कमलामाईमा मासु आयात रोक

सिन्धुली- कमलामाई नगरपालिकाले मासु आयातमा रोक लगाएको छ । मासुबाट पनि कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै तत्काललाई मासु आयातमा रोक लगाएको हो ।
जिल्ला भित्रिने सबै नाकामा प्रहरीसँग समन्वय गरेको र नियमको उल्लङ्घन गरी कमलामाई नगरपालिकाभित्र मासु ल्याई बिक्री गरेको पाइएमा कारवाही गरिने प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । उनले जिल्लामा उत्पादन भएका मासुजन्य वस्तुहरुको कारोवार गर्न आग्रह गर्दै बाहिरबाट आयात गरी ल्याएका मासु उपभोग नगर्न नगरवासीमा आग्रह गरे ।
अन्य जिल्लाबाट कमलामाईमा पर्ने बिपी राजमार्ग हुँदै काठमाडाँै तथा छिमेकी पालिकामा लैजान सक्ने तर कमलामाई नगरपालिकामा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ । साथै मासुलाई राम्रोसँग पकाएर खान उनको आग्रह रहेको छ ।
यस्तै कमलामाई नगरपालिकाले चैत्र मसान्तसम्म हाट बजार नलगाउन, सभा सम्मेलन नगर्न, २५ जनाभन्दा बढी मानिस एकै स्थानमा सहभागी भई नबस्न आग्रह गर्दै सप्ताहलगायतका गतिविधि सञ्चालन गर्न नदिने निर्णय भएको हुँदा उक्त निर्णयको पालना गर्न उनले आग्रह गरे ।
कमलामाई नगरपालिकाले बजारमा हुन सक्ने कालोबजारी तथा अखाद्य वस्तुको बिक्री वितरण रोक्न अनुगमन निरन्तर गर्ने जनाएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण तथा नगरपालिकाले बन्देज गरेका खाद्य वस्तु बिक्री गरेको पाइएमा पनि कारवाही गर्ने भएको छ ।