तुलसीपुरमा औद्योगिक ग्राम स्थापना हुने

दाङ– तुलसीपुर उपमहानगरपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ । मंगलबार काठमाडौंमा उपमहानगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका बीचमा उद्योग ग्राम स्थापनाका लागि सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झदारीपत्रमा मन्त्रालयका तर्फबाट सहसचिव शोभाकान्त पौडेल र उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा उपमहानगरपालिकालाई ग्राम स्थापनाका लागि ९२ लाखको चेकसमेत हस्तान्तरण गरिएको थियो । हस्ताक्षर पत्रमा स्थानीय तह कै लगानीमा ३ महिना भित्र बिस्तृत परियोजना प्रतिवेदन बनाएर काम अगाडि बढाउने उल्लेख गरिएको छ । मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ बटा स्थानीय तहमा यो कार्यक्रम लागू गरेको छ ।
दाङमा १० वटा स्थानीय तहमध्ये तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू गरेको हो । समझदारी पत्र हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतीलाल दुगडलगायतको सहभागिता थियो ।