विज्ञान तथा प्रविधिमा मानविकी

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको नाममा विज्ञान र प्रविधि जोडेर विज्ञान तथा प्रविधि भित्र कानुन र समाज शास्त्र जस्ता विषयसमेत पढाउन खोज्नु नाम (रूप) र सार (उद्देश्य) नमिलेको विश्वविद्यालय हुने भनि नेपालका सांसदहरूको आलोचना आउनुले मुलुक लाइ अठारौँ शताब्दी तिर लान खोजेको प्रतीत दिन्छ।
सांसद मानबहादुर विश्वकर्माले विश्वविद्यालय सम्बन्धी विधेयक माथिको सैद्धान्तिक छलफलमा औपचारिक रूपमै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकको नाम र उद्देश्य नमिलेको बताउँदै थिए। नाममा विज्ञान तथा प्रविधि राख्ने तर कानुन, समाज शास्त्र, व्यवस्थापन, न्याय विषय समेत पढाइ हुने किन गरियो भन्ने प्रश्न थियो अमृत क्याम्पसमा लामो समय प्राध्यापन गरेका प्राध्यापक मानबहादुर विश्वकर्माको।
जति बेला विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्राध्यापक विश्वकर्मा उक्त कुराहरू राख्दै थिए, उनलाई सुनिरहेका संसारका नाम गनिएका विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेखनीय भूमिका र्पुयाउन सफल बनेका तिनै मानबहादुर विश्वकर्माका बिद्यार्थीहरु आफ्नो गुरु आफूलाई आजको समयको माग र आवश्यकता सँग अद्यावधिक गर्न नसक्नु र आजको बजार माग बारे त्यो हद सम्म अपरिचित रहनु मुलुककै दुर्भाग्य ठानी रहेका थिए।
छलफलमा अग्रगामी बाम बौद्धिक भनि चिनिएका सांसद खगराज अधिकारी मन्त्री गिरिराजमणि पोखरेललाई “यसको रूप र सार एउटै बनाउन सकिँदैन“ भनी गुनासो गर्दै गरेको देखिन्थ्यो। मुलुकको नयाँ पुस्ताको आशा लाग्दा युवा सांसद गनिएका गगन थापा एउटै विश्वविद्यालय भित्र विज्ञान, प्रविधि, कानुन र समाज शास्त्र सबै विषय समेटेर पढाउन खोजिएको भए त्यसैअनुसार विधेयकमा भाषा मिलाउनुपर्ने तर्क राख्दै थिए। उनैले पढेको त्रिचन्द्र क्याम्पस भने जस्तो। त्यहाँ रहेका सांसदहरूको बहुमतको बुझाई र निचोड उक्त विश्वविद्यालयमा विज्ञान तथा प्रविधिसम्बन्धी विषय मात्र अध्यापन हुनुपर्ने आशय रहेको बुझिन्थ्यो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल जवाफमा अन्तर्रा्ष्ट्रिय अभ्यास अनुसरण गरेर सरकारले विज्ञान र प्रविधि विश्वविद्यालयमा समाज शास्त्र र कानुनलाई जोडिएको बताउँदै थिए।
मदन भण्डारी विश्वविद्यालयको मूल उद्देश्य विज्ञान र प्रविधि अध्यापनमै जोड दिने रहेको तर कानुन, समाज शास्त्र, व्यवस्थापन जस्ता विषयलाई छोड्दा विश्वविद्यालय पुरानै ढर्राको हुने मन्त्रीको तर्क थियो। यही कारणबाट यो विश्वविद्यालय अहिले रहेका अन्य भन्दा फरक रहने यथार्थताको पुष्टि मूल उद्देश्यले गरिदिएको सङ्केत दिएका थिए मन्त्री पोखरेलले।
संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयवस्तुमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने एकेडेमिक वा सैद्धान्तिक अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान।
सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिन्न। युनिभर्सिटी मोडेलमा गरिएका एप्लाइड वा व्यावहारिक अनुसन्धान बाट प्राप्त परिणामका नतिजाहरू समेत नेपालमा हाल अब्बल भनी दाबी गरिने पब्लिक–प्राइभेट पार्टनरसिप मोडल अपनाउदा पनि लगभग एक हजार डलर मूल्य बराबरको रिसर्चका निष्कर्षलाई व्यावसायिकीकरण गर्न १ देखि १० मिलियन डलरसम्म लाग्छ। तैपनि त्यो व्यावसायिकीकरणले तपाईंको लगानी उठाउँछ भन्ने निश्चित गर्दैन । त्यो खर्च आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न नसक्ने हुँदा सन् २००१ देखिनै इनोभेसनमा लागेका व्यावहारिक अनुसन्धान निकायहरुले प्रयोग गर्न छोडेका हुन।
आज विश्वमा परम्परागत पब्लिक–प्राइभेट–पार्टनरसिप मोडललाई को–क्रिएसन मोडलबाट प्रतिस्थापन गरिएको छ। को–क्रिएसन मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्ने निश्चित गराउछ।
कुनै पनि उधम इनोभेटिभ उधमका रूपमा स्थापित हुन उसलाई बजारमा पटक पटक देखिने परिवर्तित बजारको माग, मुनाफा कमाई तत्कालै सहजै पूर्ति गर्न सक्षम सीप, प्रविधि र ‘बजार व्यवस्थाको ज्ञान’ जरुरी हुन्छ।
बजारको माग पूर्ति गर्ने सीप र प्रविधिहरू विज्ञान तथा प्रविधिमा आफ्नो दक्खल विकास गरेर पूर्ति गर्न सकिन्छ। बदलिँदो परिस्थितिले उत्पन्न गरेको बदलिँदो बजार व्यवस्थाको लागि जरुरी खुराक कानुन, समाज शास्त्र, व्यवस्थापन आदिको ज्ञान बिना असम्भव हुन्छ।
आज विज्ञान तथा प्रविधिका विधाहरूलाई कानुन, समाज शास्त्र, व्यवस्थापनका विधाहरू संग छुट्टाएर आफूलाई प्रशिक्षित गर्नेहरूले बिश्वो अर्थ व्यवस्था बुझ नसक्ने मान्यता स्थापित भईसकेको छ।
विज्ञान तथा प्रविधिका विधाहरू लाई कानुन, समाज शास्त्र, व्यवस्थापनका आदिका विधाहरूसँग छुट्टाएर उद्यममा लाग्ने उद्यमले खुट्टा टेक्न नपाउँदै दिवालिया बनेका छन। त्यस्तै नीति तथा कार्यक्रम लिएर अघि बढेका मुलुकहरू बिश्वोकै गरिब तथा अर्को देशको आर्थिक मापदण्डमा आफ्नो देशको आर्थिक मापदण्डलाई आत्मसमर्पण गराउन बाध्य छन।
त्यस्तै अवधारणामा आफ्नो पाठ्यक्रम विकास गरी जबरजस्त लादने विश्वविद्यालयहरू जसले त्यहाँ पढेको हो, उसैको लागि सिकेको शिक्षा पीडादायी बनाइदिने, विद्यार्थीको सम्भावना र अभिभावकको सपनालाई तुषारपात गर्ने, पढाइका नाममा आईए, बीए र एमए डिग्रीधारी साक्षर उत्पन्न गर्ने निकम्मा अखडामा परिवर्तन भएको छ।
स्थानीय उधम्शिलता विकास गर्न चाहिने इनोभेसन संस्कृतिको पूर्वाधारको सबैभन्दा पहिलो वैज्ञानिक सर्त शिक्षालय र विश्वविद्यालय स्थानीय बजारको माग पुरागर्न सक्षम हुनु हो। मुलुकका नीति निर्माता देखि शिक्षालय र विश्वविद्यालयका नीति निर्माता सम्म आजको बजारको माग पहिचान गर्न र बजार माग अनुरूप उपयुक्त शिक्षा नीति तर्जुमा गर्न सक्षम रहनु जरुरि थियो। जुन हुन सकेन।
नेपालमापटक पटक ठुला धनराशि खर्चेर प्राविधिक शिक्षालय र विश्वविद्यालयहरूको पाठ्यक्रम परिवर्तन भएता पनि कम्तीमा ८० वर्षभन्दा पुरानो ‘बडी अफ नलेजमा’ आधारित शिक्षा प्रणाली नै चलिरहेको छ। सबै विद्यार्थी लाई एउटै सोलीमा हालिने, पहिलै पूर्व लिखित, पूर्व ढाँचाकृत शिक्षा अध्यापन गरिन्छ। एक(सोली मोडलको कम्तीमा ३० वर्षभन्दा पुरानो ‘बडी अफ नलेजमा’ आधारित प्राविधिक शिक्षा प्राविधिक शिक्षालयहरु दीई रहेका छन।
शिक्षा प्रणाली केवल मिति सक्किएको ज्ञानमा आधारित मात्र छैन, विज्ञान तथा प्रविधिका विधालाई कानुन, समाज शास्त्र र व्यवस्थापनका विधाहरू सँग पुरै छुट्टाएर अपाङ्ग बनाइएको छ।
स्वस्थ, इन्जिनियरिङ, कृषि, प्रविधि आदि जस्ता बिषयहरु मात्र प्राविधिक शिक्षा रहेको मान्यता छ। दुई चार अक्षर पढेका तर काम नपाएका जनता मात्र बेरोजगार गनिन्छ। सिटिभिटी जस्ता तालिम केन्द्र हरुले तिनै बेरोजगार कहलाएकाहरू लाई अन्यत्र उद्यममा रोजगार वा विदेश जाने श्रमिक बनाउन चाहिने १० प्रतिशत जति ज्ञान पुग्ने पाठ्यक्रम पढाउन पाएकोमा दंग छ।
विश्वविद्यालयहरुले निकाल्ने कृषि विज्ञको मनोविज्ञानमा माटो छुनु लज्जाको विषय बन्छ। इन्जिनियरको मनोविज्ञानमा सर्भे गर्नु, बाटो बनाउनु, कुलो खन्नु भनेको कुल्ली हुनु हो र आफु कुल्ली हुन पढेको हैन भन्ने रहेको प्रष्ट बुझिन्छ।
जतिसुकै कृषिमा सिप, ज्ञान प्राप्त गरि प्रबिधि विकास गरोस, प्रगति गरोस एक औपचारिक शिक्षा नलिएको कृषक कृषि विज्ञ हुन सक्दैन। एक मजदुर इन्जिनियर कहलाउन सम्भब छैन । त्यो भन्दा पनि निकै मार्मिक पक्ष जतिसुकै इनोभेसन र आविष्कार गरोस स्वयम निउटन, आईन्सटाईन, स्टिभ जब स्तरका मानिस समेत हाम्रा विश्वविद्यालयहरूमा अध्यापनको लागि योग्य हुदैनन।
आज संसारका विश्वविद्यालयहरू बढीमा १० वर्ष पुराना र प्राविधिक शिक्षालय बढीमा पाँच वर्ष पुराना ‘बडी अफ नलेज’ मा आधारित पाठ्यक्रम सिकाइरहेका छन। हाम्रा प्राविधिक शिक्षालय र विश्वविद्यालयहरू आफ्ना बिद्यार्थीहरू लाइ स्वदेसलाइ हैन बिदेशमा सामान्य मजदुरी गर्न योग्य हुने आयातित ज्ञान लादिरहेका छन।
हाम्रा मौजुदा विश्वविद्यालयहरू र प्राविधिक शिक्षालयहरू विद्यार्थीहरू लाई डिग्रीधारी साक्षर बनाउने शिक्षा दिदै गर्दा नयाँ बन्ने नयाँ प्रकारको भनिएको विश्वविद्यालय समेत आफुले देखेको जस्तो नभएको मात्र कारणबाट शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकनै तोडमोड गरि पुरानो ढर्राको बनाउन खोज्नु आत्मघाती कदम हुनेछ। नयाँ बत्तलमा पुरानै रक्सी हाली, आफ्नै पुरानै तौर तरिका र मानसिकतामै चलाउन किन फेरी नयाँ विश्वविद्यालय बनाउने जरुरत पर्यो भन्ने कुराको औचित्य माननीयहरुले खोज्नु जरुरि भैसकेको छ।
(लेखक खाद्य तथा औषधि बिज्ञ हुन।)