सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नगरपालिका

सिन्धुलीका दुई नगरपालिकाले अग्रिम रुपमा सामाजिक सुरक्षा भत्ता विरतण गर्ने भएका छन् । लकडाउनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै दुई महिनाको भत्ता वितरण गर्ने निर्णय गरेका हुन् ।
दुधौली नगरपालिकाले चैत र बैशाख महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको जनाएको छ । नगरपालिकाबाट भत्ता लिँदै आएका ५ हजार ७१५ जनालाई तत्काल भत्ता उपलब्ध गराइने नगरपालिकाका मेयर घनश्याम राउतले बताए ।
नगर कार्यपालिकाको बैठकले अग्रिम रुपमा दुई महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको उनले बताए । सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या परेको भन्ने गुनासो आएका कारण भत्ता उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए ।
उनका अनुसार चौमासिक रुपमा असारमा वितरण गरिने सामाजिक सरक्षा भत्ता तत्कालको अवस्थालाई मध्यनजर गर्दै अग्रिम रुपमा दिन लागिएको हो । अबको केही दिन भित्रै भत्ता विरतण गरिनेसमेत उनले बताए ।
यस्तै नगरपालिकामा रहेका विपन्न वर्गहरुको विवरण संकलन गरी सार्वजनिक गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई नियम अनुसार सेवा सुविधा दिइने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने लगायतका प्रक्रिया पनि बढाइएको जनाइएको छ ।
यसैबीच, कमलामाई नगरपालिकाले पनि दुई महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
लकडाउनका कारणले आय आर्जनको काम हुन नसक्दा उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न दुई महिनाको अग्रिमरुपमा भत्ता उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताए ।
बैठकले सिन्धुली अस्पतालमा बनाइएको आइसोलेसन सेन्टरमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको छ । यस्तै वडास्तरमा पनि राहत वितरणका लागि विपन्न वर्गहरुको नामावली संकलनको काम भइरहेको जनाइएको छ । यता फिक्कल गाउँपालिकाले भने कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस रोकथाम तथा उपचार कोष स्थापना गरेको छ ।
सो कोषमा जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा र कर्मचारीहरुले एक दिनको तलब सहयोग गर्ने समेत निर्णय भएको गाँउपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् ।
गाउँपालिकाले जनप्रतिनिधिहरु र कर्मचारीहरुको पहलमा सबै वडाका विपन्न र मजदुर र अनार्थ बालबालिकाको तथ्यांक संकलन सुरु गरेको छ । स्थानीयहरु भोकभोकै बस्ने अवस्था नहोस् भन्नका लागि तथ्यांक संकलन सुरु गरिएको उनले बताइन् ।