पश्चिम सेती वरपर ४० वर्षदेखि विकास अवरुद्ध

डडेल्धुरा-सुदूरपश्चिम प्रदेशकै गेमचेञ्जर मानिएको पश्चिम सेती आयोजनाको निर्माण अझै सुरु हुनसकेको छैन ।
हरेक निर्वाचनमा मुख्य रूपमा उठाइने पश्चिम सेती आयोजना ४० वर्षदेखि चर्चामा सीमित छ भने स्थानीयलाई यो आयोजना निर्माण हुन्छ भन्ने पत्यार लाग्नसमेत छाडिसकेको छ । यतिका वर्ष बितिसक्दा पनि निर्माणको काम भने किन अगाडि बढेन भन्ने प्रश्नको जवाफ दिन राजनीतिक नेतृत्वले सकेको छैन । यद्यपि यस क्षेत्रका केही स्थानीयमा चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना बन्छ कि भन्ने झिनो आशा भने बाँकी नै छ ।
पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौं पहिला परियोजना निर्माण हुने सपना सजाएका हुन् । केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेपछि आयोजना बन्छ भन्ने उनीहरूको आशा कहिल्यै पूरा हुन सकेन । पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट वञ्चित बन्नुपरेको स्थानीयबासीको दुःखेसो छ । “पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुबान हुने भन्दै सरकारको लगानी रोकिएको छ,” स्थानीयवासी कर्णबहादुर साउदले भने, “न पश्चिम सेती सुरु हुन्छ, न त यस क्षेत्रको अन्य विकास निर्माण कार्य नै ।” उनले परियोजनाको हल्लाले बाटो, खानेपानी, सिँचाइ, शिक्षाजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको बताए ।
दशकौँ पहिलेदेखि विभिन्न विदेशी कम्पनीसँग सम्झौता भई केही काम सुचारुसमेत भएको स्थानीय जोगे धामी सम्झिन्छन् । “मैले सम्झेसम्म यो परियोजना २०३५ सालमा सुरु भएको हो, त्यतिबेला म डडेल्धुरा अध्ययन गर्दथें, अहिले २०७६ साल पनि सकिन लाग्दा कुनै पनि काम भएको छैन,” उनले भने, “पश्चिमका दुईजना प्रधानमन्त्री (लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा) भएका बेला त बनेन भने अब के बन्ला र ?”
सन् १९८१ देखि पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण चर्चा सुरू भएको थियो । त्यतिबेला फ्रान्सेली संस्था सोग्रेहको र १९९४ मा नेपाल सरकारको विद्युत् विकास केन्द्र अस्ट्रेलियन बहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारी पत्रमा हस्ताक्षर भएका थियो । १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।
डडेल्धुराको बेलापुर र बैतडीको ढुंगाडका बस्ती र डोटी जिल्लाकाको सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती आयोजनास्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक रूपमा काम हुन सकेको छैन । कतिपय सरकारमा बस्ने नेतृत्वले यस परियोजनाको नाममा भोटसमेत मागे, पटक पटक आश्वासन दिए तर परियोजना लागू हुने अवस्था भने ३० वर्ष पहिलाको जस्तै छ । पश्चिम सेती परियोजनाको पलाएको आशा मरिसकेको प्रभावित क्षेत्रका सर्वसाधारणको बुझाइ छ । न परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउका ग्रामीण बस्तीमा विकास नै हुन सक्यो । डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको स्थानीयले बताए । “जनप्रतिनिधि आएपछि सडक, बत्ती, बाटोघाटो, विद्यालय भवन, खानेपानीजस्ता विकास निर्माणका काम हुन्छन् कि भन्ने लागेको थियो तर हाम्रा अन्य सपना पनि पश्चिम सेती परियोजनाजस्तै भयो,” उनीहरु भन्छन् ।
नवदुर्गा गाउँपालिका अध्यक्ष कवीन्द्र विष्ट भन्छन्, “पञ्चायतकालदेखि नै चर्चामा रहेको परियोजना वर्तमानमा समेत पूरा हुन सकेको छैन, हामी ससाना थियौं त्यति बेलादेखि चर्चामा आएको यो परियोजना अहिलेसम्म पनि बनेको छैन भन्नुपर्दा लाजमर्दो अवस्था छ ।” उनका अनुसास आयोजना बन्ने सुरसार नदेखिएपछि त्यस क्षेत्रमा नवदुर्गा गाउँपालिकाले सडक पु¥याएको छ भने अझै पनि बिजुली खानेपानी लगायतको समस्या छ ।
केही वर्षअघि नेपाल विद्युत् प्राधिकरण र चीनको थ्री गर्जेज इन्टरनेसनल कम्पनीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना संयुक्त लगानीमा बनाउने सम्झौता गरेपछि यस क्षेत्रका जनतामा आशा जागेको थियो । लगानी बोर्डले स्वीकृति दिएको सम्झौतामा हस्ताक्षर भएपछि यस क्षेत्रमा काम हुने आशा पलाए पनि पुनः निराशामै बाँच्नु परिरहेको स्थानीयको गुनासो छ । परियोजना निर्माण गर्न तीन दशकअघि केही काम भएर पछि विश्राम पाएको समयमा सरकारले फेरि अर्कै चिनियाँ कम्पनीसँंग गरेको सम्झौताले स्थानीयबासीलाई उत्साहित बनाए पनि वर्ष दिन नपुग्दै त्यो आशा पनि मरेको स्थानीयले बताए ।
करिब १ खर्ब ६० अर्ब रुपैयाँ लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने अपेक्षा छ ।