आर्थिक संकटमा विद्यालय

बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययन गर्दै आएको जिल्लाको एकमात्र विद्यालय आर्थिक समस्यामा परेको छ । विदुर नगरपालिका–५ माझीटारमा रहेको बौद्धिक अपांगता प्रारम्भिक विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत भए पनि सरकारीस्तरबाट एकजना सहयोगी शिक्षक (आया) मात्र उपलब्ध भएकाले शैक्षिक निरन्तरतामा चुनौती देखिएको हो ।
बौद्धिक अपांगता भएका बालबालिकाको अभिभावकमार्फत सञ्चालनमा रहेको विद्यालयले विदुर नगरकार्यपालिकामा कक्षा १ सम्म अध्यापन गराउने अनुमति पाए पनि शिक्षक र भौतिक संरचना अभावमा विद्यालय चलाउन कठिनाइ भएको व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा १० जना छात्र र १४ छात्रा छन् । जसमा तीन वर्षदेखि ३२ वर्षसम्मका बौद्धिक अपांगता विद्यार्थी अध्ययन गर्छन । उक्त विद्यालय वि.सं २०६८ देखि संस्थागत रूपमा सञ्चालन सुरु गरिएको हो ।
१८ वर्षभन्दा कम उमेरका १७ जना विद्यार्थी छन्, शिक्षक अभावले पर्याप्त शिक्षा र ज्ञान दिन कठिनाइ भएको विद्यालयले जनाएको छ । “१८ वर्ष भन्दा माथि उमेरका सात जना छन् । उनीहरूलाई विद्यार्थी सुविधा उपलब्ध नहुने व्यवस्थाले थप कठिनाइ छ ।” अध्यक्ष श्रेष्ठले भने, “बौद्धिक अपांगता भएकालाई शिक्षा र स्याहार दुवै चाहिन्छ, एकजना सहयोगी शिक्षकको कोटामात्र पाएका छौं, अरु दुईजना शिक्षक निजीस्रोत चलाउँदै आएको छांै, सरकारी सहयोग अपुग छ ।”
बौद्धिक अपांगता भएका बालबालिका खान र बोल्न नसक्ने तथा मस्तिष्कले काम गर्न नसक्ने हुन्छन् । सरकारीस्तरबाट उपलब्ध सहयोगी शिक्षकले विद्यार्थीलाई नियन्त्रण गर्न कठिनाइ भएपछि थप गरिएको तीन शिक्षकलाई तलब खुवाउन विद्यालयलाई समस्या आएको हो । “सरकारी सुविधा नहुँदा तीन शिक्षक, विद्यार्थीलाई दिवा हेरचाह, खाद्यन्न र बासका लागि मासिक एक लाख रुपैयाँ खर्च हुने भए पनि स्रोत अभावमा विद्यालय बन्द हुने अवस्था छ,” श्रेष्ठले भने ।
विद्यार्थीलाई अक्षरको माध्यमबाट भन्दा पनि चित्र र संगीतबाट स्फूर्तिलो बनाउने गरेको विद्यालयका शिक्षक राजेन्द्र श्रेष्ठले बताए । अपांगता भएका बालबालिकाको अभिभावक काममा व्यस्त हुने र उनीहरूले आफ्नो शरीरको रक्षासमेत गर्न नसक्ने हुदा असुरक्षाका कारण विद्यार्थीलाई आवाशीय व्यवस्था छ । “उनीहरूको हेरचाह गर्नु, खाना खुवाउन, शौच गराउन तथा अल्मलाएर रमाउने वातावरण बनाउनु नै शिक्षा प्रदान गर्नु हो ।” शिक्षक श्रेष्ठले भने, “घोकाएर पढाउन उनीहरूको मस्तिष्कले काम गर्दैन ।”
विद्यार्थीलाई थेरापी, संगीत, खेल, चित्रलगायतका अभ्यासबाट सिकाइने हुँदा बौद्धिकतामा सुधार गर्दै सामान्यतर्फ फर्काइने गरिएको छ, त्यसमा विद्यालय सफल ठहरिँदै आएपछि अहिले विद्यार्थी भर्ना दर वृद्धि हुदै गएको छ ।
–रामहरि न्यौपाने