन्छ कि भनेर व्रिटेनमा परिक्षण सुरु गर्न लागिएको छ । मेडिकल डिटेक्शन डम्स नामक संस्थाले यसअधि औलो, क्यान्सर, पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरलाई तालिम दिईसकेको छ । मेडिकल डिटेक्सन डम्सका प्रमुख क्लेअर गेस्टका अनुसार ‘विरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय खोजी हुँदैछ । सिद्धान्ततः कुकुरले कोभिड–१९ पत्ता लगाउन सक्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भनेकी छन् । यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका संक्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ ।
आज विश्व एकातिर र कोरोनाभाइरस अर्कातिर भएको अवस्था छ । वन्दुक र वैभवको आडमा विश्व महाशक्ति बनेका देशहरूको दम्भ कोरोनाको अगाडि चकनाचुर भएको छ । अन्तरिक्ष माथिको विजय देखी इन्र्फमेसन सुपर जोनमा मानिसले पाएको विज्ञानको सफलता आज उपायहीनताको मनोेदशामा गुज्रीरहेको छ । शक्तिराष्ट्रहरू विचका विज्ञानका उपलब्धिहरू मनव जीवन र आमकल्याणको उपयोगीताका दृष्टिले सहज बनाउने दिशामा भन्दा कोरा खोजमा मात्र लागिरहेका छन् । अहिले यसका विरुद्धको लडाइ प्रधान हुन आएको छ । प्राकृति स्रोत, साधन र मानव श्रमको दोहन र शोषण गरेर कुनै पनि मुलुक समृद्ध र सुरक्षित हुन सकिन्छ भन्ने विश्व प्रभुत्ववादी सोचलाई कोरोनाभाइरस (कोभिड–१९)ले पराजित गरेको छ । तसर्थ चाइनिज भाइरस मात्र नभनि सबै शक्तिराष्ट्रका शासकहरू एकठाउँमा उभिई मानव जातिको रक्षको निम्ती यस भाइरसको भ्याक्सीन पत्ता लगाई शताब्दिकै ठूलो महामारीलाई जित्नु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्