Logo

शिकार खेल्न गएका वृद्ध जंगलबाटै बेपत्ता

लमजुङ-पूर्वी लमजुङको दूधपोखरीमा शिकार खेल्न गएका एक वृद्ध एक साता अघिदेखि बेपत्ता भएका छन् । दूधपोखरी गाउँपालिका–१, डाँडागाउँका ५७ वर्षिय पूर्णबहादुर गुरुङ शिकार खेल्न जंगल गएका बेला जंगलबाटै बेपत्ता भएका हुन् ।
गत फागनु २६ गतेदेखि गुरुङ बेपत्ता भएपनि ढिलागरी घटना सार्वजनिक भएको हो । स्थानिय डाँडागाउँका १५–१६ जनाको समूह गाउँ माथिको जंगलमा शिकार खेल्न गएका बेला गुरुङ बेपत्ता भएको र घटनास्थलको प्रकृति शंकास्पद देखिएकोले घटना रहस्यमय बनेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।
शिकार खेल्न गएका गाउँलेहरुले शिकार गर्नेक्रममा काम विभाजनका लागि समूह बनाएका र चार जनाको समूहमा रहेका गुरुङ बेपत्ता भएका हुन् । स्थानियका अनुसार बेपत्ता भएका गुरुङ अन्तिम पल्ट देखिएको ठाउँमा केहि रगतका दागहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।
फागुन अन्तिम साता घटना भएपनि झण्डै एक सातापछि मात्रै घटना सार्वजनिक भएको हो । जंगलबाट गुरुङ हराएपछि स्थानिय गाउँलेहरुले आफैले खोजी गरेपनि नभेटेपछि स्थानिय समूदायमा भेला समेत गरेको स्थानियले बताएका छन् ।
गुरुङ हराएको र गाउँलेहरुले भेला गरेको खवर प्रहरीले पछिमात्रै जानकारी पाएको थियो । प्रहरीले जानकारी पाएसँगै उनको खोजिका लागि थप प्रहरी खटाइएको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रविन्द्र गुरुङले बताए ।
जंगलमा खोजि गर्नेक्रममा प्रहरीले केहि रगतका दाग समेत फेला पारेपछि घटना रहस्यमय बनेको छ । गुरुङसँगै गएका अन्य शिकारीहरुका अनुसार जंगलको तल्लो साईडमा रहेका गुरुङलाई शिकारका क्रममा माथिबाट खसेको ढुंगाले लागेको र पछि आँफै बेपत्ता भएको बताएका छन् ।
घटनास्थलको प्रकृति र गुरुङलाई जिवित वा उनको लास समेत फेला नपरेपछि शिकार गर्ने १६ जनाको समूहलाई प्रहरीले निगरानीमा राखेको छ । जंगलमा गुरुङको खोजिगर्ने क्रममा प्रहरीले चार थान भरुवा बन्दुक समेत फेला पारेको प्रहरीले जनाएको छ ।
ओढारमा लुकाईराखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको हो । बन्दुक सहित चारजनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।
घटनास्थल जिल्लाकै अति दुर्गम क्षेत्रमा भएको र ढिलागरी जानकारी आएकोले थप अनुसन्धानको क्रममा रहेको छ । घटनास्थलको प्रकृति र गुरुङका सहकर्मीहरुले स्पष्ट अभिव्यक्ती नदिँदा घटना झनै रहस्यमय बनेको प्रहरीको भनाइ छ । यद्यपी घटनास्थलमा थप प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको र सत्यतथ्य पत्ता लगाउन समय नलाग्ने प्रहरीको दावी छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्