म्याग्देलाई आलुमा आत्मनिर्भर बनाइने

तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने भएको छ । आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
निर्वाहमुखी खेतीबाट कृषकलाई केही उपलब्धी नहुने भएपछि गाउँपालिकाबाटै योजना बनाएर व्यावसायिक रूपमा आलु खेती सुरु गरिएको हो । म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले आलूमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
गाउँपालिकाले नै आलुको बीउ खरिद गरी अनुदानमा कृषकलाई वितरणसमेत गरेको थियो । पहिलो गाउँसभाबाट पारित गरी काभ्रेको धुलिखेलबाट १७ हजार केजी आलुको विउ ल्याएर कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको अध्यक्ष रानाले जानकारी दिइन् । माटो परीक्षण गर्दा आलुको राम्रो सम्भावना देखिएकाले त्यसैमा जोड दिइएको उनको भनाइ छ । अनुदानमा बीउ पाएपछि केही कृषकले व्यक्तिगत रुपमा त केहीले समूह बनाएर आलु खेती गरेको गाउँपालिकाका कृषि प्राविधिक भविलाल रानाभाटले बताए । उनका अनुसार यस वर्ष गाउँपालिकाको करिब १२ हेक्टरमा आलुखेती गरिएको छ ।
गत वर्षसम्म कृषकले आफूखुसी बढीमा ४ हेक्टरमा मात्र आलुखेती गर्दै आएका थिए । आलु खेतीका लागि म्याग्दे गाउँपालिकाको साँगे, रानीटारी, जामुने, धयँरे, थर्पु, मनहरी, शेराफाँट र छाङपाटनलगायतका स्थानलाई छनोट गरिएको छ । म्याग्देको अधिकांश स्थानमा जनकदेव जातको आलु खेती गरिएको छ । माटो अनुसार आलुको जात पनि छनौट गरिएको कृषि प्राविधिक रानाभाटले बताए ।
सकेसम्म यसै वर्ष र नसके आगामी वर्षभित्रै म्याग्देलाई आलुमा आत्मनिर्भर बनाउने गरि काम भइरहेको रानाभाटले बताए । यसका लागि बीउ वितरण मात्र नभई कृषकलाई आलु खेतीसम्बन्धी प्रशिक्षण पनि दिने गरिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा ५० हजार टन आलु उत्पादन हुने अनुमान गरिएको छ ।
तर योजना बनाएर व्यावसायीक आलु खेती गरिए पनि म्याग्देमा कोल्ड स्टोर नहुँदा समस्या पर्ने भएको छ । आफ्नै ठाउँमा कोल्ड स्टोर नहुँदा पोखरा पुराएर आलुको भण्डारण गर्नु पर्ने अवस्था आउन सक्ने प्राविधिक रानाभाटले बताए । गाउँपालिकाकी अध्यक्ष रानाले भने अव म्याग्देमै कोल्डस्टोर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कृष्ण न्यौपाने