कफिन, रेमिट्यान्स र नेपाली अर्थतन्त्र

मुलुकलाई स्वाधीन र सम्पन्न बनाउने हो भने युवा निर्यात होइन, नेपाली वस्तु तथा सेवा निर्यात गरी विश्व बजारमा पु-याउनु अपरिहार्य देखिन्छ ।
हाल राष्ट्रिय दैनिक पत्रिकामा दैनिकजसो ‘सुटकेस बोक्ने ट्रलीमा कफिन’, ‘बन्द बाकसमा फिर्ता’ जस्ता समाचार प्रकाशित भइरहेका पाइन्छ । केही वर्ष अघिसम्म ‘कफिन’ शब्दको अर्थसँग धेरै नेपाली अनभिज्ञ थिए । यद्यपि रेमिट्यान्सका विषयमा सबैजसो नेपालीलाई थाहा छ । अझै प्रत्येक दिन झन्डै १ हजारको हाराहारीमा युवाहरू कामको खोजीमा विदेश पलायन भएका छन्, तर थोरैलाई थाहा छ, तिनै युवाहरू बन्द बाकसमा शवका रूपमा (कफिन) प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औसतमा सरदर ३ जना भित्रिन्छन् ।
विमानस्थलमा कफिन ओसार्न सजिलो हुने ट्रलीको व्यवस्था छैन । सरकार समृद्ध नेपाल सुखी नेपालीको एकोहोरो नाराको रटान दिइरहन्छ, तर अन्तर्राष्ट्रिय विमानस्थलमा सुटकेस ओसार्ने ट्रलीमा कफिन ल्याउनुपरेको छ । यो ज्यादै लज्जा र संवेदनहीनताको कुरा हो । त्यतिमात्र होइन, शोकविह्वल परिवारजनले शव बुझ्न विमानस्थल पुगेका बेला खेप्नुपर्ने सास्तीप्रति राज्य संयन्त्र भने विल्कुलै संवेदन शून्य र अमानवीय देखिन्छ ।
अलिकति प्रसङ्ग खोलौं, विदेशी भूमिका पसिना पोखेर आफ्नो परिवारको उज्ज्वल भविष्यको सपना साकार पार्न नारायणप्रसाद पोखरेल अबुधाबी गएका थिए । विधिको विडम्बना तिनै नारायण पोखरेलको २०७६ असोज १३ गते विदेशी भूमिमै काम गर्दाको अवस्थामै सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । मृतकको लास आउँदैछ भन्ने समाचार पाएपछि त्यो कफिन लिन नवलपरासीको शिवघाटबाट नारायणप्रसादका बुवा विनोद पोखरेल काठमाडौं आइपुगे ।
उनी यहाँ आइपुग्दा अत्यन्त भावविह्वल र शोकमा थिए । छिमेकी सञ्जीव खनाल र आफन्तको साथ लागेर उनी बिहानै साढे सात बजे विमानसथल पुगे । विमानस्थल पुगेका विनोदले त्यहाँ एकैछिन सुस्ताउने ठाउँ पनि पाएनन् । छटपटिँदै केही घण्टा कुरेपछि कफिन आइपुग्यो । कफिन बोक्ने हाम्रो विमानस्थलमा ट्रलीको व्यवस्था गरेको छैन । यस्तो अवस्थामा सानो ट्रलीमा कफिनलाई विमानस्थलबाहिर ल्याउनुपर्ने भयो । त्यस्तो ट्रली विनोदले कहिल्यै गुडाएका थिएनन् । दुईवटा ट्रलीमा कफिनलाई सन्तुलन मिलाएर यात्रुको भीडमा छिचोल्दै बाहिर निस्कँदा एक यात्रुको सुटकेसमा छोइयो । ती यात्रुले रिसाएभंैm गरेर उनलाई हेरे । विनोदले शोकको कुरा बताउँदै माफी मागे, ‘ट्रलीलाई सीधा गुडाउँदा ढोकामा कफिन ठोक्किँदो रहेछ । छड्के पारेर कफिनलाई बाहिर निकाल्दा गाह्रो हुँदो रै’छ ।’
मुलुकको अर्थतन्त्र खुन र पसिनासँग साटेको रेमिट्यान्सबाट सुरक्षित छ । तर, ती युवा आपैंm भने असुरक्षित छन् । वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अङ्गभङ्गको आयतन डरलाग्दो छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५-०६६ देखि २०७५-०७६ को वैशाखसम्म ७ हजार ४ सय ६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । यो तथ्याङ्क श्रम स्वीकृत लिएर जाने कामदारको मात्रै हो । अवैध बाटोबाट वैदेशिक रोजगारीमा जानेको संख्या पनि धेरै छ । तैपनि सरकारले वैदेशिक रोजगारलाई कहिले सुरक्षित बनाउने हो, यसै भन्न सकिने अवस्था छैन ।
आज पनि कतिपय अवस्थामा कुनै पनि दलितको श्रम र सीप चल्छ, तर पानी चल्दैन । त्यस्तै गरेर युवाले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर तिनै युवा विदेशमा मृत्यु हुँदा उनीहरूको मृत्युको कारण न खोजिएको छ, न ती मृतक युवाको लासलाई सहज हिसाबले आफन्तजनलाई बुझाइएको छ । मुलुक हँसिया र हथौडाको नेतृत्वमा सञ्चालित छ । सञ्चालित मात्र होइन, सरकार शक्तिशाली पनि छ । सम्भवतः यो सरकार जङ्गबहादुरको शासनकालपछिको शक्तिशाली सरकार हो । यो शक्तिशाली कम्युनिष्ट सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको छ, तर विदेशमा मृत्यु भएका युवाको लास ‘कफिन’ लाई सहज ढंगबाट आफन्तजनलाई बुझाउन सकेको छैन । यो ज्यादै लज्जाको विषय हो । शक्तिशाली सरकारले यो सानो संवेदनशील विषय हल गर्न सक्नुपथ्र्यो ।
राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विदेशमा मृत्यु हुने नेपाली कामदारको संख्या हरेक वर्ष वृद्धि भएको छ । १० वर्षमा मृतकको संख्या ८ सय प्रतिशतले बढेको छ । पछिल्लो पाँच वर्षयता हरेक दिनजसो ३ जना नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । यो संख्या बढ्दो दरमा छ । आर्थिक वर्ष २०६५-०६६ मा ९० जनाको मृत्यु भएकोमा २०७०-०७१ मा ८ सय ८८ पुगेको थियो । त्यस्तै गरेर २०७४-०७५ मा ८ सय २१ ले ज्यान गुमाएकोमा २०७५-०७६ को वैशाखसम्ममा ६ सय २५ जनाको मृत्यु भएको छ ।
मानवजीवनको सबैभन्दा गतिशील अवस्था युवा हो । युवा इतिहासका सर्जक, युगका अग्रगामी तागत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन् । त्यतिमात्र होइन, युवा आर्थिक उत्पादन र विकासका मेरुदण्ड पनि हुन् ।
युवा स्वयंमा कुनै वर्ग होइन । मानव जीवनको एउटा उमेर समूहको तप्का हो । माओले युवातर्पm संकेत गर्दै भनेका थिए, ‘संसार तिमीहरूको हो, किनकि तिमीहरू उठाउँदो सूर्य हौ भने हामी अस्ताउँदो ।’ तर, नेपालमा शासन सत्तामा गएका कम्युनिस्ट नेताहरू प्रचण्ड र ओलीले हिजो सडकमा हुँदा साम्राज्यवाद र विस्तारवादको विरुद्धमा लड्ने उद्घोष गरेका थिए । तर, आज तिनै मुलुकहरूमा नै हाम्रा युवाहरूलाई अत्यावश्यक आवश्यकता पूर्ति गर्नका लागि गुलाम बन्न बाध्य बनाएका छन् । यो ज्यादै दुःखको कुरा हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सन् २००८-०९ देखि २०१४-१५ सम्म वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारमध्ये २१.८ प्रतिशतको मृत्युको कारण मुटुरोग, १९.६ प्रतिशतको सामान्य मृत्यु र १८.६ प्रतिशतको मृत्यको कारण नखुलेको देखिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको अंगभंग र मृत्युमाथि विश्लेषण गर्दै सन् २०१६ को एसिया प्यासिफिक जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित अध्ययन प्रतिवेदनले नेपाली कामदारको मृत्युलाई अस्वाभाविक ठानेको छ ।
सर्वोच्चले कामदारको मृत्यु भए पोस्टमार्टमको व्यवस्था अनिवार्य नगरी गन्तव्य मुलुकसँग श्रम सम्झौता नगर्न समेत भनेको छ । अहिले पनि खाडी मुलुकहरूमा हाम्रा युवाहरू कामदारका रूपमा अस्वाभाविक मृत्यु हुँदा पोस्टमार्टम गर्न नपाउने स्थिति कायमै छ । ती मुलुकहरूबाट शव ल्याउन महिनौं लाग्ने गरेको छ । अनेकौं कठिनाइसित जुधेर फिर्ता भएको शव पनि सजिलो तरिकाबाट आफन्तले बुझ्न पाइरहेका छैनन् । यो कस्तो संवेदनहिनता हो ?
सरकारले युवालाई विदेश पठाएर गर्व गर्नेभन्दा पनि देशभित्र रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्छ । सरकारले पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने परिस्थिति अन्त्य गर्ने घोषणा गरेको छ । तर, त्यसको कार्यान्वयन सरकारले कुनै योजना बनाएको छैन । मुलुकको समृद्धिको सूत्र रेमिट्यान्स होइन । रेमिट्यान्सले परनिर्भरता बढाउने गर्छ । जुन देशले युवाहरूको परिश्रम, सीप, क्षमता प्रयोग गर्न सक्दैन । तबसम्म मुलुक समृद्ध हुन सक्दैन । देश चलाउने मुख्य चालक शक्तिलाई देशमै रोजगारी सिर्जना गर्नुको सट्टा रेमिट्यान्सबाट देश चलाउने घृणित नालायक नीतिले देश संसारकै सबैभन्दा कंगाल राष्ट्रका रूपमा दर्ज भएको छ । तसर्थ मुलुकलाई स्वाधीन र सम्पन्न बनाउने हो भने युवा निर्यात होइन, नेपाली वस्तु तथा सेवा निर्यात गरी विश्व बजारमा पु-याउनु अपरिहार्य देखिन्छ ।
अन्त्यमा सरकारले आर्थिक वर्ष २०७६-०७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष तिनै युवाले पठाएको रेमिट्यान्स पौने ९ अर्ब छ । समृद्धि उडानमा आपूmलाई कुशल पाइलटका रूपमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरी झापा त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्र–५ को दमकमा भ्यू टावर निर्माण सुरु गर्न, मुलुककै ठूलो ओद्योगिक क्षेत्र निर्माण गर्न, प्रदेशकै ठूलो सभाहल बनाउन, विश्वकै अग्लो बुद्धमूर्ति बनाउन, ठूला–ठूला सडकहरू निर्माण गर्ने लगायत अनेकन परियोजना पुरा गर्न ६४ अर्बबराबरको लगानी स्वीकृत गराएका छन् । तर, विदेशमा काम गर्ने सवालमा मृत्यु भएर आएको तिनै युवाको शव ‘कफिन’लाई राखेर बाहिर निकाल्ने ट्रलीलाई केही लाख बजेट विनियोजनको व्यवस्था गर्न सक्दैनन् हाम्रा प्रधानमन्त्री ।
युवाहरूले प्रधानमन्त्रीको कामको मूल्यांकन गर्ने बेला आएको छ ।