Logo

पार्किङका लागि जग्गा किन्न महायज्ञ

काभ्रे-ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरको उत्तरपूर्वमा रहेको निजी जग्गा खरिद गर्नका लागि महायज्ञ लगाइने भएको छ । आगामी चैत १८ गतेबाट लगाइने महायज्ञको पलाञ्चोकमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।
मन्दिरको उत्तरपूर्वमा रहेको ७ रोपनी जग्गा खरिदका लागि ३ करोड ५० लाख रुपैयाँ लाग्ने भएकाले आवश्यक रकम उठाउन महायज्ञ लगाउन लागेको पलाञ्चोक भगवती संरक्षण समितिका संरक्षक एवं पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले जानकारी दिए । ७ रोपनी जग्गा खरिद गर्न नगरपालिकाको कोषले मात्र नपुग्ने भएकाले आवश्यक रकम उठाउन महायज्ञ लगाउन लागेको उनको भनाइ छ । महायज्ञबाट कम्तीमा पनि ५ देखि ६ करोड रुपैयाँ उठाउने लक्ष्य लिइएको छ । जग्गा खरिदबाट बचेको रकमले पार्किङको व्यवस्थापनमा खर्च गरिने लक्ष्य आयोजकले लिएको छ । जग्गा खरिदका लागि पाँचखाल नगरले ३० लाख रकम विनियोजन गरेको छ । भगवती मन्दिरको मूल समितिको नाममा ३० लाख, बृहत्तर विकास ७ लाख, ३ लाख रथ मर्मतका लागि गरी ४० लाख रकम खातामा रहेको पाँचखाल नगरपालिका–९ का अध्यक्ष एवं सप्ताह मूल आयोजक समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष एवं महायज्ञ संयोजक श्रेष्ठले विगत लामो समयदेखि जग्गा खरिदका लागि पहल गर्दा सम्भव नरहेको र हाल पाँचखाल नगरमा पटक पटक वार्तापछि जग्गावालाले चलन चल्तीको मूल्यभन्दा अत्यन्त कम मूल्यमा जग्गा दिने सहमति भएपछि खरिदका लागि चन्दाको रूपमा महायज्ञ लगाउन लागेको बताए ।
पत्रकारहरूको जिज्ञासामा नगर प्रमुख एवं मन्दिरको संरक्षक खरेलले जग्गाको न्यूनतम मूल्य प्रतिआना १४ लाखसम्ममा खरिद बिक्री भएको अवस्थामा जग्गाधनीहरूसँग अनुरोध गर्दा प्रतिआना ३ लाखमा दिने सहमति भएको बताए । नगरप्रमुख खरेलले पत्रकार सम्मेलनकै क्रममा १ लाख ८ हजार रकम दान गर्ने घोषणा गरे । व्यक्तिकै भए पनि हालसम्म मन्दिरमा आउने भक्तजनको सुविधाका लागि सवारी पार्किङ गर्दै आएको छ ।
पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्ती रहेको पलाञ्चोक भगवती मन्दिरको ०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको थियो । पत्रकार सम्मेलनमा बागमती प्रदेशभरि रहेका पालिकामध्ये पाँचखाल नगरपालिका उत्कृष्ट घोषित भएर नगरपालिकालाई सम्मान गरेको भन्दै नगर प्रमुख महेश खरेललाई नागरिक अभिनन्दन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्