कोरोना भाइरस र नेपाल भ्रमण वर्ष– २०२०

संयमतापूर्वक समस्याको सामना गर्दै राम्रो बेला पर्खनु र आफ्ना अभियानलाई जोडदार रूपमा अघि बढाउनु हाम्रा लागि नितान्त आवश्यक छ । |
मित्रराष्ट्र चीनको हुबई प्रान्तस्थित सहरबाट झन्डै दुई साताअघिदेखि फैलिएको नोबल कोरोना भाइरसको संक्रमणले आजको मितिसम्म १ सय १ जनाको ज्यान जानुका साथै यसले कैयौँलाई संक्रमित पारिसकेको छ । कोरोना भाइरस करिब–करिब विश्वभरि नै फैलिइसकेको अथवा फैलिने क्रममा रहेको समाचार हामी दिनहुँ सुन्दै आइरहेका छौँ । संसारको सबैभन्दा बढी जनसंख्या भएको चीनले चिनियाँ नयाँ वर्षको सँघारमा आएर यस्तो भयावह भाइरसद्वारा सिर्जित मानव विपत्तिको सामना गर्नुपरिरहेको अवस्थाले हाम्रो मुलुकको गतिशील पर्यटनलाई गतिहीनतातर्फ धकेलिरहेको छ । चीन सरकारले हुबईलगायत अन्य प्रान्तका बासिन्दाहरूलाई समेत बाहिर कसैको सम्पर्कमा नजान आह्वान गरेको छ । मुलुकभित्रका सार्वजनिक सवारी साधन, स्कुल, कलेज, होटल–रेस्टुराँ तथा सम्पूर्ण पर्यटकीय स्थलहरू एवं सार्वजनिक स्थलहरू ठप्प पारिनुका साथै सर्वसाधारण सबैलाई कोरोनाबाट बच्न सतर्कता अपनाउन भनिएको छ ।
यद्यपि चीन सरकारले यो संक्रमणलाई फैलिन नदिन सरकारी स्तरबाट गरिनुपर्ने सम्पूर्ण सतर्कता कार्यक्रमहरू गम्भीरतापूर्वक कार्यान्वयन गरिरहेको हामीले सञ्चारमाध्यमबाट निरन्तर सुनिरहेका छौँ । तैपनि पर्यटन उद्योगमा आश्रित केही बलिया विश्व अर्थतन्त्रहरूले अहिले कुइरोमा हराएका कागसरह दिशाहीनता भोगिरहेको देखिन्छ ।
भ्रमण वर्ष मनाइरहेको नेपाल तथा मलेसियाजस्ता मुलुकलाई कोरोना भाइरसले स्तम्भित तुल्याएको छ । युरोप तथा अमेरिका समेत पुगिसकेको यस भाइरसको संक्रमणले विश्व जनसमुदायलाई त्रसित बनाएको छ । यसबाट बच्न आमनागरिकले अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी उपायहरूको पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार– प्रसार पनि भएको छ । विमानस्थल तथा नाकाहरूमा समेत विशेष स्वस्थ्य टोलीहरू खटाइएका छन् र अस्पतालहरूले पनि बिरामीको स्वास्थ्योपचारमा विशेष ध्यान पु-याइरहेको अवस्था छ ।
पर्यटन क्षेत्र एउटा अत्यन्तै संवेदनशील क्षेत्र भएको हुनाले विश्वको कुनै पनि कुनामा घट्ने विपत्तिले सबैभन्दा पहिला यस उद्योगलाई नै प्रभावित पार्छ । संक्रमण फैलिए उद्योगमा शिथिलता सिर्जना हुन्छ । यात्रुहरूको आवागमनमा नगन्य अथवा शून्यको स्थिति पैदा हुन्छ । पर्यटकीय गतिविधिहरू अकस्मात् रोकिन जान्छन् । मानवले आइसकेको विपत्तिबाट मुक्ति नपाइसकेसम्म प्रभावित मुलुकको पर्यटनले उजाड र उराठलाग्दो अवस्थावाट गुज्रिनु पर्ने बाध्यता रहन्छ ।
सन् २००२ को सार्स संक्रमण र सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पश्चात्को अवस्था ठीक यस्तै नै थियो । तर, पर्यटन उद्योग जत्ति संवेदनशील मानिए पनि तुलनात्मक रूपले छिट्टै यो तंग्रिन पनि सक्छ ।
अहिले हामीले नेपाल भ्रमण वर्ष मनाउन थालेकोे एक महिना व्यतीत भएको छ । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षासहित मुलुकभरि बडो उत्साहका साथ नयाँ–नयाँ पूर्वाधारहरू एकपछि अर्काे सम्पन्न हुने क्रममा रहेकै बेला कोरोना भाइरसले २० लाख लक्ष्य प्राप्तिका हाम्रा प्रयासहरूलाई सुगति दिन सक्ला भन्ने विषयमा शंका उत्पन्न हुुनु अस्वाभाविक होइन । भ्रमण वर्षको लक्षित पर्यटक आगमन संख्यालाई निर्धारण गर्दा हामीले मित्रराष्ट्र चीनबाट साढे ३ लाख चिनियाँ पर्यटक भित्र्याउने अड्कल काटेका थियौँ । प्रश्न छ, कोरोनाले हाम्रो भ्रमण वर्षको लक्ष्य पूरा हुन देला त ?
कोरोना भाइरस अति सजिलै मान्छेहरूमा सर्ने रोग भएकाले यसको नियन्त्रण कार्य पनि चुनौतीपूर्ण रहेको जानिफकारहरू बताउँछन् । हालसम्म नेपालमा यस भाइरसबाट संक्रमित एक जना मात्र भेटिएको तथ्यांक छ जो वुहान सहरबाट आफ्नो अध्ययनपश्चात् स्वदेश फर्किएका हुन् । चिनियाँ सरकारले चीनभित्र रहेका ट्राभल कम्पनीहरूलाई हवाई टिकट बिक्री नगर्न र अन्तर्राष्ट्रिय टुर प्याकेज नचलाउन निर्देशित गरेको छ । यो बन्देज लामो समय सम्म कायम रह्यो भने हाम्रो भ्रमण वर्ष कार्यक्रम विथोलिने निश्चित छ । किनभने चीन नेपाल आउने पर्यटक संख्याका हिसाबले दोस्रो मुलुक पर्छ । पर्यटन गतिविधि बिथोलिनु भनेको हाम्रा हवाई सेवाहरू, होटल र रेस्टुराँहरू तथा यातायात क्षेत्रका कामहरूमा डरलाग्दो शिथिलता पैदा हुनेछ र त्यसपछिका दिनहरूमा समेत यो अवस्थामा सुधार आइहाल्ला भन्न सकिँदैन । विश्वकै सबैभन्दा ठूलोे आर्थिक क्षेत्र पर्यटनमा गतिरोध उत्पन्न हुनु भनेको विश्व अर्थतन्त्रमै दुर्घटना हुनु हो ।
एकातिर इरान इराकको विद्यमान मनोमालिन्यता, अर्कातिर मध्यपूर्वमा शान्तिको अस्थिरता, शान्तिप्रिय विश्व नागरिकहरूमा आणविक युद्धको त्रास, विभिन्न ठाउँमा बेलाबेला आउने प्राकृतिक विपत्ति र मानव विपत्तिहरूका कारणले गर्दा डब्लूटीटीसीले प्रक्षेपण गरेका भविष्यवाणीहरू कतै निरर्थक पो बन्ने होइनन् भन्ने सोच सम्पूर्ण पर्यटन व्यवसायीहरूमा प्रबल बन्दै गइरहेको देखिन्छ । डब्लूटीटीसीले पर्यटन क्षेत्रलाई रोजगारी उपलब्ध गराउने, निर्यात् बढाउने र समृद्धि हासिल गर्न सम्बन्धित देशलाई सघाउने एउटा सशक्त माध्यमका रूपमा परिभाषित गरेको छ । पर्यटनले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १०.४ प्रतिशतको योगदान पु-याउने गरेको पनि यो संस्थाको भनाइ छ । विश्व पर्यटन संस्था डब्लूटीटीसी अनुसार पर्यटनको समग्र विकासमा उत्तरी एसियाको २८ प्रतिशत एसिया प्रशान्तको २७ प्रतिशत, अमेरिकाहरूको २१, युरोपको १३ र अफ्रिका तथा मध्यपूर्वको ११ प्रतिशत योगदान रहने गरेको पनि खुलाएको छ । सन् २००० मा औसतमा विश्वको एक जना यात्रुले ४४ महिनामा एकचोटि हवाई यात्रा गथ्र्याे भने सन् २०१८ मा आएर उसले २१ महिनामा एकचोटि अन्तर्राष्ट्रिय भ्रमणका लागि हवाई यात्रा गर्ने गरेको तथ्यांक छ । संयुक्त राष्ट्र विश्व पर्यटन संस्था (यूएन डब्लूटीओ) अनुसार अन्तर्राष्ट्रिय पर्यटनले विश्व अर्थतन्त्रलाई हाँक्ने गर्छ ।
यसरी पर्यटनले नै विश्व अर्थतन्त्रलाई उन्नति र समृद्धितर्फ डो-याइरहेको संदर्भमा सन् २०२० को प्रारम्भ देखि कोरोना भाइरस तीव्र गतिमा फैलिँदै जानु पर्यटन उद्यमी, व्यवसायी एवं अनुरागीहरूका लागि एउटा गहन चिन्ताको विषय बन्न पुगेको छ । विश्वको सशक्त हुँदै गइरहेको अर्थतन्त्र, उच्च मध्यम वर्गको आवादीमा वृद्धि, विभिन्न थरीका प्राविधिक विकासहरू व्यापारका सर्वथा नवीनतम मोडलहरू, हवाई टिकटको सुलभ उपलब्धता र मुलुकहरूले जारी गर्ने प्रवेशाज्ञाको सहजता, सरलता र सुविधाले गर्दा सन् २०१८ मा अन्तर्राष्ट्रिय पर्यटनमा ५ प्रतिशत वृद्धि भई पर्यटनमा संलग्न कुल याुत्रहरूको संख्या १.४ अर्ब पुगेको स्मरणीय छ ।
भारतबाट मात्रै करिब २ करोड भारतीयहरू बर्सेनि बाह्य भ्रमणमा जाने गर्छन् । यो संख्या छिटो नै ५ करोड पुग्ने संयुक्त राष्ट्र विश्व पर्यटन संस्थाले प्रक्षेपण गरेको छ । साथै, त्यस संस्थाले सन् १९९० मा ६० वर्ष उमेर काटेका पर्यटकहरूको संख्यामा १० प्रतिशत वृद्धि भई ५० करोड पुगेको २०१७ मा सो संख्यामा १८ प्रतिशत वृद्धि भई ९६ करोड २० लाख पुगेको र आगामी २०५० सम्म त्यसमा २८ प्रतिशत वृद्धि भई २.१ अर्ब पुग्ने पक्षेपण गरेको छ ।
विश्व पर्यटन रंगमञ्चमा अपेक्षा गरिएको यो स्वर्णिम सपनाका भागीदार हामी नेपालीहरू पनि हुनुपर्छ । किनभने हामीसँग जस्तो भौतिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय उत्पादन विश्वका अन्य कुनै मुलुकमा पनि छैनन् । यस परिप्रेक्ष्यमा नेपालले सन् २०२० देखि २०३० सम्मलाई पर्यटन दशक घोषणा गरी ३५ लाख पर्यटक भित्र्याउने अठोट गर्नु स्वभावतः सामान्य हो । परन्तु पर्यटन अभिवृद्धि गरी मुलुकमा दिगो आर्थिक उन्नतिको जग बसाल्ने हाम्रा सत्प्रयासहरूलाई कोरोनाले कहीं ध्वस्त पारिदिने त होइन ? कोरोनाविरुद्ध संघर्ष गर्न सक्ने जनचेतनामूलक कार्यक्रमलाई मुलुकभित्र व्यापक बनाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता हो ।
नेपाल भ्रमण वर्ष २०२० सचिवालयले यस सन्दर्भमा मित्रराष्ट्र चीनप्रति समवेदना प्रकट गर्दै यस विपद्बाट चीनलगायत अन्य प्रभावित क्षेत्रहरूले छिट्टै राहतको अनुभव गर्न पाउन् भन्ने विज्ञप्तिमार्फत जुन सदाशयता प्रकट गरेको छ, त्यसका निम्ति नेपाल भ्रमण वर्ष– २०२० लाई साधुवाद टक्र्याउनुपर्छ । नेपाल भ्रमण वर्षले सरकारसँग सहकार्य गर्दै नेपाल प्रवेश गर्ने प्रत्येक पर्यटकलाई कोरोना भाइरसबाट बच्न चाहिने सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरू विमानस्थल र नाकाहरूमा उपलब्ध गराउनुपर्छ । चीन र भारतबाट हामीले त्यहाँका बहिर्मुखी (आउट बाउन्ड) पर्यटकहरूलाई नेपालतर्फ बढीभन्दा बढी रूपले आकर्षित गर्न असफल हुनु भनेको हाम्रा निम्ति दुर्भाग्यपूर्ण हुन जाने निश्चित छ । संयमतापूर्वक समस्याको सामना गर्दै राम्रो बेला पर्खनु र आफ्ना अभियानलाई जोडदार रूपमा अघि बढाउनु हाम्रा लागि नितान्त आवश्यक छ ।