साल्ट ट्रेडिङङले चार्जिङ स्टेसन निर्माण गर्ने «

साल्ट ट्रेडिङङले चार्जिङ स्टेसन निर्माण गर्ने

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेसनले विद्युत्बाट चल्ने सवारीसाधनलाई लक्षित गर्दै चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएपछि कर्पोरेसनले चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो ।
कर्पाेरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले उपभोक्ताहरु विस्तारै विद्युतीय सवारीसाधनतिर आकर्षित भएको र सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिएका कारण चार्जिङ स्टेसन निर्माणको काम अगाडि बढाउन लागेको बताइन् । चार्जिङ स्टेसन निर्माणका लागि अध्ययन भइरहेको उनले जानकारी दिइन् । सरकारले अनुमति दिए चाँडै नै पेट्रोल पम्प पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले बताइन् ।
पछिल्लो समय बजारमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ । राष्ट्रिय योजना आयोगले हालै विद्युतीय गाडि सञ्चालनमा ल्याएको छ । विद्युतीय सवारी साधनको प्रयोगले बातावरण प्रदूषण कम हुनुका साथै इन्धनको खपत कम हुन्छ । साल्ट्र टेडिङ कर्पाेरेसनले आयोडिनयुक्त नुनको कारोबार गर्दै आएको छ । त्यस्तै खाद्यान्न, खाना पकाउने एलपीजी ग्यास र रासायनिक मलको समेत कम्पनीले कारोबार गर्दै आएको छ ।
कर्पाेरेसनले गत आर्थिक वर्ष ८ अर्ब ५८ करोड रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७५ करोड रुपैयाँ बढी कारोबार गर्न सफल भएको कर्पाेरेसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्