सौर्य ऊर्जाबाट सिँचाइ

जुम्ला-जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा सोलार वाटर लिफ्टिङ प्रविधिबाट तिला नदीको पानी झन्डै २ सय मिटर माथि निकालेर सिँचाइमा प्रयोग हुन थालेको छ । योसँगै मरुभूमि जस्तै देखिने क्षेत्र पछिल्लो समय हराभरा भएको छ । सोलार प्रविधिबाट पानी सिधै पाखामा आएपछि किसानहरू धमाधम स्याउ खेती गर्न थालेका छन् ।
जुम्लाका धेरै ठाउँमा जडान गरिएका सोलार वाटर लिफ्टिङमध्ये धौलापानीको आयोजना निकै नमुना मानिएको छ । यहाँका किसानले सिँचाइको अभावमा स्याउ खेती गर्न छोडेका थिए । जुम्लामा स्याउलाई प्रमुख नगदेवालीका रूपमा लिने गरिन्छ । सिँचाइको अभावले स्याउबाट आम्दानी गर्न बन्चित किसान अहिले निकै खुसी भएका छन् ।
सुक्खा क्षेत्रमा सिँचाइ सुविधा पुर्याएर व्यावसायिक रूपमा उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ धौलापानीमा सोलार जडित गरिएको विकास परियोजना जुम्लाका प्रमुख दशरथ उपाध्याले बताए । उनका अनुसार पानी तान्ने पम्प (सोलार वाटर लिफ्टिङ पम्प) प्रविधिबाट सिँचाइ सुविधाको पुगेपछि अहिले स्याउ खेती फस्टाउन थालेको छ । योजनाबाट झन्डै ७० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरूले आ–आफ्नो जग्गामा झन्डै दुई हजार पाँच सय स्याउका बिरुवा रोपेका छन् । सोलार वाटर लिफ्टिङपम्प प्रविधि प्रभावकारी हुँदै गएपछि वर्सेनि स्याउ खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।
धौलापानीमा जडान गरिएको सोलार वाटर लिफ्टिङले दैनिक २० हजार लिटरसम्म पानी तान्न छ । आवश्यकताभन्दा बढी पानी आएपछि सबै किसान स्याउ खेतीमा लागेका हुन् । तिला नदीको पानी दुई चरणमा फिल्टर गरी पम्पको सहायताले पाइपबाट २ सय मिटर माथि तानिएको छ । पानी व्यवस्थित तरिकाले संकलन गरी कृषकले सुक्खा मौसममा पालैपालो आफ्नो बगैंचामा सिँचाइ गर्ने गरेका छन् । ७० घरधुरीले पालैपालो गरी स्याउमा सिँचाइ गरेपछि अहिले यो गाउँ नमुना बन्दै गएको छ ।
सोही ठाउँमा स्याउ बगैंचालाई पायक पर्ने गरी ५० हजार लिटर क्षमता भएका ३ वटा पोखरी निर्माण गरिएको छ । साथै बाँझो रहेको बाँकी जमिनमा पनि कृषकले विस्तारै स्याउको बिरुवा सार्ने योजना बनाएका छन् ।
युरोपियन युनियन, जर्सी ओभरसिस एड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १५ लाख ५१ हजार ९ सय ९५ रुपैयाँ आर्थिक सहयोगमा निर्मित विकास परियोजना अन्तर्गत (सोलार वाटर लिफ्टिङ पम्प) परीक्षणका रूपमा सुरु गरिएको यो प्रविधि कर्णालीकै नमुना योजना हो । यस प्रविधिबाट कर्णालीका अन्य जिल्ला र स्थानमा पनि यस्तै खालका नवीनतम् प्रविधिसहितका योजनाको माग वृद्धि भइहेको छ ।
यस प्रविधिको निमार्णबाट धौलापानी गाउँमा कृषि वस्तु उत्पादनमा वृद्धि भई कृषकहरूको आम्दानी बढ्ने देखिन्छ । “प्रविधिको प्रयोगले हाम्रो बाँझो जग्गा सदुपयोग भयो, यसै ठाउँमा सोचेजति स्याउ लगाउन पाइने भो,” स्थानीय कृषक मीनबहादुर बुढ्थापाले भने, “अब कमाउनका लागि कालापहाड जान नपर्ने भएपछि दुःखका दिन गए ।” नदीबाट एक घण्टाको समय लगाएर एक गाग्री पानी बोकेर एउटा बिरुवा हुर्काउन सम्भव थिएन । यस प्रविधिले कृषकको समय र दुःख व्यवस्थापन भएको कृषक छक्क भण्डारीले बताए ।
जुम्लालाई स्याउमा आत्मनिर्भर जिल्ला भनेर चिनिन्छ । जुम्लामा रहेका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउ बगैंचा छ । तर तीमध्ये सबैलाई सिँचाइको सहजता भने छैन ।
पिउने पानीको समस्या टर्यो
जुम्लाका अधिकांश गाउँमा खानेपानीको समस्या छ । पानीको स्रोत पर्याप्त भए पनि संरचना दिगो नहुने, संरक्षण र सम्बद्र्धनको अभावलगायतका कारण खानेपानीको समस्या ग्रामीण बस्तीले झेल्दै आएका छन् । यस्तै खानेपानीको समस्या धौलापानीमा पनि थियो । तर, जब सोलार वाटर लिफ्टिङपम्प जडान भयो, स्याउ खेतीमा राहत त पुग्यो नै । त्योभन्दा पनि पिउने पानीको वर्षौंदेखिको समस्या टरेको छ । “पहिला गाउँमा पिउने पानी थिएन, घन्टौं हिँडेर ल्याउनुपर्ने बाध्यता थियो,” स्थानीय कालो विष्टले भने, “अहिले निकै सहज भएको छ ।” सोलार वाटर लिफ्टिङ प्रविधिले कृषि क्षेत्रमा समृद्धि ल्याई कृषकलाई आत्मनिर्भर बनाउने भए पनि सिँचाइका साथै पिउने प्रयोजनका लागि १ हजार लिटरको ट्यांकी पनि जडान गरिएको छ ।
“तिला नदीबाट धौलापानीसम्म आइपुग्दा पानी दुई चरणमा फिल्टर हुन्छ,” विकास परियोजनाका कृषि प्राविधिक लक्ष्मी चन्द बुढाले भने, “पानी पिउनलाई अति उपयुक्त छ ।” दिनमा १ हजार लिटरको ट्यांकी भरिएपछि धौलापानीका स्थानीयलाई साँझ बिहान सरसफाइदेखि पिउनसम्म पुगेको छ ।
सागर परियार