अनलाइन सेवाप्रति सेवाग्राही असन्तुष्ट

जुम्ला-सिंजा गाउँपालिका–१ डिग्रागाउँकी मुन्कली कामी जिल्ला मालपोत कार्यालय जुम्लामा धाउन थालेको तीन साता भयो । उनी गत मंसिर २३ गतेदेखि जग्गा नामसारी गर्न दुई दिनको बास बसी सदरमुकाम आइन् । होटलमा बसेर धेरै खर्च भइसक्यो तर काम नभएको उनले गुनासो गरिन् । पहिला ढिलोमा २-३ दिनमा जुनसुकै काम सकिन्थ्यो, तर आजभोलि अनलाइन सेवाका नाममा सास्ती मात्रै भएको कामीको दुःखेसो छ । प्रत्येक दिन पाँच सयका दरले करिब १५ हजार खर्च भइसक्यो काम हुने टुंगो छैन ।
त्यस्तै पातरासी गाउँपालिका–७ पटमाराकी विमला थापा पनि मालपोत कार्यालयमा चक्कर लगाउन थालेको पाँच दिन भयो । उनको काम पनि कहिले हुने टुंगो छैन । जहिले जाँदा पनि तपार्इंको पालो नआएको भन्दै फर्काउने गरेको थापाले बताइन् । यता तातोपानी गाउँपालिका–५ लाम्राका धर्मबहादुर रोकायाले भने, मंसिर १२ गते मालपोतमा कागजात बुझाएका थिए । तर पुुुस ७ गतेसम्म पनि उनको काम भएको छैन । कर्मचारीसँग बुझ्दा अझै पालो कहिले आउने हो, थाहा नै नभएको बताए । तातोानी गाउँपालिकाकै धनबहादुर बुढा पुस १ गतेदेखि मालपोतको कामले आवतजावत गर्दै थाकिसकेको बताउँछन् भने, गुठिचौर गाउँपालिका–४ वडा खल्लावाडाका ६० वर्षीय ठेपसिंह सार्की छोराको नाउँमा जग्गा नामसारी गर्न मालपोत आउन थालेको एक साता हँुदा पनि काम के भयो कहिले हुने भन्ने कुनै थाहा छैन भन्दै दुःखेसो गरिन् ।
जिल्ला मालपोत कार्यालय जुम्लामा सञ्चालन गरिएको सुस्त अनलाइन सेवाले धनबहादुर, मनकला, विमला र ठेपसिंहमात्र हैन जुम्लाका सम्पूर्ण सेवाग्राही असन्तुष्ट छन् । दैनिक सयौं सेवाग्राहीको भीड हुने मालपोत कार्यालयमा पूर्णतयारी बिनैअनलाइन सेवा सुरु गर्दा सेवाग्राहीले सास्ती पाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, “प्रविधिमैत्री सेवा दिनका लागि तालिम प्राप्त कर्मचारी, निरन्तर बत्ती, सफ्टवेयर अपडेट हुनुपर्छ ।” अध्यक्ष महतले थपे कुनै कुरा तयारी नगरी अनलाइन सेवा चलाउँदा नागरिकले सास्ती पाएको उनको भनाइ छ ।
अनलाइन सेवा प्रभावकारी नुहुका कारण
मालपोत कार्यालयका सबै अभिलेख सुरक्षित राख्न तथा छिटोछरितो सेवा दिन अनलाइन सेवा अत्यावश्यक हो । जिल्ला मालपोत कार्यालय जुम्लाका प्रमुख मिनबहादुर रावतले जुम्लामा अनलाइन सेवा प्रभावकारी नहुमा धेरै कारण रहेको बताए । पहिलो कारण जुम्लाकोे बत्ती हो । जुम्लामा २०७५ सालबाटै अनलाइन प्रणाली सुरु हुनुपर्ने हो । त्यही बत्ती अभावकै कारण हुन सकेन ।
नयाँ भवनमा आएपछि २०७६ बाट अनलाइन सेवा सुरु गरे पनि बत्ती अभाव, तीव्र इन्टरनेटको कमी र कम्प्युटरमा काम गर्ने कर्मचारी अभावका कारण अनलाइन सेवा प्रभावकारी बनाउन नसकिएको कार्यालय प्रमुख रावतले बताए । दैनिक सयौ सेवाग्राही आउँछन् अनलाइनमा काम गर्ने कर्मचारी तीनजना मात्रै छन् । अन्य कर्मचारीलाई अनलाइन सम्बन्धी ज्ञान छैन । जसका कारण अनलाइन सेवा सुस्त हुन पुगेको हो ।
मालपोत कार्यालय जुम्ला । तस्बिर ः कारोबार