लमजुङमा राष्ट्रिय जनगणनाको तयारी सुरु

लमजुङमा राष्ट्रिय गणना २०७८ को तयारी शुरु भएको छ । राष्ट्रिय जनगणनाको तयारीबारे तथ्यांक कार्यालय गोरखाले लमजुङ सदरमुकाम बेसीशहरमा जिल्लास्तरीय अन्तरक्रिया समेत गरेको छ ।
हरेक १० वर्षको अन्तरालमा गरिने राष्ट्रिय जनगणना अन्तर्गत १२ औँ गणनाको तयारी शुरु गरेको तथ्यांक कार्यालय गोरखाका प्रमुख जिवनाथ आचार्यले बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख आचार्यले जनशक्ति र अन्यश्रोत प्रक्षेपणसहित परियोजनाको तयारीबारे जानकारी गराएका हुन् ।
जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड अनुसार आगामी जनगणनाका लागि आव ०७६-७७ देखि ०७९-८० सम्मको कार्ययोजना बनाइसकेको बताउँदै जिल्ला र स्थानिय तहमा समेत तयारी शुरु गरेको आचार्यले बताए । जनगणनाको तयारी स्वरुप ०७७-७८ मा प्रदेश तथा जिल्ला र स्थानीय तहमा कार्यालय स्थापना गर्ने बताइएको छ । जनगणना कार्यालय अन्तर्गत सबै तहमा जनगणना समन्वय समिति गठन हुनेछ ।
तथ्यांक कार्यालयका अनुसार लमजुङमा एक जिल्ला कार्यालय सहित स्थानीय तहमा थप दुईवटा जनगणना कार्यालय स्थापना हुनेछन् । सदरमुकाम बेसीशहरमा स्थापना भएको कार्यालयल बेसीशहर नगरपालिका सहित मस्र्याङदी गाउँपालिका र दोर्दी गाउँपालिका हेर्ने छ भने सुन्दरवजारमा स्थापना हुने कार्यालयको सुन्दरवजार नगरपालिका सहित राईनास नगरपालिका र दूधपोखरी गाउँपालिका कार्यक्षेत्र रहने छ । यस्तै मध्यनेपालमा स्थापना हुने कार्यालयले मध्यनेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिकालाई कार्यक्षेत्र बनाउने आचार्यले जानकारी दिए ।
तथ्यांक कार्यालयका अनुसार २०७८ सालको जेठ महिनामा मुख्य गणना कार्य हुने छ । तथ्यांक संकलनका लागि बहु मोडल दृष्किोण अपर्नाइने तथ्याँक कार्यालयले जनाएको छ । सहज पहुँच र उच्च नेटवर्कका आधारमा ट्याबलेट र कागजी दुवै किसिमको मिश्रितरुपमा प्रयोग हुने र विदेशस्थित कूटनीतिक नियोगमा विद्युतीय गणना विधिको समेत प्रयोग हुने कार्यालयले जनाएको छ ।
गणनामा तथ्यमा आधारित बसोवासको विधि प्रयोग गर्ने र यसअनुसार गणनाको समयमा जो व्यक्ति जहाँ छ त्यहीँबाट गणना गर्ने बताइएको छ । अक्सर बसोबास अर्थात गणनाको समयमा कुनै व्यक्ति जहाँ बसोबास गर्छ त्यहीबाट गणना हुने छ । यस विधिमा घर नभएका र चलायमान व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ छ त्यहीबाट गणना गर्ने तथ्यांक कार्यालयले जनाएको छ ।
विभागले घर तथा परिवार सूचीकरणका लागि २० दिनसमय तोकेको छ भने व्यक्तिगत गणनाका लागि १५ दिन समय तोकेको छ ।
तथ्यांक कार्यालयका अनुसार आव ०७९-८० मा तथ्यांक प्रविष्टि गर्ने, जनगणना जाँच सर्वेक्षण गर्ने, त्यसको दुई-तीन महिनामा प्रारम्भिक नतिजा सार्वजनिक गरिसक्ने विभागको तयारी छ । अन्ततः सम्पूर्ण नतिजा सार्वजनिक गरेर विषयगत प्रतिवेदन तयार गरी प्रकाशन समेत गर्ने विभागको योजना छ ।
मुलुकको विकासको आधार राष्ट्रिय जनगणना भएको भन्दै जनगणनालाई प्रभावकारी र सत्यतथ्यमा आधारित बनाउन विशेष ध्यान दिनुपर्ने जिल्लाका सरोकारवालाहरुले जोड दिएका छन् । यसअघिका जनगणनकाको क्रममा भएका त्रुटिहरुलाई सच्याउदै सत्यतथ्य तथ्यांक आउनेगरी गणना गर्नुपर्ने उनिहरुको सुझाव छ ।
मेरो गणना मेरो सहभागिता भन्ने नारासहित २०७८ सालमा राष्ट्रिय जनगणना हुने तथ्यांक कार्यालयले जनाएको छ । यसअघि कोहि नछुटुन, कोहि नदोहोरिउन् भन्ने नारासहित २०६८ मा राष्ट्रिय जनगणना भएको थियो । सन १९६८ पछि नेपालमा करिब १०-१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ ।
जनगणनामा शिक्षक परिचालन नगर्ने
केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि शिक्षकहरुलाई परिचालन नगर्ने भएको छ । यसअघि शिक्षकहरूलाई जनगणनाको गणकको रूपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरूलाई परिचालन नगर्ने स्पष्ट पारेको हो ।
जनगणनाको निम्ती सुपरिवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको तथ्यांक कार्यालय गोरखाका प्रमूख जिवनाथ आचार्याले बताए ।
जिल्ला तथा स्थानिय तहमा स्थापना गरीएका जनगणना कार्यालयहरुमा नेपाल सरकारका स्थायी कर्मचारी खटाईने र सुपरिवेक्षण तथा गणकहरु भने करारमा राखिने बताइएको छ । करारमा कर्मचारी राख्नको निम्ती निश्चित समयावधी राखेर विज्ञापन खुलाईने र विज्ञापन अनुसार कर्मचारी अभाव भएमा भने शिक्षकहरुलाई प्रयोग गर्न सकिने तथ्याँक कार्यालयले जनाएको छ ।
तथ्यांक कार्यालयका अनुसार लमजुङमा एक जिल्ला कार्यालय सहित स्थानीय तहमा थप दुईवटा जनगणना कार्यालय स्थापना हुनेछन् ।