Logo

जाडोयाममा चिसोबाट बचौं र चेतना जगाऔं

जाडोयाममा दमको रोग भएका रोगीलाई विशेष निगरानी गर्नुपर्छ । दम रोगीलाई वातावरण अनुकूल बनाएर न्यानो लुगा लगाइदिनुपर्छ । खानपानमा पनि विशेष ध्यान पु-याउनुपर्छ ।

नेपाल एक मिश्रित हावापानी पाइने देश हो । नेपाल भौगोलिक विविधताले युक्त देश भएकाले यहाँ विभिन्न किसिमको हावापानी पाइन्छ । विषेशतः असोज, कात्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा दिन छोटो हुने र रात लामो हुने गर्छ । ढिलो सूर्याेदय हुने र चाँडो सूर्यास्त हुने भएकाले ती महिनामा बढी जाडो हुने गर्छ । यस्तो अवस्थामा बालबच्चा, वृद्धवृद्धा अनि सुत्केरी महिला, गर्भावस्थामा रहेका महिला सबैको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ ।
जाडोयाममा दमको रोग भएका रोगीलाई विशेष निगरानी गर्नुपर्छ । दम रोगीलाई वातावरण अनुकूल बनाएर न्यानो लुगा लगाइदिनुपर्छ । खानपानमा पनि विशेष ध्यान पु-याउनुपर्छ । जाडोयाममा झोलिलो कुरा बढी खानुपर्छ । साना केटाकेटीलाई तोरीको तेल लगाइदिएर शरीर ढाक्ने लुगा लगाई कोइलाको रापले सेकताप गर्नुपर्छ ।
हामीले कतिपय ठाउँमा सुनेका छौं कि जाडोयाममा विभिन्न कारणले मानिसको अकालमा निधन हुने गरेको छ । त्यसैले यस समयमा विद्युतीय सामग्रीको बढी खपत हुने र कतिपयलाई यसको उचित प्रयोग थाहा नहुने हुँदा आगलागी हुने सम्भावना बढेर गएको छ । यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
कतिपय मानिसले आफ्नो कोठा, घरलाई न्यानो बनाउन कोठाभित्र रातभरि कोइला बालेर ताप्ने, हिटर बालेर ताप्ने अनि त्यसलाई बन्द नगरी सुत्ने गरेको पाइन्छ, जसले गर्दा ठूलो दुर्घटना हुने र कोठा आगलागी हुने तथा कोठामा गुम्सिएर मानिसको मृत्युु हुने गरेको पनि छ ।
जाडोयाममा मानिसलाई नुहाउनका लागि निकै समस्या हुन्छ । मानिसले नुवाइधुवाइमा आजभोलि गिजरको प्रयोग बढाएका छन्, जसको उचित प्रयोग गर्न नजान्दा मानिसले अकालमा ज्यान गुमाउँछन् । बाथरुमको प्रयोग गर्दा धेरै कुराको ध्यान दिनु जरुरी छ ।
तातो पानीबाट निस्कने बाफ र शरीरको तातोपनबाट निस्किएको बाफ अनि गिजरले तताएको पानीको बाफ निकास हुने ठाउँ नहुँदा नुहाउन पसेको मानिसलाई चाहिने अक्सिजनको कमी हुन जान्छ र बाथरुमभित्र सास फेर्न गा-हो भई मानिसको मृत्युुसमेत हुन सक्छ । त्यसैले जाडो मौसममा हामीले आफ्नो दैनिकीमा विशेष ध्यान दिनुपर्छ ।
हामीले कोठामा हिटर, कोइला बाल्दा र ग्यास गिजरको प्रयोग गर्दा सीमित समय बाल्ने र निभाएर मात्र सुत्ने अनि कोठा र बाथरुमको भेन्टिलेसन खुला गरेर मात्रै सुत्ने, नुहाउने गर्नुपर्छ । बाहिरको हावा भित्रसम्म आवजावत हुन दिनुपर्छ, जसले गर्दा ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । यसतर्फ परिवारका सबै सदस्यलाई सुसूचित पनि गराउनुपर्छ । हालसालै एउटा रिसोर्टमा सपरिवारको मृत्यु भएको घटनाले पनि हामीलाई सचेत गराएको हुनुपर्दछ ।
जाडोयाम सकिने बेलमा पनि होस पुर्याउन अवश्यक छ । फागुन चैतजस्ता महिनामा झन् यस्ता कुरामा ध्यान दिनु पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्