कारागारका कैदीबन्दीमा भाइरल संक्रमण

लमजुङ जिल्ला कारागारमा रहेका कैदीबन्दीमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको जिल्ला कारागारमा भाइरल ज्वरोसँगै रुघाखोकीको संक्रमण बढेपछि समस्या भएको हो ।
१० महिलासहित ३५ जना क्षमताको जिल्ला कारागार लमजुङमा हाल ८४ कैदीबन्दी छन् । क्षमताभन्दा झण्डै तीनगुणा बढी कैदीबन्दी रहेको कारगारमा केहीदिन यता भाइरल ज्वरो र रुघाखोकीको संक्रमण बढेको हो । कारागारमा रहेका झण्डै एकतिहाइ कैदीबन्दी बिरामी भएपछि अस्पताल लैजानसमेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीहरू बिरामी भएपछि अस्पतालका चिकित्सकलाई कारागारभित्रै लगेर स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।
अधिकांश कैदीबन्दीमा रुघाखोकी, ज्वरोलगायतको समस्या देखिएपछि कारागार प्रशासनलाई जानकारी गराएको र प्रशासनको सहयोगमा कारागारभित्रै शिविर आयोजना गरी उपचार गरिएको कारगारका बन्दी नाइके दिनेश परियारले बताए ।
कारागारभित्रका कैदीबन्दीको स्वास्थ्य सेवाको निम्ती कारागारमा एकजना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर कारागारमा कार्यरत स्वास्थ्यकर्मी पनि समायोजनको क्रममा अन्यत्र गएपछि दरबन्दी रिक्त भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी अन्यत्र गएको र सो ठाउँमा अर्को स्वास्थ्यकर्मी नआएकोले जिल्ला सामुदायिक अस्पतालसँग समन्वय गरी स्वास्थ्य सेवा दिइएको कारागार प्रशासन प्रमुख विष्णुप्रसाद पौडेलले बताए ।
कारगारभित्र रहेका कैदीबन्दीमध्ये अधिकांशमा रुघाखोकी, ज्वरोलगायतका समस्या देखिएको उपचारपछि अस्पतालले जनाएको छ । विशेषतः मौषममा आएको परिवर्तनसँगै चिसोका कारण मौषमी भाइरलको संक्रमण भेटिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । साँघुरो कारागारभित्र क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी बस्नुपरेकोले खानपान र सरसफाइ नै मुख्य चुनौती रहेको कैदीबन्दीले गुनासो गरेका छन् । पुरानो र साँघुरो संरचनाभित्र क्षमताभन्दा धेरै कैदीबन्दी राख्नुपरे पनि स्रोत र क्षमताले भ्याएसम्मको व्यवस्थापन गरिएको कारागार प्रमुख पौडेलको भनाइ छ ।
मौषमी भाइरलको संक्रमण भएकाले ठूलो समस्या नदेखिए पनि साँघुरो कारागारभित्र धेरैजना बस्नुपर्ने हुँदा यसको संक्रमण सबै कैदीबन्दीमा फैलनसक्ने चिकित्सकहरूको अनुमान छ । संक्रमणबाट बच्न विशेषतः खानपान र सरसफाइमा ध्यान दिन कैदीबन्दीलाई चिकित्सकले सुझाव दिएका छन् ।
क्षमताभन्दा झण्डै तीनगुणा कैदीबन्दी बस्नुपर्दा कैदीबन्दीलाई स्वास्थ्यसँगै, खानेबस्ने, सुत्ने, शौचालयजस्ता दैनिक क्रियाकलापमा कठिनाइ भएको कारागारका बन्दीहरूको गुनासो छ । जीर्ण र साँघुरो कारागारमा कैदीबन्दी खचाखच भएपछि कोचिएर बस्नु पर्ने बाध्यता भएको कारागारभित्रका बन्दी राजन पोख्रेलले बताए ।
सुत्नका लागि पर्याप्त ठाँउ नभएपछि कैदीबन्दीहरू पालैपालो र पाल टाँगेरसमेत सुत्न बाध्य छन् । कारागार अनुगमन, निरीक्षणभन्दै कयौँ पटक सरकारी तथा गैरसरकारी निकायका टोली कारागार आउँदा समस्या राख्ने गरे पनि कहीं कतैबाट सुनुवाइ हुन छोडेको उनीहरूको गुनासो छ ।
सन्देश पौडेल