भ्रष्टाचारविरुद्ध विभिन्न जिल्लाका मालपोत कार्यालयमा सत्याग्रह

बर्दियालगायत देशका ६ वटा जिल्लास्थित मालपोत कार्यालयमा भ्रष्टाचारविरुद्ध सत्याग्रह कार्यक्रम गरेको छ ।
भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बागेश्वरी असल शासन क्लब बासले बर्दिया, सुर्खेत, सल्यान, उदयपुर, अछाम, दाङ, जिल्लाका मालपोत कार्यालयमा हुने सबै प्रकारका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका विरुद्ध सांकेतिक दबाब दिने उद्देश्यले भ्रष्टाचारविरुद्ध शुद्धीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रमअन्तर्गत १ घण्टा कार्यालयको मूल गेटमा मालपोतमा घुस लिइँदैन, म घुस लिन्न, मालपोत भ्रष्टाचार निषेधित क्षेत्र हो, घुस्याहाहरूलाई प्रवेश निषेध, घुस माग्ने कर्मचारीलाई केका लागि भनेर सोध्ने गरौं लगायत भ्रष्टाचारविरुद्धका नारा अंकित प्लेकार्डसहित संस्थाका पदाधिकारी तथा युवाले सांकेतिक रूपमा सेवा प्रवाह सुधार गर्न दबाब दिएका थिए ।
सो सत्याग्रह पश्चात संस्थाले मालपोत कार्यालयको सेवा प्रवाह सुधारसहित मालपोत कार्यालयका प्रमुखहरूलाई १३ बँुदे ज्ञापनपत्र बुझाएको थियो । बास बर्दिया शाखा अध्यक्ष खुमेश सुवेदी, सुर्खेत शाखा अध्यक्ष प्रशान्त ढकाल, सल्यान शाखा अध्यक्ष अनिल भण्डारी, अछाम शाखा अध्यक्ष विष्णु खड्का, दाङ, शाखा अध्यक्ष नविन अभिलासी र यदयपुर शाखाका पदाधिकारीहरूले कार्यालय प्रमुखलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।