व्यवस्थित बन्दै बाबियाचौर

म्याग्दी-विकास निर्माणको काममा ढिलासुस्ती, गुणस्तर नभएको गुनासो निर्माण ब्यवसायीप्रति देशब्यापी बढेको छ । संघीय संरचनाअनुसार स्थानीय सरकारले गाउँका सानासाना योजना उपभोक्ता समितिबाट गर्ने प्रचलन बढाएको छ । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजारको ढल निकासका लागि नाली निर्माण कार्य उपभोक्ता समितिले लिएको छ ।
संघीयताले स्थापित गरेको गाउँपालिकाको केन्द्रसमेत रहेको बाबियाचौरमा २५ लाख लगानीमा गाउँपालिकाले ढल निकासको नाली निर्माण गर्न यस आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो । बजारलाई ब्यवस्थित बनाउन बाबियाचौर ढल निकास उपभोक्ता समितिले सो बजेटमा २ सय २० मिटर नाली निर्माण जिम्मा लिएको छ । बजारबासी समेत रहेका उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र खड्काले विदेशमा सिकेको सीपलाई सो बजारको नाली निर्माणमा प्रयोग गरेका छन् । खड्कासहित बाबियाचौरका १५ जना युवा मिलेर रोजगारीसँगै सीपको दक्षता देखाएर गुणस्तर नाली निर्माणको कामलाई तीव्रता दिइरहेका छन् ।
नाली निर्माणमा उपभोक्ता समितिले गरेका काम गुणस्तरीय र प्रभावकारी भएको भन्दै प्रशंसा बटुलेका छन् । समितिका अध्यक्ष खड्काले नाली निर्माणसँगै अघिल्लो वर्ष पनि अन्य काम पनि लिएर सम्पन्न गरिसकेको बताए । गाउँपालिकाले दिएको जिम्माभन्दा बढी काम नाली निर्माणमा गरिरहेको उनको भनाइ छ । उपभोक्ता समितिबाट ढल निकास र नाली निर्माण कार्य गुणस्तरीय रूपमा भइरहेकोे गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । बाबियाचौर गाउँपालिकाको केन्द्र बनेसँगै सेवासुविधासँगै बस्ती विस्तार बढ्दै गएको छ ।
स्थानीय युवाको अग्रसरता समाजप्रतिको दायित्वबोधले बजारको फोहोर पानी लगायतको ब्यवस्थापनका लागि निर्माण भइरहेको नालीको नियमित अनुगमन गर्दा गुणस्तरीय काम भएको पाइएको अध्यक्ष रोकाले बताए । काम थोरै तर दिगो रूपमा निरन्तर टिक्ने छोटो समयमा बजारबासीलाई सास्ती नहुने किसिमले काम गर्न उपभोक्ता समितिलाई आग्रह गरिएको बताउँदै स्थानीय युवाले समाजप्रति जिम्मेवार भएर काम गरेको उनको दाबी छ । गाउँपालिकाको केन्द्र बाबियाचौरलाई ब्यवस्थित बनाउन पार्क, खानेपानी, सडक र भवनलगायतको पूर्वाधारलाई तीव्रता दिएको जानकारी दिए ।