विकास बैंकहरूको वर्तमान अवस्था र चुनौती

विकास बैंकहरूले ग्रामीण क्षेत्रहरूमा मात्रै होइन, सहरी क्षेत्रहरूमा पनि शाखा विस्तारमा जोड दिनु आवश्यक हुन्छ । |
सरकारले २०५० को दशकमा ग्रामीण क्षेत्रसम्म बैंकिङ वित्तीय पहुुँच अभिवृद्धि गर्ने उद्देश्यले विकास बैंकको अवधारणा अघि सारेको हो । सो अवधारणासँगै त्यतिबेला ‘नेपाल विकास बैंक’ स्थापना भएको थियो । तर, सो बैंक विविध कारणले गर्दा अहिले अस्तित्वमा छैन । तर, यसबीच नेपालमा ९१ वटासम्म विकास बैंकहरूको संख्या पुगेको थियो, जो नेपाल राष्ट्र बैंकले लिएको अनिवार्य मर्जर तथा पुँजीवृद्धिको नीतिले अहिले झरेर ३३ वटामा आइपुगेको छ ।
यसरी अहिले विकास बैंकहरूको संख्या खुम्चिएको अवस्था छ । खासगरी बैंकहरूको संख्या अत्यधिक बढी भएको र उनीहरूको लगानी गर्ने हैसियतसमेत कमजोर रहेको भन्दै केन्द्रीय बैंकले आर्थिक वर्ष २०७३-७४ को मौद्रिक नीतिमार्फत बैंकहरूको पुुँजी वृद्धिको प्रावधान ल्यायो । त्यो नीतिमार्फत आएको प्रावधानले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ वर्गका लघुवित्तहरूलाई साविक पुुँजीमा अनिवार्य रूपमा चार गुणा वृद्धि गर्न भन्यो । त्यस नीतिको निहित उद्देश्य बैंकहरूले पुुँजी मात्रै बढाऊन् भन्ने थिएन । बैंकहरूको संख्या नै घटोस् भन्ने थियो । फलस्वरूप बैंकहरूले दुई वर्षबीच राष्ट्र बैंकले तोकेबमोजिमको पुँजी वृद्धि गरिसकेका छन् । नीतिको प्रभावस्वरूप बैंकहरूको संख्या पनि घटेको अवस्था छ । यसबीच ३० वटा वाणिज्य बैंकहरू भएकोमा मर्ज भई २८ वटामा झरेको छ । त्यसमध्ये पनि केही ठूला वाणिज्य बैंकहरू यतिबेला बिग मर्जरको अन्तिम तयारीमा छन् । जनता बैंक र ग्लोबल आईएमई बैंक यही मंसिर अन्तिमबाट एकिकृत भइ संयुक्त कारोबर गर्दैछन् ।
पुँजीवृद्धिको प्रावधानअघिमात्रै पनि ६५ वटा विकास बैंक अस्तित्वमा रहेकामा हाल भने ३३ वटामा झरेका हुन् । यसरी केन्द्रीय बैंकले ल्याएको पुुँजी वृद्धिको प्रभाव विशेष गरी विकास बैंकहरूमा नै बढी जसो प-यो ।
खासगरी ग्रामीण क्षेत्रको आर्थिक–सामाजिक विकासमा ‘ख’ वर्गका विकास बैंकहरूको भूूमिका अहम् रहेको देखिन्छ । ग्रामीण क्षेत्रको जनताको आयस्तर बढाउन, त्यहाँको उद्यमशीलता विकास गर्न र आर्थिक गतिविधि बढाउन ‘क’ वर्गका वाणिज्य बैंकहरूभन्दा पनि ‘ख’ वर्गका क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंकहरूको भूूमिका निकै ठूूलो रहेको देखिन्छ । भलै सबै स्थानीय तहमा शाखा विस्तार गरी सेवा पु-याउन वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन गरेसँगै वाणिज्य बैंकहरू पनि गाउँ–गाउँ पुग्न थालेका छन् ।
विशेष गरी विकास बैंकहरू क्षेत्रीय एवं स्थानीय स्तरमा स्थापना एवं सञ्चालन हुने भएकाले पनि स्थानीय स्तरका ग्राहकहरूको घनत्व बढिरहेको हुन्छ । क्षेत्रीय एवं स्थानीय स्तरमा चलायमान भएका हुँदा पनि त्यहाँका जनताले विकास बैंकहरू रुचाएका पाइन्छन्, जसले गर्दा उनीहरू ग्रामीण भेगहरूमा सफल देखिन्छन् ।
विकास बैंकहरू ग्रामीण क्षेत्रमा नै बढीजसो केन्द्रित रहेका, साना–साना एवं मध्यम स्तरको लगानी गरिरहेका कारण उनीहरूको कर्जा जोखिम पनि कम रहेको पाइन्छ । हाल सञ्चालनमा रहेका आधाभन्दा बढी विकास बैंक क्षेत्रीय स्तरका छन् । सञ्चालनमा रहेका विकास बैंकहरूमध्ये ६० प्रतिशतभन्दा बढी विकास बैंकको प्रधान कार्यालय काठमाडौंबाहिर छन् । यद्यपि वाणिज्य बैंकहरूको भने सबैको केन्द्रीय कार्यालय राजधानी काठमाडांैमै छन् । धेरैजसो विकास बैंकले आफ्नो राष्ट्रिय स्तरमा शाखा सञ्जालहरू विस्तार गर्न सकिरहेका छैंनन्, तर पनि एकाध विकास बैंक भने वाणिज्य बैंकसरह देशैभर आफ्नो उपस्थिति जनाउने प्रतिस्पर्धामा लागिरहेका देखिन्छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीतिको समीक्षा अवधिमा प्रकासित गरेको तथ्याङ्क अनुसार हाल देशभर गरेर विकास बैंकहरूको शाखा १ हजार १ सय ५९ वटा छन् । सोही अवधिमा २८ वटा वाणिज्य बैंकका भने देशभर ३ हजार २ सय ३३ वटा शाखा सञ्चालनमा छन् । ३३ वटा विकास बैंक जो आर्थिक वर्ष २०७३-७४ अघिका वाणिज्य बैंकहरू (२ अर्ब पुँजी ) सरहको हैसियत बनाएकाहरूको शाखा सञ्जालको अवस्था भने निकै कमजोर हो । यसरी हेर्दा विकास बैंकहरू वाणिज्य बैंकका प्रतिस्पर्धी संस्थाहरू भए पनि शाखा विस्तार, आधुनिक बैंकिङ, संस्थागत सुशासनलगायतका अरू धेरै मानकमा निकै पछाडि देखिन्छन् । कतिपय विकास बैंकले आफ्ना ग्राहक तथा सेयरधनीहरूलाई सूचना प्रवाह गर्ने वेबसाइटसम्म अद्यावधिक तथा निर्माण सञ्चालन गर्न सकेका देखिँदैनन् । तर, वाणिज्य बैंकहरूले भने कतिपय आफ्ना सेवालाई अनलाइकरण समेत गर्न थालिसकेका छन् । त्यसकारण विकास बैंकहरूको अहिलेको चुनौती भनेको आधुनिक बैंकिङ प्रणाली र सेवासुविधालाई विस्तार गर्नु, देशैभरका स्थानीय तहमा शाखा सञ्जाल विस्तार गर्नु, वित्तीय शुसासन कायम गर्नु र राष्ट्रिय स्तरमा आफूलाई विकास गर्दै लैजानुपर्ने देखिन्छन् ।
तर विकास बैंकहरूको सबल पक्ष भनेको ग्रामीण इलाकाहरूमा आफूलाई विश्वसनीय एवं गतिशील बनाउन सक्नु हो । ग्रामीण भेगहरूमा विकास बैंकहरूले वाणिज्य बैंकहरूलाई प्रतिस्पर्धामा पछाडि पार्दै आएका छन् । स्थानीय स्तरमा साना तथा मध्यमस्तरको निक्षेप संकलन, कर्जा प्रवाहमा विकास बैंकहरू अगाडि छन् । राष्ट्रिय स्तरका वाणिज्य बैंकहरूमा तरलता संकटको समस्या सिर्जना भइरहँदा विकास बैंकहरूमा त्यस्तो समस्या कम देखिनु ग्रामीण इलाकाहरूमा यिनीहरू गतिशील हुनुले नै हो ।
नेपाल राष्ट्र बैंकले पुुँजी वृद्धिको प्रावधान ल्याएपछि कतिपयले विकास बैंकहरूको अस्तित्वमा नै खतरा देखेका थिए । खासगरी सहरी क्षेत्रमा वाणिज्य बैंक र ग्रामीण किल्लाहरूमा लघुवित्तको प्रभाव भएका कारण पनि त्यस्तो अड्कल काटिएको थियो । पुुँजी वृद्धिको प्रावधान मर्जरलाई जोड दिने गरी ल्याइएका कारण विकास बैंकहरूको संख्या घट्यो पनि । ३३ वटा विकास बैंकमध्ये पनि १०–१२ वटा विकास बैंक राष्ट्रिय स्तरमै आर्थिक गतिविधिहरू गर्न सक्षम देखिएका छन् ।
अबका दिनहरूमा विकास बैंकहरूले व्यवस्थित रूपमा कार्य गर्न सकेको खण्डमा धेरै अवसर रहेका छन् । खासगरी विकास बैंकहरूलाई ग्रामीण भेगका दूरदराजमा वित्तीय सेवा प्रदान गर्दै काठमाडौंमा ठूूला वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । यसरी हेर्दा विकास बैंकहरूलाई सम्भावना र चुनौती दुबै उत्तिकै देखिन्छन् । ग्रामीण भेगहरूमा ‘घ’ वर्गका लघुवित्त कम्पनीहरू विकास बैंकका प्रतिस्पर्धीजस्ता देखिएका छन् भने सहरी भेगमा वाणिज्य बैंकहरू निकै ठूूला प्रतिस्पर्धीहरू हुन् ।
त्यसकारण विकास बैंकहरूलाई अन्यलाई भन्दा अझ धेरै चुनौती देखिन्छ । एकातर्फ बल्लतल्ल राष्ट्र बैंकले तोकेबमोजिम पुुँजी पु-याएका छन् । अर्कातर्फ त्यसरी बडो कष्टसाध्य तवरले पुँजी पुु-याएपछि त्यही अनुसारको सेयरधनीहरूलाई रिटर्न दिनुपर्ने चुनौती यिनमा छ । तर, विकास बैंकहरूले सहरी क्षेत्रमा प्रभाव बढाउन नसकेका कारण ग्रामीण क्षेत्रमा सानो–सानो कारोबारमा खुम्चिनुपरेको अवस्था छ । त्यसले गर्दा पनि विकास बैंकहरूले सोचेअनुरूप लाभांश वितरण गर्न सक्षम भएका छैनन् । अर्कातिर ग्रामीण क्षेत्रमा पनि लघु उद्यमशीलता सिर्जना गर्ने, गरिबी निवारण गर्ने लक्ष्य, उद्देश्यसाथ स्थापना भएका र सरकारी तवरबाट पनि विशेष ग्राह्यता पाउँदै आएका लघुवित्तहरूको संख्या १ सय पुग्न लागिसकेको छ ।
राष्ट्र बैंककै पछिल्लो तथ्याङ्कअनुसार अहिले लघुवित्त कम्पनीहरूको देशभर ३ हजारवटा शाखा सञ्चालनमा छन् । यसरी विकास बैंकहरूलाई सरकारबाट ग्राह्यता प्राप्त लघुवित्त कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न ग्रामीण भेगहरूमै पनि कठिन छ । यसर्थ विकास बैंकहरू अहिले पनि सबैभन्दा बढी चुनौतीको सँघारमा छन् । तर, पनि जे–जति विकास बैंकहरू राष्ट्र बैंकले तोकेको पुुँजीको दायरामा आएका छन् । तिनले आफ्नो भविष्यको यात्रा सहज बनाउन सक्ने प्रशस्त सम्भावना छन् । पहिलो त विकास बैंकहरू अहिले पुुँजीका हिसाबले सबल भएका छन् । उनीहरूले ठूूलो स्केलमा लगानी गर्न सक्ने आधार बनाएका छन् । दोस्रो अलि बढी ग्रामीण भेगहरूमा केन्द्रित भएका कारण पनि विकास बैंकहरूले तरलता अभावको संकट बेहोर्नुपर्ने छैन, जसले गर्दा उनीहरूलाई प्रतिस्पर्धीहरूसँग मुकाबिला गर्न सहज हुन्छ । र, उनीहरूले ग्राहक तथा सेयरधनीहरूको अझ बढी विश्वास जित्न सक्छन् ।
विकास बैंकहरूले ग्रामीण क्षेत्रहरूमा मात्रै होइन, सहरी क्षेत्रहरूमा पनि शाखा विस्तारमा जोड दिनु आवश्यक हुन्छ । त्यसो गर्न सक्दा ग्रामीण क्षेत्रका ग्राहकहरू सहरी क्षेत्रमा आउँदा पनि बैंकसँग जोडिन सक्छन् । कारोबारलाई निरन्तरता दिन सक्छन् ।
वाणिज्य बैंक र विकास बैंकहरूको कार्यक्षेत्र ठ्याक्कै विभाजन नभएका कारण पनि विकास बैंकहरू चर्को प्रतिस्पर्धाको चपेटामा परेका हुन् । त्यसकारण पनि देशव्यापी प्रतिस्पर्धामा वाणिज्य बैंकसरह विकास बैंकहरू लागिपर्नुपर्ने चुनौती देखिन्छ । किनकि ग्राहकहरू खासगरी पुुँजीका आधारमा बैंकहरूलाई विश्वासिलो ठानिरहेका हुन्छन् । विकास बैंकहरूको पनि पुँजी वृद्धि भइसकेको आधारमा पहिलेको भन्दा धेरै हदसम्म ग्राहकहरूको विश्वास बढिसकेको छ । त्यसकारण अब विकास बैंकहरूले प्रतिस्पर्धामा हात धोएर लागिपर्नुपर्ने बेला आएको छ ।
यद्यपि विकास बैंकहरूलाई पुुँजी वृद्धि गराएर ठूूलो त बनाइएको अवस्था छ, तर अझै पनि सरकारी खाता विकास बैंकहरूमा नरहने नीतिका कारण उनीहरू सबै स्थानीय तहमा शाखा विस्तारमा हिचकिचाइरहेका देखिन्छन् ।
वाणिज्य बैंक र विकास बैंकहरूबीच राष्ट्र बैंकले दिएको अधिकारमा त्यति भिन्नता नभए पनि विकास बैंकले व्यापार व्यवसायमा लगानी गर्न प्रतीतपत्र (एलसी) खोल्न नपउँदा त्यो क्षेत्रमा उनीहरूले लगानी गर्न पाएका छैनन् । यी विविध कारणले विकास बैंकहरू केही अप्ठेरोमा छन् । तर पनि विकास बैंकहरूले पछिल्ला वर्षहरूमा वाणिज्य बैंकहरूसरह एटीएम कार्ड, डेबिट कार्ड, भिसा कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङलगायतका आधुनिक सुविधाहरू दिन थालेका छन् । तथ्याङ्कअनुसार झन्डै ३५ लाख ग्राहक विकास बैंकहरूसँग छन् । त्यस हिसाबले पनि विकास बैंकहरूले एउटा रुट समातेको अवस्था छ । विकास बैंकहरूले अझ आफ्नो स्पष्ट बाटो तय गर्नुपर्ने र देशव्यापी उपस्थिति जनाउनुपर्ने बेला भने आएको छ ।