मनसुनको जोखिमः बाढी तथा पहिरोको प्रभाव

मनसुन, दक्षिण एसियाली जलवायु प्रणालीको एक अभिन्न अंग हो । जसले यस क्षेत्रको कृषि, जलस्रोत र समग्र जीवनशैलीमा महत्वपूर्ण प्रभाव पार्छ । नेपालजस्तो भौगोलिक विविधता भएको देशका लागि मनसुन एकातर्फ वरदान हो भने अर्कातर्फ विनाशको कारक पनि बन्न पुग्छ । मनसुनी वर्षाले कृषि उत्पादनका लागि आवश्यक पानी प्रदान गर्छ, जसले गर्दा जलविद्युत उत्पादनमा सघाउँछ र भूमिगत जलस्रोतको पुनर्भरण गर्छ ।
तथापि, यही मनसुनी वर्षा जब अतिवृष्टि वा खण्डवृष्टिको रूपमा देखा पर्छ, तब यसले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपहरू निम्त्याउँछ, जसले ठूलो जनधनको क्षति पुर्याउँछ । देशको भू–धरातलीय स्वरूप, कमजोर भौगर्भिक अवस्था, अव्यवस्थित बसोबास, वनविनाश र जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्को जोखिम झनै बढेको छ । हरेक वर्ष मनसुनको समयमा देशका विभिन्न भाग बाढी र पहिरोको चपेटामा पर्ने गरेका छन् । जसले हजारौँ मानिस विस्थापित हुन्छन्, सयौँले ज्यान गुमाउँछन् र अर्बौंको भौतिक सम्पत्ति नष्ट हुन्छ ।
यस अर्थमा भन्ने नै हो भने सामान्यतया देशमा मनसुनका कारण सिर्जित बाढी तथा पहिरोको जोखिम, यसका विविध प्रभाव, न्यूनीकरणका प्रयास र भविष्यको मार्गचित्रबारे विस्तृत रूपमा चर्चा गरिन्छ । फलतः मौसमी चेतावनी एक सरल सूचनाजस्तो देखिए पनि यसले हजारौँ मानिसको जीवन बचाउन सक्ने प्रभाव राख्छ । नेपालजस्तो भौगोलिक जटिलता भएको राष्ट्रमा चेतावनी प्रणाली केवल मौसम विभागको जिम्मेवारी मात्र होइन । यो सम्पूर्ण राज्यसंयन्त्र, नागरिक समाज र समुदायको साझा जिम्मेवारी हो । यो चेतावनी मात्र पर्याप्त होइन, त्यो चेतावनीलाई समयमै बुझ्ने, स्वीकार गर्ने र त्यसअनुसार कदम चाल्न सक्ने अवस्था बनाउनु आजको आवश्यकता पनि हो । प्रविधि, शिक्षा र योजनाबद्ध कार्यद्वारा मात्रै हामी मौसमी प्रकोपहरूप्रति सुरक्षित रहन सक्छौँ । त्यसैले, सतर्कता नै सुरक्षा हो भन्ने भावनाका साथ चेतावनीलाई जीवनरक्षाको पूर्वसर्तका रूपमा लिनु जरुरी छ ।
सामान्यतया नेपालमा मनसुन जुनको दोस्रो हप्तादेखि सुरु भई सेप्टेम्बरको अन्त्यसम्म रहन्छ । हिन्द महासागरबाट बहने जलवाष्पयुक्त हावा हिमालय पर्वत शृङ्खलासँग ठोक्किएपछि माथि उठ्छ र चिसिएर वर्षाको रूप लिन्छ । यो मौसमी वर्षा देशको कुल वार्षिक वर्षाको लगभग ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ । यसले गर्दा मनसुनको सक्रियता, वर्षाको मात्रा र वितरण स्थानअनुसार फरक–फरक हुन्छ । यसले कहिलेकाहीँ मनसुन चाँडै सुरु हुने वा ढिलोसम्म रहने पनि हुन सक्छ । जसले विपद्को जोखिमलाई थप बढाउँछ । मौसमी चेतावनी प्रणाली भनेको खतरा आउनुभन्दा अगाडि नै सटीक जानकारी, विश्लेषण र पूर्वानुमान गरी सम्बन्धित क्षेत्रका बासिन्दा र प्रतिक्रिया गर्ने निकायहरूलाई समयमै सूचना दिने, तिनीहरूलाई तयार गराउने र कारबाही गर्न सक्ने बनाउने प्रक्रिया र सुविधाहरूको समुच्चय हो । यसको मुख्य उद्देश्य ज्यान जोगाउने, चोटपटक घटाउने, सम्पत्तिको क्षति कम गर्ने र प्रतिक्रिया गर्ने क्षमता बढाउने हो । नेपालमा बाढी आउनुका मुख्य कारणहरू निम्न प्रकारका छन्, जसलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
अतिवृष्टिः छोटो अवधिमा हुने अत्यधिक वर्षाले नदीनालाहरूमा पानीको सतह ह्वात्तै बढाउँछ । जसले गर्दा नदीहरूले आफ्नो बहाव क्षेत्र नाघेर आसपासका क्षेत्रमा पस्दा बाढीको स्थिति सिर्जना हुन्छ ।
भू–धरातलीय स्वरूपः नेपालको उत्तरी भागमा उच्च हिमाली र पहाडी क्षेत्र छन् भने दक्षिणी भागमा समथर तराई प्रदेश छ । पहाडी क्षेत्रमा भिरालो जमिन र कमजोर चट्टानका कारण पानी सजिलै बगेर तराईमा पुग्छ र नदीहरूको बहाव तीव्र बनाउँछ ।
नदी प्रणालीः नेपालमा कोसी, गण्डकी, कर्णाली, महाकालीजस्ता ठूला नदी प्रणालीहरू छन्, जसका सयौँ सहायक नदी छन् । यी नदीहरूको जलाधार क्षेत्र ठूलो हुनाले माथिल्लो तटमा भएको भारी वर्षाले तल्लो तटमा विनाशकारी बाढी ल्याउन सक्छ ।
वनविनाश र भू–क्षयः रुखबिरुवाले पानीको बहावलाई नियन्त्रण गर्ने र माटोलाई समातेर राख्ने काम गर्छन् । यसरी वन विनाशले गर्दा पानी सोस्ने क्षमता घट्छ, भू–क्षय बढ्छ र नदीहरूमा गेग्रान (माटो, ढुङ्गा, बालुवा) को मात्रा बढ्छ । यसले नदीको सतहलाई उकास्छ र बाढीको जोखिम बढाउँछ ।
अव्यवस्थित बसोबास र पूर्वाधार निर्माणः मानवहरूले खासगरीकन नदी किनार, खोलाको बगर तथा जोखिमपूर्ण क्षेत्रमा अव्यवस्थित रूपमा घर तथा अन्य भौतिक संरचनाहरू निर्माण गर्नाले बाढीको क्षति बढ्छ । सडक, पुलजस्ता पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक बहावलाई ध्यान नदिँदा पनि बाढीको समस्या देखिन्छ ।
जलवायु परिवर्तनः जलवायु परिवर्तनका कारण वर्षाको प्रवृत्तिमा फेरबदल आएको छ । यसमा पनि अतिवृष्टि र खण्डवृष्टिका घटनाहरू बढेका छन् । जसले बाढीको जोखिमलाई थप जटिल बनाएको छ ।
ताल फुट्नुः हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम बढेको छ । जसले गर्दा हिमतालको आकार बढ्दै गएको छ । यी तालहरू विभिन्न कारणले फुट्दा तल्लो तटीय क्षेत्रमा आकस्मिक र विनाशकारी बाढी आउन सक्छ ।
हाम्रो देशको भौगोलिक बनोटका कारण अधिकांश जिल्ला बाढी र पहिरोको ठूलो जोखिममा रहेका छन्, जसमा तराई प्रदेशमा विशेष गरी कोसी, गण्डकी, कर्णाली, महाकाली, कमला, बाग्मती, राप्तीजस्ता ठूला नदीहरूको तल्लो तटीय क्षेत्रहरू बाढी र डुबानको उच्च जोखिममा छन् । त्यसरी नै चुरे क्षेत्रको अव्यवस्थित दोहनले गर्दा तराईमा बाढीको प्रकोप झनै बढेको छ । त्यस्तैगरी पहाडी प्रदेशमा महाभारत पर्वत शृङ्खला र मध्यपहाडी क्षेत्रका भिराला जमिनहरू पहिरोको उच्च जोखिममा रहेका छन् । यसमा पनि विशेष गरी नदी किनारका बस्तीहरू, कमजोर भू–बनोट भएका क्षेत्रहरू र अव्यवस्थित सडक निर्माण गरिएका ठाउँहरू बढी प्रभावित हुन्छन् ।
सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, नुवाकोट, मकवानपुर, काभ्रे पलान्चोक, दोलखा, रामेछाप, बाग्लुङ, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, अछाम, डोटी, बझाङ, बाजुराजस्ता जिल्लाहरू पहिरोबाट बढी प्रभावित हुने गरेका छन् । त्यस्तै उच्च हिमाली प्रदेशमा पनि हिमपहिरो र हिमताल विस्फोटन (जीएलओ) को जोखिम रहन्छ, जसले तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी निम्त्याउन सक्छ । नेपालजस्तो प्राकृतिक विविधता भएको देशका लागि मौसमी चेतावनी प्रणाली मात्र सरकारी जिम्मेवारी होइन । यो सामूहिक उत्तरदायित्व पनि हो । यसलाई जनस्तरमा चेतना, प्रविधिको पहुँच, संस्थागत समन्वय र स्थानीय सहभागितामार्फत नेपालमा मौसमी चेतावनीप्रति सतर्कता अभिवृद्धि गर्न सकिन्छ । यसमा पनि समयमै सतर्कता अपनाएर हामी प्राकृतिक विपत्तिबाट जनधनको रक्षा गर्न सक्छौँ । यस्तो प्रणाली सुदृढीकरणले दिगो विकास लक्ष्य (एसडिजी) प्राप्तिमा समेत महत्वपूर्ण टेवा पुर्याउनेछ ।
नेपाल सरकारले प्रकाशित गरेको आँकडाअनुसार गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल जम्माजम्मी २ हजार ६ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट ४ हजार ७ सय २५ घरपरिवार प्रभावित भएका छन् । जुन विपदका घटनामा परेर १ सय १७ जनाको ज्यान गएको छ भने ५ सय ६४ जना घाइते भएका छन् । तथापि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य १ सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । यसरी बाढीबाट १ हजार ३ सय १३ घरपरिवार प्रभावित भएका छन् ।
सोही प्राधिकरणको विवरणअनुसार पहिरोका कुल २ सय ८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् । यस्तै, भारी वर्षाका कारण १ सय ७४, चट्याङका २ सय ४४, सर्पदंशका ७४, आगलागीका १ हजार ६६, वन डढेलोका १ सय ५८, हावाहुरीका २ सय ७६, जनावर आक्रमणका १ सय ५३, लेक लागेर ४१, भूकम्पका ५ घटना भएका छन् । यसका साथसाथै विपद्जन्य घटनाका कारण ४ हजार ७ सय २५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।
समग्रमा भन्नुपर्दा, नेपालको भौगोलिक र जलवायुगत जटिलताले मौसमी आपदहरूबाट पूर्ण रूपमा बच्न असम्भव बनाएको छ । तर, राम्रो संगठित र प्रभावकारी मौसमी चेतावनी प्रणाली र त्यसप्रति सचेत र सतर्क रहने संस्कृतिले मानवीय क्षति र आर्थिक हानिलाई घटाउन सक्छ । यसको सफलता केन्द्र, प्रदेश र स्थानीय सरकार, प्राविधिक संस्थाहरू, सुरक्षा संस्था, गैरसरकारी संस्था, मिडिया, विद्यालय र सबैभन्दा महत्वपूर्ण, प्रत्येक व्यक्ति र समुदायको समन्वित प्रयास, जिम्मेवारी र कार्यान्वयनमा निर्भर गर्छ । जुन चेतावनी प्रणालीले सूचना दिन्छ ।
तर, जीवन बचाउने काम सतर्कताले मात्र गर्छ । यसमा अघि सचेत भएको भएपछि पछुताउनु पर्दैन भन्ने नेपाली उखानले यसैलाई जोड दिन्छ । मूलतः मनसुन नेपालको जीवनरेखा भए तापनि यसले निम्त्याउने बाढी र पहिरोजस्ता प्रकोपहरू विकासको प्रमुख चुनौतीका रूपमा रहेका छन् । यी प्रकोपहरूबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न एकीकृत, समन्वयात्मक र दिगो प्रयासको खाँचो छ ।