अलैंची खेतीमा भविष्य खोज्दै युवा «

अलैंची खेतीमा भविष्य खोज्दै युवा

तेह्रथुम-लाखौं ऋण काडेर विदेशीभूमिमा पुग्दै आएका युवा पछिल्लो समय स्वदेशमै कृषि ब्यवसाय गर्न थालेका छन् । विदेशबाट फर्किएका युवा यतिबेला ब्यावसायिक रूपमै अलैंची खेतीमा लागेका हुन् । विदेशमा गरेको श्रम गाउँमै खर्चिने मनसाय बोकेका युवा यतिबेला अलैंचीखेती तर्फ लाग्दै आएका छन् ।
पराईको मुलुकमा ज्यान जोखिममा राखी पिजँडाको सुगाझैं रहनुको सट्टा आफ्नै परिवारको साथमा रम्दै युवाले अलैंचीखेती थालेको जिल्लाको ओयाक्जुङका चन्द्र जोगीले बताए । “लाखांै ऋण काडेर दुबईमा २ वर्ष बिताए पनि साहुको ऋणमात्र तिरें अरु केही जोड्न सकिन,” उनले भने । जोगीले विदेशमा गरेको श्रम आफ्नै गाउँमा खर्चिने सोचका साथ अलैंचीखेती सुरु गरेका छन् । ४० वर्षीया जोगीले २६ हजार अलैंचीको बिरुवा १ लाख ५० हजारमा इलामबाट खरिद गरी अलैंचीखेती विस्तार गर्दै आएका छन् । जोगीले गत र यस वर्ष १० मन अलैंची बिक्री गरेका छन् । अलैंचीको मूल्य नभए पनि लगानी खेर नगएको उनले बताए । अलैंची खेतीबाट जिल्लामा बर्सेनि करोडौं रुपैयाँ भित्रिँदै आएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।
गाउँमा खेर गइरहेको चिसो खोल्सा, भीरपाखा र ओसिलो जमिनमा कम लगानी र थोरै मेहनतमा लाखौं रुपैयाँ आम्दानी हुने भएपछि सुरु गरेको जोगीले बताए । अलैंची उत्पादन निकै राम्रो भएको छ । अन्य युवा पनि अलैंची खेतीप्रति आकर्षित भएका छन् । अन्य नगदेबाली र खाद्यान्न बालीको तुलनामा कम लागत र बढी मुनाफा हुने भएकाले युवाहरू व्यावसायिक रूपमा अलैंचीखेती गर्न थालेका हुन् । बारीमा मकै, कोदोको उत्पादन राम्रो नभएपछि खाद्यान्न बाली र अन्य नगदेबाली छोडेर व्यावसायिक रूपमा अलैंचीखेती सुरु गर्न थालेको बताउँदै जोगीले अन्य खेतीलाई मासेर व्यावसायिक रूपमा खेतबारीको खाली जमिन अलैंचीखेती गर्दै आएका छन् ।
कालो सुन भनेर चिनिने अलैंचीको उत्पादन र मूल्य पनि राम्रै हुने गरेकाले युवाको आकर्षण बढ्दो रहेको हमरजुङका अलैंची कृषक दिलबहादुर लिम्बुले बताए । करिब १ दशक विदेशमा बिताएका भएका लिम्बुले अहिले १५ रोपनी जमिनमा अलैंचीखेती गर्दै आएका छन् । रोजगारको खोजी गर्दै धेरै युवा विदेश पुग्ने गर्छन् ।
धेरै पैसा कमाउने सोचले विदेश छिरें, तर सपना पूरा भएन अहिले गाउँमै अलैंचीखेती गर्दै आएको छु बजारमा मूल्य हुँदा विदेशको कमाइ गाउँमा नै गर्न सकिने उनले बताए । मेहनत र समय कम लाग्ने र अलैंची खेतीसँगै अन्य व्यवसाय पनि गर्न मिल्ने भएकाले अलैंचीखेती गर्न थालेको उनको भनाइ छ । जिल्लाको ६ वटै स्थानीय तहमा अलैंची खेतीमा युवाको आकर्षण बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्