नेपाली बजारमा फूलको व्यापार
तिहार नेपालीहरूको दसैँपछिको दोस्रो ठूलो चाड हो । यो चाडमा फूल, सुन, भाइ मसला, झिलिमिली बत्ती एवम् कपडाको ठूलै व्यापार हुने गर्छ । तिहार फूलैफूलको पर्व हो । नेपाली बजारमा फूलको माग प्रत्येक वर्ष बढेका कारण विदेशबाट समेत फूल आयात गर्नुपर्ने हुन्छ । तिहारमा बढीभन्दा बढी खपत मखमली र सयपत्री फूलको हुने गर्छ । तिहारमा अन्य समयको भन्दा बढी फूलको बिक्री हुन्छ ।
घरवरपरको डिल, पाखो, आलीमा रोपिने फूल केही वर्षदेखि व्यावसायिक रूपमा खेती हुन थालेको छ । यसले नेपाली बजारमा राम्रो स्थान पाइसकेको छ । पूजाआजामा मात्र प्रयोग हुने फूल व्यापारको क्षेत्र फैलिनु भनेको आर्थिक दृष्टिकोणले पनि ज्यादै महत्वपूर्ण मानिन्छ । जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा फूलको प्रयोग हुने गरेबाट पनि मानव जीवनमा फूलसँग घनिष्ठ सम्बन्ध रहेको देखिन्छ । पर्यावरण सन्तुलन, सौन्दर्यदेखि औषधीय रूपमा समेत महत्वपूर्ण स्थान ओगटेको फूलको खेती गरेर हिजोआज राम्रै आयआर्जन हुन थालेका समाचारहरू पनि प्रकाशमा आउन थालेका छन् ।
असोजको दोस्रो हप्ता परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गरिएको फूलखेती प्रभावित भएका कारण बजार फूलको अभाव हुने देखिएको छ । जसका कारण गत सालको तुलनामा बजारमा फूल र मालाको मूल्य बढेको पाइन्छ । गत साल फूल बेच्ने स्थानको व्यवस्था बेलैमा नहुँदा नेपाली फूल किसानले निकै घाटा भोग्नुपरेको थियो । यस वर्र्ष काठमाडौं महानगरले स्थान तोकिदिएका कारण फूल विक्रेताले गलसालको जस्तो सास्ती भोग्नुपर्ने देखिन्न । तर, गत वर्ष ६५ देखि ७० रुपैयाँमा पाइएको भए पनि यस वर्ष प्रतिगोटा मालाको होलसेल मूल्य नै ८० देखि ८५ सम्म रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । अविरल वर्षाले करिब १५ करोडको फूल नोक्सान भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ७ लाख बढी सयपत्री फूल मालाको माग छ ।
गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । जबकि बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ । यस वर्ष तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजारमा माग छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख माला रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको छ ।
बजारमा फूलको माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म बढ्ने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री फूल भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन ।
नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका ५० भन्दा बढी जिल्लामा पुष्पखेती विस्तार भएको छ भने नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।
तिहारमा पाँच दिनसम्म फूलको अधिक प्रयोग हुने गर्छ । प्रायः घर, अफिस सबैतिर दीपावली गरिने भएका कारण घरका ढोका, झ्याल, भण्डार आदिमा फूलको मालाले सजावट गरिन्छ भने लक्ष्मीपूजाको दिनमा लक्ष्मीको पूजाअर्चना गर्न विभिन्न प्रकारका फूलका माला प्रयोग हुन्छ । त्यस्तै, कुुकुरपूजा, गाईपूजा, गोरुपूजा, म्हपूजा र भाइपूजामा समेत विभिन्न प्रकारका फूल र फूलका माला प्रयोग हुने हुँदा फूलको माग बढ्नु स्वाभाविकै हो ।
यस पर्वमा बिक्री हुने मखमली फूलको पनि विशेष महत्व रहेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलको माला अरू बेला प्रयोग गरिन्न । कहिल्यै नओइलाउने यो फूलको माला दिदीबहिनीले दाजुभाइलाई लगाइदिने महत्वपूर्ण माला हो । त्यसैले यो समयमा मखमली फूलको पनि राम्रै व्यापार हुने गरेको पाइन्छ । भक्तपुर, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रे, ललितपुर आदि ठाउँमा मखमली फूलको उत्पादन हुने गरेकाले यी जिल्लालाई मखमली फूलको पकेट क्षेत्र घोषणा गर्ने र आगामी दिनमा मखमली फूल उत्पादनमा विशेष जोड दिने हो भने फूलखेतीबाट पनि केही हदसम्म बेरोजगारी समस्या हल गर्न सकिन्छ । बजारमा मखमलीजस्तै सयपत्री र अन्य फूलको पनि माग बढेको सन्दर्भमा विदेशी फूलको आयातलाई न्यूनीकरण गर्न स्वदेशमा नै फूल खेतीका लागि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
बाह्रै महिना फूलको आवश्यकता पूर्ति एवम् फूल व्यवसायलाई व्यवस्थित गर्न फूलको शीतभण्डारको पनि व्यवस्था गर्नुपर्छ । यदि त्यसो गर्ने हो भने फूलका लागि हामीले विदेशीको भर पर्नुपर्ने देखिन्न । व्यावसायिक रूपमा फूल खेती गर्न नसक्दा विदेशीको भर पर्नुपरेको छ । त्यसैले नेपाली कृषकलाई फूल खेतीमा आकर्षित गर्न यस खेतीमा जोड दिनुपर्छ । त्यसका लागि विशेष अनुदान, मलखाद, बीउबिजन, तालिमको पनि व्यवस्था गर्नुपर्छ । त्यसो गर्न सकेमा फूलखेतीतिर सबैको ध्यान आकर्षित हुनेछ । स्वदेशमै व्यावसायिक रूपमा फूलखेती गर्न युवाहरू आकर्षित हुन्छन् । स्वदेशमै युवाले रोजगारीको अवसर पाउन सक्छन् । स्वदेशी अर्थतन्त्र पनि बिदेसिन पाउँदैन ।
नेपालमा स्थानीय फूलको बीउ लोप भइसकेका कारण त्यसको जगेर्ना गर्दै फूल खेती गर्नु आजको टड्कारो आवश्यकता हो । अधिकांश फूलका बीउ भारतबाटै निर्यात गरिने परिप्रेक्ष्यमा स्वदेशी फूलका बीउलाई नै प्रोत्साहन दिने हो भने हाम्रो आफ्नै मौलिकता बोकेका फूलको पनि जगेर्ना हुने देखिन्छ । हामीले हाम्रा मौलिक चाडमा विदेशबाट आयात गरिएका सामग्रीको प्रयोगमा जोड दिँदै आएका छौँ । दसैँमा कपडा, फलफूल, माछा, खसीबोका लागि विदेशको भर पर्नुपरेको छ भने तिहारका लागि फूल, भाइमसला, फलफूल, कपडा, झिलीमिली बत्तीलगायत सबै चिज विदेशबाट नै आयात गर्नुपरेको छ । जनैपूर्णिमामा प्रयोग हुने गेडागुडी एवम् तिजमा प्रयोग हुने पोते, चुरा, साडी आदि सबैका लागि हामीले विदेशको भर पर्नुपरेको छ । चाडपर्व स्वदेशी, सामग्री विदेशी प्रयोग गर्दा हाम्रो पुँजी बाहिरन पुगेको छ । त्यसैले अर्थतन्त्र बाहिरिन नदिनका लागि राज्य पक्षले विशेष ध्यान दिनुपर्छ ।
हामीकहाँ उत्पादन हुन सक्ने सामग्रीको उत्पादनमा जोड दिन राज्यले स्रोतसाधनको व्यापक परिचालन गर्नुपर्छ । देश विकासका लागि राज्यले स्वदेशी स्रोत र जनशक्ति परिचालन गरी ठोस नीति कार्यान्वयन गर्नतिर अग्रसर हुनुपर्छ । चाडपर्वका मुखमा कृत्रिम अभाव खडा गर्ने महँगी र कालोबजारीलाई प्रोत्साहन दिने परिपाटी अझै पनि नेपाली बजारबाट हट्न सकेको छैन, जसका कारण नेपाली उपभोक्ताले ठूलो समस्या भोग्नुपरेको छ ।
आज स्रोत र साधन उपलब्ध हुँदा पनि राज्यको स्पष्ट नीतिको अभावमा युवाशक्ति विदेश पलायन हुन बाध्य भएका छन् । त्यसैले सरकारले स्पष्ट नीतिको तर्जुमा गर्ने हो भने बेरोजगारी समस्या केही हदसम्म न्यून हुन जान्छ र देशको अर्थतन्त्र पनि मजबुत हुने भएका कारण राजगारीका अवसर सिर्जना गर्नतर्फ सरकारको बेलैमा ध्यान जानु आवश्यक देखिन्छ ।