Logo

एक सय ४२ जनालाई १० करोड वितरण

विदेश रोजगारीमा दैनिक तीन नेपालीको मृत्यु

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये साउनमा मात्रै एक सय ४२ नेपाली श्रमिकले सरकारबाट १४ करोड बढी आर्थिक सहायता लिएका छन् । यो संख्यालाई औषतमा हिसाब गरिँदा विदेश रोजगारीमा रहेका दैनिक औषत तीन जना बढी नेपालीको मृत्यु हुने गरेको देखिएको हो ।

वैदेशिक रोजगार बोर्डको चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा मृत्यु भएका १४२ श्रमिकका आफन्तले लगभग १४ करोड २० रुपैया आर्थिक सहायता लिएका हुन् । हाल सरकारले रोजगारीका क्रममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका क्रममा मृत्यु भएका श्रमिकका आफन्तलाई जनही १० लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएको छ ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनो तथ्यांकमा श्रम स्वीकृति लिएर रोजगारका लागि विदेश पुगेकामध्ये मासिक औषत एक सय ४२ जनाको मृत्यु हुने गरेको देखिएको हो । यो संख्या विगतका वर्षका औषत एक सय १० थियो । गत वर्ष विदेशमा मृत्यु हुने श्रमिकका नाममा दिइने आर्थिक सहायता वृद्धि गरेसँगै आफन्तले बोर्डबाट कानुनअनुसार पाउने आर्थिक सहायताको भारसमेत बढेको छ ।

आर्थिक सहायताको लिनेको आधारमा विदेशमा मृत्यु हुने नेपालीको संख्या निकालिँदै आए पनि आर्थिक सहायता नपाउने मापदण्डमा परेकाको संख्या हेर्ने हो मृतकको संख्या बढ्ने देखिन्छ । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भए यसअघि सात लाख आर्थिक सहायता दिइँदै आएकामा हाल बढाएर १० लाख रुपैयाँ पुर्‍याएको बताए ।

बोर्डले यसरी दिने आर्थिक सहायताको भार सम्बन्धमा समिति बनाएर अध्ययन भइरहेको र श्रमिकको सेवा–सुविधा बढाउनेबार पनि छलफल भइरहेको उनको भनाइ छ । यसैगरी यो अवधिमा रोजगारका क्रममा विदेशमा विभिन्न कारणले मृत्युको मुखमा पुगेर अंगभंग भएका ९० जना श्रमिकले पनि आर्थिक सहायता लिएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली र त्यहाँ मृत्यु हुने नेपालीको औषत संख्या विगत लामो समयदेखि घट्न सकेको छैन । मेडिकलमा विभिन्न चरण पार परेर जाने स्वस्थ नेपालीको विदेशमा मृत्युबारे खासै अध्ययन भएको छैन । औद्योगिक दुर्घटना, आत्महत्या, हर्ट अट्याक, सडक दुर्घटना आदिका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेको विवरण धेरै आउने गरे पनि कारणबारे अध्ययन नभएको हो ।

रोजगार खोजीमा विदेश जाने युवाको संख्या बढेसँगै गन्तव्य मुलुकमा मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ । तर, साउनको तथ्यांकले अझ बढ्ने देखिन्छ । श्रम स्वीकृति र सर्तसहितका स्वास्थ्य परीक्षण गरेर गएका नेपालीको मृत्यु हृदयघात, सडक दुर्घटना, औद्योगिक दुघटना तथा आत्महत्यालगायका कारणले बढी हुने भए पनि यसबारे खासै बाहिर विवरण ल्याइने गरेको पाइँदैन ।

यसरी मृत्यु हुनेमध्ये मृत्युको कारण पत्ता नलाग्नेको संख्या पनि धेरै रहेको छ । रोजगारका लागि विदेश जाने १८ वर्षदेखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा कति संख्याका युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन सरकारले गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्