सिँचाइ अभावले खेतीयोग्य जमिन बाझो

डडेल्धुरा-नवदुर्गा गाउँपालिका–४ गिल्लामा सिँचाइ नहुँदा १ सय ६५ हेक्टर खेतीयोग्य जमिनमा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । करिब २०४५ सालमा गिल्ला सिँचाइ योजना निर्माण गर्नका लागि मष्टामाण्डौंको सकायल खोलाबाट नहर निर्माण थालनी गरे पनि उक्त योजना निर्माण हुन सकेन ।
नवदुर्गा गाउँपालिका–४ मा रहेको करिब १ सय ६५ हेक्टर जमिन जमिनमा सिँचाइ पु-याउन सके व्यावसायिक रूपमा खेती गर्न सकिने स्थानीयको भनाइ छ । जमिनदेखि करिब १०० मिटर तल पश्चिम सेती नदी बगिरहेको र उक्त नदीबाट लिफ्टमार्फत सिँचाइ योजना निर्माणका लागि गाउँपालिकाले पहल गर्दै आएको छ । जिल्ला सिँचाइ योजनाकोे गुरुयोजनासमेत निर्माण गरेको र योजना निर्माणका लागि प्रदेश सरकारसँग छलफलसमेत भएको गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले बताए ।
गाउँपालिकाको बजेटले यो योजनानिर्माण गर्न नसकिने भएकाले सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको योजनामा राखी आवश्यक प्रक्रिया पूरा भएको छ । सकायल खोलाबाट सिँचाइ नहर निर्माण गर्दा बजेट धेरै चाहिने र त्यो दिगो पनि हँुदैन । त्यसकारण सेती नदीको विकल्पमा अरु मुहानहरू नदेखिएको गाउँपालिकाका अध्यक्षले बताए । संघीय सरकारले वार्षिक ३ लाख ५० हजार रुपैयाँमात्रै आउने भएको र उक्त रकमले योजना निर्माण गर्न नसकिने हुँदा हामीले प्रदेश सरकारलाई यो योजना सम्पन्न गर्नका लागि आग्रह गरेका छौं ।
गत आवमा प्रदेश सरकारले उक्त सिँचाइ योजना निर्माणका लागि करिब २० लाख रुपैयाँ विनियोजन गरेको थियो । गिल्ला सिँचाइ निर्माणका लागि २०४५ सालदेखि नहर खोलेको थियो । धेरै संघसंस्था आए, चुनावका बेला धेरै नेताले भाषण गरे तर नहर भने बनेन । गत आवमा भने नवदुर्गामा प्रदेश सरकारले २ वटा पोखरी र एउटा पम्पहाउस निर्माण गरेको स्थानीय कृष्णबहादुर विष्टले बताए ।
बजेट अभावमा यो सिँचाइ योजना सम्पन्न हुन सकेको छैन । कम्तीमा पनि ३ वटा पम्पसेट राखी लिफ्टमार्फत सिँचाइ योजना अगाडि बढाउनु पर्ने र त्यसका लागि करिब डेढ करोड जति रकम आवश्यक पर्ने भौतिक पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । उर्वर माटो रहेकाले सिँचाइको मात्रै व्यवस्था गर्न सके यस क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने छ ।
जिल्लाका अधिकांश घरका पुरुष भारततिर मजदुरी गर्न गएका छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने र खेती राम्रो नहुने हुँदा करिब ३ महिनामात्रै खेती किसानीबाट खानपुग्ने भएकाले भारत जानुपर्ने बाध्यता रहेको स्थानीय डम्बरबहादुर विष्टले बताए । उनले भने, “गाउँमा सिँचाइ पुग्ने हो भने रोजगारीका लागि विदेश जानु पर्दैन, गाउँमै कृषि व्यवसाय गरी राम्रो आम्दानी गर्न सकिन्छ ।”