नेपालगन्ज नाकामा सवारी साधन निषेध

नेपालगन्ज-विश्वमा कोरोना भाइरस संक्रमणको सन्त्रासमा बढेका बेला बाँकेको नेपालगन्ज नाकामा कडाइ गर्न थालिएको छ । कोरोना फैलिन नदिन नेपालगन्जस्थित जमुनाह नाकामा बुधबारदेखि सवारीसाधन प्रवेश निषेध गरिएको छ । नाकामा दैनिक रूपमा हुने भीड कम गर्न जमुनाहादेखि तीन किलोमिटर वरै सवारी साधन रोकिएको छ ।
नेपाल र भारतका सुरक्षाकर्मीले अत्यावश्यक बाहेक दुवै देशमा प्रवेश गर्ने सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । नाकामा दैनिक रूपमा हुने भीडलाई कम गर्न जमुनाहा नाकादेखि तीन किलोमिटर वरै चौलिका चोकमा सवारी ाधन रोकिएको छ । तर, पैदल जाने यात्रुहरुलाई भने जान दिइएको छ । भारतको उत्तरप्रदेशको लखनउमा समेत ३ जनामा कोरोना संक्रमित देखिएपछि नेपालगन्जमा सर्तकता अपनाइएको हो । कोरोना संक्रमण सर्न नदिन सुरक्षा निकायले यसलाई एकदमै कडाइका साथ प्राथमिकतामा राखेर चेकजाँच गरिरहेको नेपालगन्ज नाकास्थित इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालले बताए ।
भारतले पनि कोरोना भित्रिन नदिन सीमा नाकाको छेउमै हेल्थ डेक्स सञ्चालन गरेको छ । खासगरी नेपालगन्ज नाका हुँदै भारत भित्रिने नेपाली र चिनियाँ यात्रुलाई लक्षित गरी हेल्थडेस्क सञ्चालनमा ल्याएको हो । जमुनाहा नाकामै टेन्ट लगाएर कोरोना चेकजाँच तथा परामर्शका लागि हेल्थ डेस्क सञ्चालन गरिरहेको छ । डेस्कमा ३ जना कर्मचारी खटाएको भए पनि थर्मामिटर, ग्लोबलगायत उपकरण र स्रोत साधनको अभाव भएको स्वास्थ्यकर्मीको गुनासो छ ।
भारतमा कोरोनाका संक्रमण फैलिँदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवामा समेत रोक लगाइएको छ । भारतमा कोरोनाका संक्रमण फैलिँदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवामा बुधबारदेखि रोक लगाइएको हो । नेपालगन्जको जमुनाह नाका भएर दैनिक एक दर्जन बस भारतको दिल्लीका लागि छुट्ने गरेका थिए । दिल्लीमा कोरोनाको संक्रमण फैलिने क्रम बढेपछि बाँके प्रशासनले नेपालगन्ज–दिल्ली यातायात सेवामा अनिश्चितकालका लागि रोक लगाएको बाँकेका एसपी बीरबहादुर ओलीले जानकारी दिए । दिल्ली जान हिँडेका बसहरूलाई जमुनाह नाकाबाट फर्काइएको छ । बाँके, दांग, प्यूठान, सुर्खेतलगायतका जिल्लाबाट ती बसहरू साँझ साढे सात बजेदेखि ९ बजेसम्म जमुनाह नाका भएर दिल्ली जाने गरेका थिए । सीमामा भारतबाट फर्किने र भारत प्रवेश गर्ने मानिसलाई समेत कडाइ गरिएको छ ।
भारतबाट आउने सबैलाई अनिवार्य स्वास्थ्य जाँच गर्ने र आशंकित भेटिएमा अस्पतालमा पठाउने सरकारी तयारी छ । त्यसका लागि नाकामा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।