किसानको मनमा फाटेको धाँजा

‘आँखा बर्स्यो भुइँ भिज्यो तर रोपाइँ भएन
यो वर्ष पनि मेरो मनको खेत बाँझै रहने हो कि
सबै मिल्यो, कर्मैले साथ दिएन ।’
– गायिका तारादेवी
सुप्रसिद्ध गायिका तारादेवीले गाएको यो गीतमा उनको मनको खेत बाँझै रहने हो कि भन्ने चिन्ता छ । तर, यतिखेर भने देशभरका किसान आफ्नो धानखेत बाँझै रहने हो कि भनेर चिन्तित छन् । असारमै हुनुपर्ने रोपाइँ पानीको अभावमा साउन बितिसक्दा पनि हुन नसक्दा किसान चिन्तित छन् । मनको खेत बाँझो हुनु र धानखेत बाँझो हुनुमा तात्विक भिन्नता छ । मनको खेत बाँझो रहँदा मायाको संसार उजाड हुन्छ भने धानखेत बाँझो रहँदा धरतीमात्रै उजाड हुँदैन, मान्छेको जीवन नै संकटमा पर्छ ।
रोपाइँका लागि सबैभन्दा बढी आवश्यक छ, पानी अर्थात् सिँचाइ । हाम्रो देशमा झन्डै ६ हजारभन्दा बढी साना–ठूला खोला र नदीहरू छन् । जसबाट वर्षैभरि सम्पूर्ण कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने सम्भावना छ । तर विडम्बना नै भन्नुपर्छ, राज्यको अकर्मण्यताले गर्दा खोला र नदीको पानी बगेर खेर गइरहेको छ, तर किसानलाई भने खेतीका लागि आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ । पानीकै अभावमा किसानहरू रोपाइँ गर्न नपाएर चिन्तित मुद्रामा आकाश हेरिरहेका छन् र पुकार गरिरहेका छन्, ‘हे देवराज इन्द्र, हामीलाई पानी देऊ ।’
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो । यस्तो खुबर सुनेर खुसी भएका थिए, देशभरका कर्मशील किसानहरू । देशको पूर्वी क्षेत्रबाट मनसुन भित्रिँदै गर्दा किसानहरू हर्षित थिए । तर, त्यो खुसी धेरै दिन टिक्न सकेन ।
जुन देशमा सिँचाइको पर्याप्त व्यवस्था छैन अथवा सिँचाइ प्रणाली पर्याप्त र व्यवस्थित छैन, त्यहाँ खेतीका लागि आकाशे पानीमै भर पर्नुपर्छ । खेतीका बेला सिँचाइका लागि आकाश हेर्दै टोलाउँदै गरेका किसानलाई सरदरभन्दा बढी वर्षा हुने खबर नै खुसी हुनका लागि पर्याप्त थियो । तर, साउन बितिसक्दा रोपाइँका लागि पर्याप्त पानी नपर्दा किसानहरू अन्योलमा छन् ।
रेडियोले फुकेको र अरू धेरै सञ्चारमाध्यममा आएको यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने खबर साँचो हो कि झूटो भन्ने छुट्ट्याउन नसकेर विलखबन्दमा छन् किसानहरू । आकाश हेर्दै पानीको आस गरिरहेका छन् । सरदरभन्दा बढी वर्षा हुन्छ भनेको बेलामा चाहिनेजति पनि वर्षा नहुनु कम उदेकलाग्दो छैन । कस्तो अवैज्ञानिक अनुमान गर्छन् जल तथा मौसम विज्ञान विभागका विज्ञहरू ! वैज्ञानिक पद्धतिमा टेकेर मौसमको अनुमान गर्छन् कि हचुवामै ठोकिदिन्छन् ? पानीको अभावमा रोपाइँ गर्न नपाएर पीर मानिरहेका किसानहरू विज्ञहरूप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।
विज्ञहरूले पनि आकाशमा कालो बादल देखेर पानी पर्छ भन्छन् कि आकाशमा कालो बादल नदेखेर मौसम सफा रहनेछ भन्छन् ? जुन दिन पानी पर्छ भन्छन्, त्यही दिन झलमल्ल घाम लाग्छ । पानी पर्दैन । जुन दिन मौसम सफा रहनेछ भन्छन्, त्यही दिन भारी वर्षा हुन्छ । किन फेल खाइरहेछ विज्ञहरूको अनुमानले ? विज्ञान नै फेल भएको हो कि, हाम्रा विज्ञहरू फेल खाएका हुन् ?
पानी पर्ला । रोपाइँ गरौँला । प्रशस्त धान उत्पादन गरौँला । घरव्यवहार चलाऔँला । चाडपर्व मनाऔँला । छोरीचेली बोलाऔँला । रमाइलो गरौँला । छोराछोरीलाई पढाऔँला । उनीहरूको भविष्य उज्ज्वल बनाऔँला भनेर सपना देख्ने किसानहरू बिलखबन्दमा छन् । उनीहरूको सपना बिलखबन्द भएको छ ।
पानी नपरेर खेतमा धाँजा फाटेको छ । त्यो देखिने धाँजा हो । त्योभन्दा बढी नदेखिने धाँजा फाटेको छ हजारौँ किसानका मनमा । पीडा छ किसानका मनमा । चिन्ता छ, किसानका मनमा ।
दुनियाँले के–के व्यवस्था गरिसके । के–के विकास गरिसके । के–के आविष्कार गरिसके । खडेरीका बेला कृत्रिम वर्षा (क्लाउड सिडिङ) गराएर जमिनमा हरियाली ल्याउन थालिसके । कृत्रिम वर्षाकै माध्यमबाट खेती गर्न सम्भव तुल्याइसके । हाम्रो देशमा चाहिँ खोलाबाट खेतसम्म पानी पुर्याउने कुलो पनि पर्याप्त बनाउन सकेको छैन सरकारले । देशमा सरकार छ । सरकार मातहतको सिँचाइ विभाग छ । तर, कृषिप्रधान देशमा कृषिका लागि सिँचाइको ठूलो महत्व छ भन्दै बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउन किन चुकेको छ सिँचाइ विभाग अर्थात् हाम्रो सरकार ?
सिँचाइका ठूल्ठूला परियोजना सञ्चालित छन् । राष्ट्रिय गौरवका सिँचाइ परियोजना पनि छन् । तर, ती परियोजनाले किसानका खेतमा पानी पुर्याउँदैनन् । ती त राजनीतिक दलका नेता र कार्यकर्ताका आफ्ना मान्छेलाई जागिर दिलाउने ठाउँ मात्रै बनेका छन् । भ्रष्टाचारको केन्द्र मात्रै बनेका छन् । त्यसैले किसानहरू चाहिँ असारमै गर्नुपर्ने रोपाइँ साउन बित्दा पनि गर्न नपाएर थाप्लोमा हात लगाएर चिन्ताग्रस्त अवस्थामा छन् ।
देशभर १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर जमिनमा बर्खे धान रोपाइँ हुन्छ । साउन २५ सम्ममा १२ लाख ५४ हजार ८ सय ८६ हेक्टर जमिनमा मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता केन्द्रले जनाएको छ । जसअनुसार ९१ प्रतिशत मात्रै रोपाइँ भएको देखिन्छ ।
राष्ट्रिय अर्थतन्त्रमा धानको ठूलो महत्व छ भन्छन् अर्थविद्हरू । कुल कृषि उत्पादनमा धानको योगदान करिब १५ प्रतिशत छ भने समग्र कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान करिब ५ प्रतिशत रहेको अनुमान छ । धान उत्पादनमा १० प्रतिशत वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा थप १ प्रतिशतको वृद्धि हुन्छ भन्छन् अर्थविद्हरू । तर, यसपालि पर्याप्त वर्षा नभएर समयमा रोपाइँ हुन नसक्दा धान उत्पादन १५ देखि २० प्रतिशत घट्ने अनुमान गरेको छ कृषि मन्त्रालयले नै । साउन २५ सम्ममा मधेस प्रदेशका आठ जिल्लामा ७६.५ प्रतिशत रोपाइँ भएको छ । अरू केही दिन रोपाइँ गर्न सके करिब ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान सरकारको छ । ढिलो रोपाइँका कारण सरकारले मधेस प्रदेशमा २७ प्रतिशतसम्म धान उत्पादन घट्ने अनुमान गरेको छ ।
नेपालको अन्न भण्डार हो, मधेस प्रदेश । तर, समयमा पर्याप्त वर्षा नहुँदा मधेस प्रदेशमै पूरा रोपाइँ हुन सकेको छैन । मधेस प्रदेशमा समयमा रोपाइँ नभए धान उत्पादन गम्भीर रूपमा प्रभावित हुन्छ । यो अवस्थामा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा प्रत्यक्ष असर पर्छ । कुल गार्हस्थ्य उत्पादन पनि घट्छ । अर्थतन्त्र कमजोर बन्छ । धानचामलको आयात बढ्छ । वैदेशिक व्यापारघाटा बढ्छ । यसबाट फेरि अर्थतन्त्रमा नकारात्मक असर पर्छ र अर्थतन्त्र कमजोर बन्छ ।
वैदेशिक व्यापारघाटा बढ्यो भनेर चिन्ता त गर्छ सरकारले । तर, स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने कुरामा किन गम्भीर बन्दैन सरकार ? स्वदेशी उत्पादन वृद्धिका लागि के–के गर्नुपर्छ भनेर किन सोच्दैन सरकारले ? कृषिलाई उपेक्षा गर्ने । किसानलाई रुवाउने । उद्योगधन्दा मास्दै जाने । राजस्वको लक्ष्य पूरा गर्ने हेतु आयातलाई मात्रै बढावा दिने । यसैगरी अर्थतन्त्र सबल हुन्छ ? आर्थिक समृद्धि हासिल हुन्छ ?
पानी पर्ला कि भन्दै खेतको आलीमा उभिएर आकाश ताक्दाताक्दै किसानका आँखा टट्टाइसके । ब्याडमा लगाइएको धानको बीउ सुक्न थालिसके । जसोतसो रोपिएको रोपो पनि धमाधम सुक्न थालिसके । समयमै रोपाइँ हुन सकेको भए र पानी परिरहेको भए यतिखेर धानको रोपो हलक्क बढिसक्थ्यो । अर्को दुई¬–तीन महिनामा धानको बोटले बताससँगै बयली खेल्थ्यो । कात्तिक–मंसिरमा सुनजस्ता धानका बाला लहलह झुल्थे । किसानको मनमा खुसीले बयली खेल्थ्यो । किसानको मन पनि खुसीले लहलहाउँथ्यो । तर पानी नपरेर रोपाइँ नहुँदा किसानको मनमा चिन्ता मात्रै छ ।
यतिखेर तारादेवीको गीतले ‘सबै मिल्यो, कर्मैले साथ दिएन’ भनेझैँ भएको छ किसानहरूलाई । खेत खनजोत गरे । बीउ तयार पारे । दुःखसुख गरी मलखाद पनि तयार पारे । तर पानी नपर्दा रोपाइँ गर्न पाएनन् । सबै मिल्यो, वर्षाले साथ दिएन । वर्षा भइदिएको भए किसानहरू रमाउँदै रोपाइँ गरिरहेका हुन्थे । मानो रोपेर मुरी उब्जाउने सपना देखिरहेका हुन्थे । खेतखेतमा किसानको सपनासँगै देशको पनि सपना फुलिरहेको हुन्थ्यो, झुलिरहेको हुन्थ्यो ।
विडम्बना ! पानी नभएर धानखेतमा धाँजा फाटेका छन् । धाँजा फाटेको धानखेत हेरेर किसानको आफ्नै मनमा पनि धाँजा फाटेको छ । धानखेतमा धाँजा फाटेको नदेख्ने सरकारले किसानको मनमा धाँजा फाटेको कहिले देख्ने हो ? सुक्न लागेको धानको रोपोमा किसानले बोत्तलबाट पानी हाल्दै गरेको मार्मिक दृश्यले पनि छोएको छैन सरकारलाई । सरकार साँच्चै संवेदनहीन छ । जवाफदेहीविहीन छ । खडेरीग्रस्त मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर निश्चिन्त बसेको छ सरकार । संकटग्रस्त क्षेत्र घोषणा गरेपछि तत्कालै राहत र दीर्घकालीन रणनीतिका कार्यक्रम ल्याउनुपर्नेमा आफ्नो कर्तव्य बिर्सेर बसेको छ सरकार ।
रातो कार्पेटमा टेकेर धान दिवसमा धान रोप्न जान्छन् र गमलामा धान रोपेर धान दिवस मनाउँछन् कृषिमन्त्री र राजनीतिक दलका ठूला नेताहरू । अनि धान दिवसको नारा फलाक्छन्, ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ । यति गहकिलो नारा फलाक्ने सरकार कृषि र किसानको समस्यामा किन गम्भीर बन्दैन ? कृषिको महत्वलाई बुझेर, पर्याप्त सिँचाइको व्यवस्था गरेर रोपाइँलाई सहज बनाउने प्रयास किन गर्दैन ? पर्याप्त मल आपूर्तिको व्यवस्था किन गर्दैन ? रोपाइँकै मुखमा किसानले मलका लागि किन आन्दोलन गर्नुपर्छ ? किसान उपेक्षित हुँदा र समयमा रोपाइँ नहुँदा धान उत्पादन घट्दै छ । अन्य उत्पादन पनि घट्दै छ । अन्न नै नभए के खाएर बाँच्ने ? रुपैयाँ–पैसा खान मिल्दैन । कमसेकम यति सद्बुद्धि आओस् हाम्रो सरकार र नेताहरूमा ।