पुँजीबजार संकटको जिम्मेवार अर्थमन्त्री हुन् त ?

दैनिकजसो हुने राजनीतिक गतिविधि, सरकार परिवर्तन तथा कतिपय अवस्थामा हल्लाले समेत सेयर बजारमा सकारात्मक तथा नकारात्मक असर पार्ने गर्छ । |
२०७२ सालको भूकम्पले हल्लाउन नसकेको सेयर बजार पछिल्लो समयमा हल्लिरहेको छ । सेयर बजार निरन्तर ओरालो लागिरहेको देखिन्छ । कतिपय सेयरधनीहरूको मनोविज्ञान हेर्दा सेयर बजार ओरालो लाग्नुको जिम्मेवार अर्थमन्त्री डा. खतिवडालाई मान्ने गरेका छन् । त्यसो त नेकपाको बलियो भनिने सरकारको अर्थमन्त्री बनेको डा. खतिवडाले अर्थमन्त्री बनेदेखि नै बेला–बेलामा सेयर बजारका बारेमा दिने अभिव्यक्तिले सेयर बजारमा तरंग ल्याउने गरेको छ ।
डा. खतिवडाले दिने गरेको अभिव्यक्तिले सेयर बजारमा खति मात्र हुने गरेको पनि सरोकारवालाहरूको भनाइ छ । सेयर बजारप्रति उनको धारणा तथा उनको संकुचित सोचले सेयर बजारमा नकारात्मक प्रभाव पार्ने गरेको कतिपयको भनाइ छ । के सेयर बजार अहिलेको अवस्थामा पुग्नुमा अर्थमन्त्री मात्रै जिम्मेवार हुन् त ? सेयर बजारको यस्तो अवस्था हुनुमा अर्थमन्त्रीलाई मात्र जिम्मेवार ठह-याउनु न्योयोचित नभएको पनि कतिपयको भनाइ छ । सेयर बजार ओरालो लाग्नु र उकालो लाग्नुका विविध कारण हुन्छन्, तर पनि अर्थमन्त्री डा. खतिवडा सेयर बजारप्रति नकारात्मक भएकोमा भने कसैको दुईमत नहोला । अर्थमन्त्री डा. खतिवडाले सेयर बजारका बारेमा बेला–बेलामा दिने गरेको अभिव्यक्तिले पनि सेयर बजारमा नकारात्मक असर गर्ने गरेको कतिपय लगानीकर्ताको बुझाइ गलतै भने होइन । मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेको समयमा अर्थमन्त्री डा. खतिवडालाई हटाइँदैछ भन्ने समाचार बाहिरिएकै दिन नेप्से १४ अंकले बढेको थियो । यसलाई आधार मानेर पनि अर्थमन्त्री डा. खतिवडालाई जिम्मेवार मान्नेहरू पनि नभएका होइनन् ।
अहिलेको सरकार पनि सेयर बजारमैत्री नभएको सरोकारवालाहरूले बताउँदै आइरहेका छन् । त्यसो त कतिपय अवस्थामा देशको राजनीतिका कारण अर्थमन्त्रीले सेयर बजारमा दिने अभिव्यक्तिहरूले सेयर बजारमा असर गरेको नेपालमा मात्र नभई विश्वभर नै धेरै उदाहरण छन् । त्यसैगरी राजनीतिक खिचातानी तथा सरकारका अर्थमन्त्रीको अभिव्यक्ति र राज्य नियामक निकायको नीति–निर्देशनले पनि सेयर बजारमा प्रभाव पार्ने गरेका धेरै उदाहरण छन् ।
देशमा राजनीतिक स्थिरता अथवा अस्थिरता, शान्ति अथवा अशान्ति, राजनीतिक स्थायित्व, नाकाबन्दीजस्ता कारणले देशको सबैजसो क्षेत्रलाई अन्योलमा पारिरहेका हुन्छन् । यस्तै अन्योलले व्यापार, व्यवसाय, पर्यटन, उद्योग आदि ठाउँमा गम्भीर असर पारेकै हुन्छ । यसका साथै देशको सेयर बजारमा पनि प्रभाव पारेको हुन्छ । देशमा हुने राजनीतिक परिवर्तन, सरकार परिवर्तन, त्यसैगरी देशका अर्थमन्त्रीको विचार आदिले पनि सेयर बजारमा प्रभाव पारेको हुन्छ । विगतदेखिको सेयर बजारको इतिहास नियाल्दा पनि देशमा आएको राजनीतिक परिवर्तन र सरकार परिवर्तनले सेयर बजारमा उथलपुथल, तरंगित पारेकै देखिन्छ । यसो त सेयर बजारमा राजनीतिक कारण, सरकार परिवर्तन तथा राज्य कारणले मात्र सेयर बजारमा असर पर्ने गरेको भने पनि यसमा विविध कारणले पनि प्रभाव पार्ने गरेका छन् । कतिपय अवस्थामा त सेयर बजारमा चलेका हल्लाले समेत सेयर बजारमा प्रभाव पारेका हुन्छन् ।
दैनिकजसो हुने राजनीतिक गतिविधि, सरकार परिवर्तन तथा कतिपय अवस्थामा हल्लाले समेत सेयर बजारमा सकारात्मक तथा नकारात्मक असर पार्ने गर्छ । सेयर बजारमा चल्ने यस्ता गतिविधिका कारण कसैले कमाउँछन् त कसैले गुमाउँछन् पनि । कहिलेकाहीं राजनीतिक परिस्थिति र हल्लाले पनि नेप्से उकालो र ओरालो लाग्ने गर्छ । यसले धेरैजसो नयाँ लगानीकर्ताहरूलाई प्रभाव पार्ने गर्छ । त्यसो त राजनीतिक गतिविधि र सरकारमा बस्ने अर्थमन्त्रीहरूको भनाइले पनि सेयर बजारमा नकारात्मक प्रभाव पार्ने गरेका उदाहरण छन् । त्यसो त विगतमा भएको माओवादीको द्वन्द्वका कारणले सेयर बजार लगभग ध्वस्तजस्तै भइसकेको थियो । त्यसबेला नेप्से ३ सय अंकभन्दा तल झरेको थियो ।
माओवादी द्वन्द्वपछि सम्हालिएको सेयर बजार डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला ‘सेयर बजार भनेको जुवाजस्तैै हो’ भनेपछि सेयर बजारमा पहिरो नै गएको थियो । त्यसलगत्तै भारतले गरेको नाकाबन्दीले गर्दा पनि सेयर बजारमा नकारात्मक प्रभाव परेको थियो । त्यसैगरी प्रचण्ड नेतृत्वको सरकारका पालामा पनि सेयर बजारमा नकारात्मक प्रभाव पारेको थियो भने मधेसकेन्द्रित आन्दोलनले पनि सेयर बजारमा प्रभाव पारेको थियो । त्यसपछि पनि सेयर बजारमा उतारचढाव भइ नै रहेको छ भन्दा फरक नपर्ला । त्यसो त नेप्सेमा घटबढ हुनु भनेको सामान्य हो । बेला–बेलामा यस्तो भइरहन्छ । सेयर बजार भनेको सधैं बढिरहने र सधैं घटिरहने पनि हुँदैन, तर पनि कतिपय कारणले सेयर बजारमा अस्वाभाविक रूपमा र सेयर बजारमा हुने÷गर्ने चलखेलले पनि सेयर बजारमा प्रभाव पार्ने-गर्ने गरिरहेका हुन्छन् । यसमा लगानीकर्ताहरू सचेत र चनाखो भने हुनुपर्छ ।
त्यसो त राजनीतिक कारणले र सँगैसँगै अरू पनि विविध कारणले सेयर बजारमा असर पार्ने भएकाले नयाँ लगानीकर्ताहरूमा अन्योलता हुने देखिन्छ । सेयर बजारमा हुने अन्योलताका कारण पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरूको प्रवेश हुन सकिरहेको छैन भने कतिपय सेयर बजारका लगानीकर्ताहरूसमेत सेयर बजारबाट बाहिरिने गरिरहेका छन् । त्यसो त कतिपय सरोकावालाहरूको भनाइमा पछिल्लो समयमा सेयर बजार ओरालो लागिरहेका कारण अधिकांश कम्पनीको सेयरको भाउ आईपीओको हाराहारीमा पाइने भइसकेकाले नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गर्न चाहिरहेका छैनन् । होल्डमा बस्न सक्ने लगानीकर्ताहरूका लागि सेयर बजारमा प्रवेश गर्ने उपयुक्त समय भएको पनि बताउने गरिरहेका छन् ।
त्यसो त सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूले सेयर बजारमा प्रवेश गर्दा सेयर बजार सम्बन्धी राम्ररी जानकारी लिनुपर्छ । आपूmले लगानी गर्न चाहेको कम्पनीका बारेमा, कम्पनीहरूको समूहका बारेमा र कम्पनीको सूचकका बारेमा जानकारी लिएर राम्रा कम्पनीहरूमा लगानी गर्नुपर्छ । हल्लाको भरमा अरूको लहलहैमा बजारको सेयर भाउ मात्र हेरेर लगानी गर्नु हुँदैन । हाल धेरै लगानीकर्ता तथा विज्ञहरू पनि सेयर बजारमा हल्लाका भरमा लगानी गरेर पछुताउने गरिरहेका छन् । त्यसो त कतिपय लगानीकर्ता बजारको स्थिति हेरेर सेयरको भाउमा हुने घटबढ हेरेर लगानी गर्ने पनि गरिरहेका छन्, तर अधिकांश लगानीकर्ता सचेतनाबिना नै लगानी गरिरहेका कारण पनि हाम्रो सेयर बजार धेरै अस्थिर देखिएको हो ।
त्यसो त सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरू विभिन्न स्वभावका हुन्छन् । प्राथमिक बजारमा लगानी गर्नेहरूका लागि भने त्यति जोखिम हुँदैन । त्यसो त पछिल्लो समयमा हाइड्रोपावर कम्पनीहरूको सेयरको भाउ आईपीओको भन्दा पनि तल अर्थात् १ सयभन्दा तल आइसकेको छ । अहिलेको अवस्थामा हाइड्रो पावर कम्पनीका आईपीओका सेयरधनीहरूसमेतले घाटा बेहोर्न परिररहेको छ भन्दा पनि फरक नपर्ला । दोस्रो बजारमा लगानी गर्नेहरूले पनि छोटो अवधिका लागि लगानी गरिरहेकाले हालको समस्या देखिएको हो । तर, लामो अवधिका लगानीकर्ताहरूलाई भने तत्काल समस्या देखिँदैन ।
त्यसैले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूले समग्र सेयर बजारको जानकारी लिएर मात्र सेयर बजारमा लगानी गर्नुपर्छ भने आफ्नो लगानी सुरक्षित गर्न स्वयं लगानीकर्ताहरू नै सचेत हुनुपर्छ । बजार मूल्य र बजारमा हुने घटबढलाई मात्र आधार मानेर सेयरमा लगानी गर्दा जोखिम बढ्ने हुन्छ । त्यसो त कहिलेकाहीं नेप्से बढ्दा सबैजसो कम्पनीको भाउ बढ्ने र घट्दा घट्ने गरेका पनि हुन्छन् । माइनसमा भएका कतिपय कम्पनीको सेयरको मूल्य पनि किताबी मूल्यभन्दा धेरै गुणा बढीमा सेयर बजारमा कारोबार भइरहेको पनि छ । यसले पनि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरू अन्योलमा रहेको पाइन्छ । तसर्थ सेयर बजारका लगानीकर्ताहरूले देशमा हुने राजनीतिक गतिविधिदेखि सेयर बजारमा हुने हल्ला, चलखेल, इन्साइडर ट्रेडिङबाट सचेत र चनाखो भएर लगानी गर्नुपर्छ ।