खाद्य उद्योगको उत्पादनका लागि सहजीकरण गर्न माग «

खाद्य उद्योगको उत्पादनका लागि सहजीकरण गर्न माग

वीरगन्ज- नेपाल चामल, तेल, दाल उद्योग संघले खाद्य उद्योगहरुको उत्पादन सूचारु गर्न सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । संघले विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउन स्वागतयोग्य भएको जनाउदै यस कठि अवस्थामा पनि मानव स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर नेपाल सरकारको नीति, कार्यक्रम तथा योजना प्रति संघले ऐक्यवद्धता प्रकट गर्दै कोभिड–१९ पूर्णरुपमा रोकथाम नभएसम्म सरकारसँग हातेमालो गर्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको संघका अध्यक्ष सुवोध गुप्ताले जनाएका छन् ।
तर, चामल, तेल, दाल लगायतका दैनिक जीवनमा नभई नहुने खाद्य वस्तुहरुको सरकारले चैत १० गतेदेखि देशभर गरेको लकडाउनले पाँचदिनदेखि खाद्य उद्योगमा उत्पादन र ओसार पसार ठप्प भएकोले केन्द्रीय सरकारलाई त्यसको सहजीकरणका लागि अपिल पनि गरको छ । संघले सरकारसँग पाँचबुँदे विभिन्न माग सहित खाद्य उद्योगको उत्पादन र ओसार पसारका लागि सहजीकरण गर्न माग गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा श्रमिक कर्मचारीहरुको मनोवल उच्च बनाउन सके दैनिक उपभोग्य खाद्य वस्तु उत्पादनका लागि उद्योगमा गई काम गर्ने वातावरण बन्ने हुँदा उनीहरुको परिवारलाई सुरक्षित महशुस गराई श्रमिक कर्मचारीलाई काममा जाने उच्च मनोवलको वातावरण बनाउन, खाद्यवस्तु ढुवानी गर्ने मालवाहक सवारी साधनहरु चारदिनदेखि विभिन्न स्थानमा रोकिएको र चालकहरु सवारी साधन छोडेर घर घर गएको अवस्थामा उनीहरुलाई उचित व्यावस्था सहित खाद्यवस्तु निर्वाध रुपमा देशभरी ढुवानी गर्ने वातावरण बनाउन माग गरिएको छ ।
त्यस्तै उद्योग संचालनको लागि दैनिक एकदेखि पचास लाख सम्म नगदको आवश्यकता पर्ने हुँदा सहरबाट उद्योगसम्म नगद लैजाने सहज वातावरण बनाउन, दैनिक उपभोग्य वस्तु पाँचदिनदेखि आंशिक रुपमा मात्रै खोलिएको हुँदा स्थानीय प्रशासनको रोहबरमा पसल खोल्ने उचित वातावरण बनाउन र खाद्य उद्योगमा भएको सहउत्पादन जस्तै भुस, राईसब्रान, कनिका लगायतका वस्तुहरु ढुवानी गर्न नपाउँदा खाद्य वस्तु उत्पादनमा अवरोध भएकोले त्यसको सहज ढुवानीको लागि पनि सरकारले पहल गरिदिनुपर्ने संघका अध्यक्ष गुप्ताले बताए । उनले दैनिक जीवनमा नभई नहुने उपभोग्य वस्तुहरु तेल, चामल, दाल लगायतका उपभोग्य वस्तुहरु ओसार पसार तथा आपूर्तिको व्यावस्था मिलाई निरन्तर रुपमा खाद्यान्नको लकडाउन अवधिभर उपभोत्तालाई खाद्यान्नको सहज बनाउन निजीक्षेत्र गम्भीर भएकोले त्यसको सहजीकरण गरिदिन सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्