Logo

के हो कोरोना भाइरस ?

 
श्वासप्रश्वाससम्बन्धी रोग भएकाले यो एक मानिसबाट अर्को मानिसमा सर्ने रोग हो । अनुसन्धानकर्ताहरू यो रोगको औषधी खोज्न तल्लीन छन् ।

वल्र्ड हेल्थ अर्गनाइजेसनका अधिकारीहरू ३१ डिसेम्बर, २०१९ मा चीनको हुबे प्रदेशको वुहान सहरमा निमोनियाँका केसहरू धेरै आउन थालेकोमा सतर्क थिए । यो भाइरस कुनै पनि अरू भाइरसजस्तो नभएका कारण नयाँ भाइरसले कसरी असर गर्छ भन्ने थाहा नभएको उनीहरूले बताएका थिए ।
त्यसकै एक हप्तापछि ७ जनवरीमा चिनियाँ अधिकारीहरूले नयाँ भाइरस पत्ता लागेको बताए । नयाँ भाइरस कोरोना भाइरस रहेको र अन्य रुघाखोकी, सार्स तथा मर्स (श्वासप्रश्वाससम्बन्धी रोग) भन्ने भाइरसकै परिवारका रहेको बताएका थिए । जो–कोहीको श्वास–प्रश्वासबाट यो रोग सर्छ ।
श्वासप्रश्वाससम्बन्धी रोग भएकाले यो एक मानिसबाट अर्को मानिसमा सर्ने रोग हो । अनुसन्धानकर्ताहरू यो रोगको औषधी खोज्न तल्लीन छन् ।
चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण २ सय १३ जनाको मृत्यु भइसकेको छ भने झन्डै १० हजार जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । शुक्रबार बेइजिङले स्वास्थ्य आपतकालिन घोषणा गर्दै विदेशी आगन्तुकहरुलाई चेतावनी दिए ।
वल्र्ड हेल्थ अर्गनाईजेसनले कोरोना भाइरस लाग्न नदिन के–के गर्नुपर्छ भन्ने सुझाव आफ्नो साइटमा राखेको छ ।

सुझावहरू :
१. आफ्नो हात बारम्बार सफा गरिराख्ने, हात धुने साबुन, पानी अथवा क्लिन्जरले धुने ।
२. खोक्दा र रुघा लाग्दा आफ्नो मुख हातले छोप्ने अथवा टिस्युपेपरले मुख, नाक छोप्ने । टिस्युपेपर प्रयोग गर्नासाथ हात धुने र टिस्युपेपर फालिहाल्ने ।
३. रुघा–खोकी र ज्वरो आएका मानिसहरूको नजिक नबस्ने ।
४. यदि तपाईंलाई ज्वरो, खोकी र सास फेर्न गा-हो भएको छ भने ढिलाइ नगरी डाक्टरकहाँ जानुहोस् ।
५. भीडभाडमा हुनुहुन्छ भने मास्क लगाएर जानुहोस् । जनावरहरूलाई नछुनोस् ।
६. मासुलाई मज्जासँग पकाएर मात्र खानुहोला । काँचो दूध, काँचो मासु या जनावरका कुनै अंग एकदम सुरक्षितसाथ राख्नुहोस् ताकि यसमार्फत अन्य हाम्रो खाना अथवा नापकेको खानामा भाइरस नसरोस् । त्यसैले राम्रोसँग पकाएर मात्र मासु खानुु उपयुक्त हुन्छ ।

कोरोना भाइरसका लक्षण
१. रुघा लाग्ने ।
२. टाउको दुख्ने ।
३. घाँटी खसखस गर्ने ।
४. ज्वरो आउने ।
५. भित्रैदेखि सन्चो नभएको आभास हुने ।
नेपालमा भने कोरोना भाइरसले त्यति भयावह रूप लिएको छैन । एक नेपाली जो चीनमा घुम्न गएर नेपाल फर्केका थिए, उनलाई कोरोना भाइरस भएको शंकामा निगरानीमा राखिएको थियो । अहिले उनी निको भएका छन् ।
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोरोना भाइरस जाँच्ने उपकरण राखिएको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो । त्यसैले आजैदेखि यी उपायहरू अपनाएर सतर्क रहनुहोला ।

प्रतिक्रिया दिनुहोस्