काठमाडौं–तराई र मधेस द्रुतमार्ग सडक थप व्यवस्थित बनाइने : सेना «

काठमाडौं–तराई र मधेस द्रुतमार्ग सडक थप व्यवस्थित बनाइने : सेना

काठमाडौं–तराई र मधेश द्रुतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरूको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने भएको
हो ।
राष्ट्रिय गौरवको उक्त आयोजना तोकिएको समय सीमाभित्र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न नेपाल सरकारको प्रचलित ऐन कानुनको परिधिभित्र रही खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखका रूपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्वहाली गरिएको छ । सहायक रथी श्रेष्ठको विषयमा विभिन्न प्रकाशनमा सार्वजनिक भएका समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटिबाहेक कुनै पनि नियोजित त्रुटि नभएको र सोमा उनको संलग्नता नपाएको नेपाली सेनाले जनाएको छ ।
सेनाद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, उनले, “जिम्मेवारी लिनुभएका विगतका कार्यहरूमा देखाउनुभएको कार्यदक्षता तथा पेसागत क्षमतालाई मनन् गर्नुका साथै राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रूपमा निरन्तरता दिइएको छ ।”
साथै, प्रधानसेनापतिको आर्थिक अनियमिततामा शून्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैरसैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तर्गतका सेक्टर तथा कार्यदल बेसहरूलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको पारदर्शीपूर्वक छनोट तथा व्यवस्थापकीय पक्षहरूमा विशेष जोड दिइएको छ । उक्त आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी व्यवस्थापनका लागि अत्याधुनिक प्रविधिहरू (ड्रोनसमेत) को प्रयोग गरी निर्माण कार्यलाई तीव्रता दिइने योजना रहेको सेनाले जनाएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ । “उक्त आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गाँसिएको तथ्यलाई मनन् गरी आयोजनालाई पूर्णपारदर्शी, नियम संगत, गुणस्तरीय रूपमा समय सीमाभित्र सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ । साथै राष्ट्रिय गौरवको उक्त आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्