हिमपातले विकास निर्माण अवरुद्ध «

हिमपातले विकास निर्माण अवरुद्ध

मुगु जिल्लाको पुर्वी उत्तरीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालिकामा पटक पटक परेको हिमपातले विकास निमार्णका काम ठप्प भएका छन् । जिल्लाका चार स्थानीय तहमध्ये उच्च हिमाली क्षेत्रमा रहेको गाउँपालिकामा हिमपातले विकास निमार्णका काम ठप्प भएका हुन् ।
मुगु, डोल्फु चितै, किम्री, ताखा, खारी, पुअ, रिउस, दाउरा, सेरोगलगायतका वडा १ देखि ७ सम्मका बस्तीमा हिउँले ढाकेपछि गाउँपालिका, गैर सरकारी निकाय र अन्य निकायबाट सञ्चालित विकास निर्माणका काम अवरुद्ध भएका छन् ।
बाक्लो हिउँले नपग्लिएसम्म बाटो, खानेपानी, मठमन्दिर, गुम्बा निर्माण, भवन निर्माण, पुल सिँचाइ कुलोलगायतका योजना सञ्चालन गर्न कठिनाइ भएको छ । भारी हिमपातका कारण निर्माण कार्य अवरुद्ध भएको मुगुमकामरोङ्ग गाउँपालिकाका प्रमुख छिरिङक्याप्ने लामाले जानकारी दिए ।
माथिल्लो बस्ती मुगु, चितै, डोल्फू, किम्री गाउँका बस्तीमा फागुन अन्तिमसम्म पनि विकास निर्माण अघि बढाउन मुस्किल हुने अध्यक्ष लामाको भनाइ छ । हिमपातले असर नगर्ने तल्लो बस्ती छाइल, माग्री, पापुलगायत स्थानमा विकास निर्माणका काम भइरहेको र माथिल्ला बस्तीमा हिउँले रोकिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्